ग्रिन आर्मीलाई सैन्य शैलीको क्यामोफ्ल्याग लगाउन सेनाको साथ, गृह मन्त्रालयको समर्थन

ग्रिन आर्मीलाई सैन्य शैलीको क्यामोफ्ल्याग लगाउन सेनाको साथ, गृह मन्त्रालयको समर्थन

काठमाडौं : नेपाल प्रहरीले फिल्डमा खटिँदा गाढा निलोमा हल्का आकाशे रंगको क्यामोफ्ल्यागको   प्रयोग गर्दै आएकोमा २०७१ मा बदलेर निलो सादा पोसाक प्रयोग गर्न थाल्यो। यसको कारण थियो नागरिकसँग भिज्नुपर्ने प्रहरीको पोसाककै कारण आउने सैन्य वा अर्धसैन्य झल्को।

त्यसमा १० वर्षको सशस्त्र माओवादी द्धन्द्धकालमा प्रहरीले यही पोसाक लगाएको थियो। सार्वजनिक गतिविधिमा नेपाली सेनाले गाढा हरियोमा हल्का हरियो मिसिएको क्यामोफ्ल्याग प्रयोग गर्छ। उता अर्ध सैन्य बल सशस्त्र प्रहरीले गाढा निलोमा हल्का निलो मिसिएको टाटेपाटे अर्थात् क्यामोफ्ल्याग पोसाक चयन गर्यो।

ब्यारेक प्रणालीको संगठन भए पनि सशस्त्र पनि प्रहरीसँगै भिड नियन्त्रण लगायतका गतिविधिमा खटिन थालेपछि दुवै संगठनको एकै खालको पोसाकका कारण झुक्किने भएपछि २०७१ कात्तिक ९ मा काठमाडौंबाट परीक्षणका रूपमा चुस्ता भनिने क्यामोफ्ल्याग शैलीको पोसाकको ठाउँमा गाढा निलो प्रयोग गर्न थालेको थियो।

अहिले सार्वजनिक गतिविधिमा खटिने प्रहरीले यही पोसाक प्रयोग गर्छन्। क्यामोफ्ल्याग पुरै हटेको छैन। तर त्यो प्रहरी भित्रको विशेष प्रकृतिको युनिट जो भिआइपीहरूको सुरक्षामा खटिन्छन् उनीहरूले मात्र प्रयोग गर्छन्। विशेष कार्यदल भनिने यसमा प्रहरीका कमान्डोहरु हुन्छन्।

क्यामोफ्ल्याग छाडेर सादा निलो पोसाक प्रयोग गर्नुको कारण खुलाउँदै प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले भने" क्यामोफ्ल्यागले द्धन्द्धकालको झल्को दिने र  नागरिकमैत्री हुन अलि समस्या देखिएपछि विशेष कार्यदलका जनशक्ति बाहेकको हकमा सादा निलो पोसाक प्रयोग सुरु भएको हो। अहिले फिल्डमा खटिने प्रहरीले त्यही पोसाक प्रयोग गर्छन्।" 

सुरक्षा संगठनका सदस्यहरुबीच नै पहिचानमा समस्या हुने अनि नागरिकमैत्री हुन समस्या भएको भन्दै प्रहरीले क्यामोफ्ल्याग शैलीको पोसाक बदल्यो। तर भोटेकोशीमा आएको बाढीपछिको उद्धारमा खटिने एक स्वयंसेवी संस्था झन्डै सेना जस्तै देखिने क्यामोफ्ल्याग पोशाकमा खटियो। आफूलाई‘ग्रिन आर्मी नेपाल’  भन्ने सो संस्थाका सदस्यहरू नुवाकोट र धादिङको विपद् प्रभावित क्षेत्रमा खटिँदा कहाँको सेना आयो भनेर स्थानीय अन्योलमा परे। 

त्यो त वातावरण सम्बन्धी काम गर्ने भनेर खुलेको गैरसरकारी संस्था सार्वजनिक भएसँगै स्वयंसेवी संस्थाले कसरी सैनिक अनि अर्ध सैनिक बलले प्रयोग गर्ने क्यामोफ्ल्याग प्रयोगको अनुमति पायो भन्ने चासो सुरु भएको छ।

क्यामोफ्ल्याग कपडाको डिजाइन वा प्रिन्ट हो, जुन प्राकृतिक वातावरण जङ्गल, घाँसे मैदान, माटो,  हिउँ, बालुवाको रंगसँग मिल्दोजुल्दो रङ र ढाँचामा तयार पारिन्छ। यसको मुख्य उद्देश्य शत्रु वा बाहिरी नजरबाट सजिलै पहिचान हुन नसकोस् भन्ने नै हो। कस्तो क्यामोफ्ल्याग प्रयोग गर्ने भन्ने कस्तो वातावरणमा परिचालित हुने हो त्यसमा भर पर्छ। जस्तो जङ्गलमा हो भने हरियो, खुला जमिन क्षेत्रमा माटोसँग मेल खाने, बालुवामा खैरो, अनि हिउँ भएको क्षेत्रमा सेतो क्यामोफ्ल्यागको प्रयोग हुने गरेको देखिन्छ।

