चलचित्र विकास बोर्डले सार्वजनिक गर्यो चार नेपाली फिल्मको बक्स अफिस कलेक्सन, कसको कमाई कति ?
काठमाडौं : चलचित्र विकास बोर्डले प्रदर्शनरत नेपाली फिल्महरूको भदौ २१ गते राति १२ बजेसम्मको बक्स अफिस रिपोर्ट सोमबार सार्वजनिक गरेको छ।
बक्स अफिस रिपोर्टअनुसार भदौ १२ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘पार्वती’ले नौ दिनमा डेढ करोड ग्रस कलेक्सन गर्यो। आइतबारसम्म ५४ हजार ७३५ जनाले हेरेको यस फिल्मबाट अभिनेत्री नीता ढुङ्गानाले निर्देशनमा डेव्यु गरेकी थिइन्। रसुवाको भोटेकोशीमा आएको बाढीको कारण जनजीवन प्रभावित हुँदा फिल्मको व्यापारमा पनि त्यसको प्रभाव रहेको बताइन्छ।
त्यस्तै भदौ ५ गतेबाट हलमा लागेको अभिनेत्री प्रियंका कार्कीको फिल्म ‘मास्टर्नी’को ग्रस कलेक्सन ४० लाख १५ हजार छ। फिल्मलाई भारतीय निर्देशक सुभेन्दु घोषले निर्देशन गरेका हुन्।
साउन १ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘गौंथली’ २६ करोडको आंकडा छुन प्रयासरत छ। आइतबार साँझसम्म नौ लाख ३० हजार टिकट काटिएको यस फिल्मको कुल कमाइ २५ करोड ८६ लाख रुपैयाँ ग्रसमा छ। फिल्मलाई डाक्टर कपिल रिजालले निर्देशन तथा निर्माण गरेका हुन्।
यता ओमप्रतिकको निर्देशनमा निर्माण भएको फिल्म ‘हली’ले भने अहिलेसम्म २३ लाख २४ हजार रुपैयाँ मात्रै कलेक्सन गर्न सफल भएको छ।
कुन फिल्ममा को छ कलाकार?
फिल्म ‘पार्वती’मा निर्देशक नीता ढुङ्गाना आफै मुख्य भूमिकामा रहेकी छन्। उनका अलावा यो फिल्ममा बाल गायक अशोक दर्जी, राज पंगेनी, दिप्प प्रकाश अधिकारी, दीपाश्री निरौला लगायतले अभिनय गरेका छन्। ज्योतिष हरिहर अधिकारी निर्माता रहेको यस फिल्मको लगानीअनुसार व्यापार कमजोर देखिन्छ।
त्यसै गरी भदौ ५ गतेबाट हलमा लागेको फिल्म ‘मास्टर्नी’मा प्रियंका कार्कीका अलावा सिम्रन खड्का, रक्षा थापा, प्रमोद अग्रहरी लगायतको मुख्य भूमिका रहेको छ। फिल्ममा लगानी प्रियंका र उनको श्रीमानको छ।
यता साउन १ गतेदेखि हलमा कब्जा जमाएर बसेको फिल्म ‘गौँथली’ हलमा ५१ दिन मनाइसकेको छ। डाक्टर भोला रिजालको कथा तथा उनको छोरा कपिल रिजालको निर्देशकीयमा बनेको फिल्ममा अरुण क्षेत्री, सिम्रन पन्त, लुभिना तुलाधर, प्रकाश घिमिरे, सीतादेवी तिमल्सिना लगायतको अभिनय छ। फिल्मका निर्मातामा सुमन गिरी पनि हुन्।
भदौ २२, २०८३ सोमबार १५:४९:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।