यसको उद्देश्य जस्तो वातावरणमा खटिने हो त्यस्तै रंगको प्रयोग गरेर शत्रुलाई झुक्क्याउने भएकाले अधिकांश सेना र अर्थ सैनिक संगठनका सदस्यहरूले यसको प्रयोग गर्छन्। सिकारी अनि वन्यजन्तु सम्बन्धी अनुसन्धानकर्ताहरुले पनि फिल्डमा क्यामोफ्ल्याग पोसाक प्रयोग गर्छन्। तर अहिले यो स्वयंसेवी दाबी गर्ने संस्थाले प्रयोग गरिरहेको छ, त्यो पनि आर्मी भन्दै। 

उकेराले यो संस्थाको आधिकारिक वेबसाइट हेर्दा  गैरनाफामूलक प्रालिको रुपमा दर्ता  संस्था भएको खुल्यो। वेबसाइटमा सविन शर्मालाई सैन्य पदसँग मिल्दोजुल्दो शब्द ‘फाउन्डर एन्ड चिफ मार्सल’ उल्लेख गरिएको छ। अन्य पदको नामकरण पनि सेनाको झल्को दिनेगरी नै राखिएको छ।

यो कस्तो संस्था हो? प्रमुख अर्थात् चिफ मार्सल शर्माले आफ्नो संस्थाले वातावरण संरक्षण र विपद्मा उद्धारको काम गर्ने बताए। उनले आफ्नो संस्थाको उदाहरण दिँदा विश्वव्यापी रूपमा स्वयंसेवी संस्थाको रूपमा प्रतिष्ठित स्काउटसँग जोडे।

“हाम्रो संस्थाले प्राकृतिक विपद् पर्दा उद्धार गर्ने र अघिपछि वातावरणसम्बन्धी काम गर्दै आएको छ,” शर्माले उकेरासँग भने, “हामी स्काउट जसरी नै काम गर्ने संस्था हौँ।”

कहिले, कहाँ भयो दर्ता ?
उकेरालाई प्राप्त विवरणअनुसार, कम्पनी ऐन २०६३ को दफा ५ (१) बमोजिम २०७७ भदौ ११ गते कम्पनी रजिस्ट्रारको कार्यालयमा ‘ग्रिन आर्मी नेपाल’ दर्ता भएको हो। करदाताको प्रकारमा ‘मुनाफा वितरण नगर्ने’ भनिएको यस कम्पनीको ठेगाना गोकर्णेश्वर नगरपालिका-४, सहिद पार्क उल्लेख छ। संस्थाको उद्देश्यमा ‘गाँसबासबाहेकका अन्य सामाजिक क्रियाकलाप र प्राकृतिक प्रकोपमा उद्धार’ भनी लेखिएको छ।

मुनाफा वितरण नगर्ने संस्था भएकाले समाज कल्याण ऐन २०४९ को दफा १३ बमोजिम २०७७ भदौ ३० गते समाज कल्याण परिषद्मा आबद्धता (नं. ५१५७७) प्राप्त गरेको देखिन्छ। यस्तै, २०७७ मंसिर १५ गते गोकर्णेश्वर नगरपालिकामा पनि संस्था सूचीकृत भएको छ। वातावरण संरक्षण, विपद् व्यवस्थापन र सामाजिक कार्यलाई मुख्य कार्यक्षेत्र बनाएको यस संस्थाको स्थायी लेखा नम्बर (प्यान) ६०९७८६३३६ रहेको छ। यसको प्रमुख सल्लाहकारमा पूर्वप्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनाल देखिए।

७ महिना लगाएर पोसाकको स्वीकृति

संस्थाको उद्देश्यमा शंका गर्नु पर्ने देखिएन। तर यसको सबैभन्दा महत्वपूर्ण पक्ष संस्थाको नाम आर्मी राख्नु अनि पोसाक पनि आर्मीले प्रयोग गर्ने क्यामोफ्ल्याग लगाउने स्वीकृति पाउनु नै हो। उसले आफूहरू वातावरण संरक्षणसम्बन्धी काम गर्ने भन्दै ‘हरियो कपडामा रुखको पात अङ्कित’ प्रस्ताव गरेको खुल्यो।

उसले २०७७ माघ २ गते जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा पोसाक स्वीकृतिका लागि निवेदन दिएको थियो। त्यसपछि २०७८ असार २१ गते जिल्ला सुरक्षा समितिको बैठकमा उक्त पोसाकको सुरक्षा विश्लेषण भयो। भोलिपल्ट प्रशासनले आवश्यक रायका लागि गृह मन्त्रालयलाई पत्र पठायो।

२०७८ असार २५ गते गृह मन्त्रालयले सुरक्षा विश्लेषणका लागि रक्षा मन्त्रालयलाई पत्राचार गर्यो। रक्षाको पत्रपछि साउन ७ गते नेपाली सेनाको जङ्गी अड्डाले ‘प्रस्तावित पोसाक सेना तथा अन्य सुरक्षा निकायहरूको पोसाकसँग मेल नखाने र प्रयोग गर्न योग्य रहेको’ भनेर लिखित जवाफ दियो।

साउन १० गते रक्षाले गृहलाई स्वीकृति दिन सकिने राय पठायो भने साउन १२ गते तत्कालीन गृहसचिवस्तरीय निर्णयबाट उक्त पोसाक प्रयोगको औपचारिक स्वीकृति दिइयो। त्यतिबेला गृह सचिवमा थिए- महेश्वर न्यौपाने। अन्ततः साउन २९ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँले स्वीकृत पोसाकको नमुनासहितको अन्तिम स्वीकृति पत्र जारी गर्यो।

प्रशासनको स्वीकृति पत्रमा लेखिएको छ, ‘...रक्षा मन्त्रालयको राय अनुसार ग्रिन आर्मी नेपाल नामक संस्थाले प्रयोग गर्न प्रस्ताव गरेको हरियो कपडामा रुखको पात अंकित पोसाकको नमुना नेपाली सेना तथा अन्य सुरक्षा निकायहरूको पोसाकसँग मेल नखाने र उक्त संस्था वातावरण संरक्षणसँग सम्बन्धित संस्था भएको हुँदा नमुना बमोजिमको पोसाक प्रयोग गर्न दिन उपयुक्त हुने भनी लेखी आएको ब्यहोरा मिति २०७८/०४/१२ को सचिव स्तरीय निर्णयअनुसार अनुरोध छ।’ 

स्वीकृत एउटा, प्रयोग अर्कै

उकेराले उनीहरूले प्रस्ताव गरेको पोसाक अनि अहिले लगाइरहेको पोसाकको शैली र रंग दाँजेर हेर्यो। त्यसमा जुन प्रकृतिको पोसाकको स्वीकृति पाएको हो त्यो भन्दा भिन्न प्रयोग गरिरहेको देखियो।नेपाली सेनाको पोसाक हरियोमा हल्का खैरो रङ मिसिएको हुन्छ। अहिले फिल्डमा खटिएका ‘ग्रिन आर्मी नेपाल’ का सदस्यहरूले गाढा हरियोमा पातहरू भएको क्यामोफ्ल्याग डिजाइन छ। टोपी पनि दुरुस्तै सैनिकको जस्तो देखिन्छ।  नेपाली सेना र ग्रिन आर्मी सँगै रहेको तस्बिर हेर्दा कुन सेना हो अनि कुन स्वयंसेवी संस्था हो छुट्याउन मुस्किल पर्यो।

सेना र ग्रिन आर्मीको केमोफ्ल्यागको रंगहरु हेर्दा ग्रिन आर्मीको पोशाकमा गाढा हरियोमा कालोको मात्रा बढाइएको देखियो। त्यसमा  हल्का खैरो रंगमा पातहरु राखिएको छन् जुन नजिकबाट हेर्दा मात्र भेउ पाउन सकिन्छ। यसको प्याट्रन जङ्गली क्यामोफ्ल्यागसँग मिल्यो। नेपाली सेनाले प्रयोग गरिरहेको क्यामोफ्ल्याग पोसाकको रंग र प्याट्रनमा मुख्यतया गाढा हरियो, खैरो र कालोको मिश्रण देखियो। हल्का खैरो रंगलाई क्यामोफ्ल्यागको प्याट्रनमा प्रयोग गरिएको देखियो। यो पनि जंगली क्यामोफ्ल्यागकै श्रेणीको देखियो।

यसरी ठ्याक्कै सेनाको जस्तै देखिने पोसाक लगाउन एक स्वयंसेवी संस्थाले कसरी अनुमति पायो? सेनाले केको आधारमा स्वीकृति दियो? यसबारे उकेराले नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतसँग कुराकानी गरेको थियो। प्रवक्ता बस्नेतले सेनाले सहमति दिएको स्वीकृत पोसाक र अहिले ‘ग्रिन आर्मी नेपाल’ले लगाइरहेको पोसाक फरक रहेको बताए।

“अहिले जुन ग्रिन आर्मीले प्रयोग गरेको भन्ने पोसाक छ, त्यो हामीले स्वीकृति दिएको नमुनाभन्दा फरक छ,” बस्नेतले भने, “किन यस्तो पोसाकलाई स्वीकृति दिइयो वा प्रयोग गर्न दिइयो भन्नेबारे गृह मन्त्रालयलाई नै सोध्नुपर्ला।”

प्रवक्ताले आफूहरुले स्वीकृति दिएको भन्दा भिन्न पोसाक लगाएको दाबी गरे पनि सेनाले उनीहरुलाई तालिम दिएको र त्यो समयमा ग्रिन आर्मीमा आवद्धहरुले अहिले धादिङ जाँदा जस्तो पोसाक लगाएका थिए त्यस्तै पोसाक लगाएको तस्बिर फैला पर्यो।

तालिम दिने बेलैमा सेनाले आफूले स्वीकृत दिएको भन्दा भिन्न पोसाक लगाउँदा किन केही प्रतिक्रिया दिएन भनेर उकेराले प्रतिप्रश्न गर्दा प्रवक्ता बस्नेतले आफू व्यस्त रहेको भन्दै फोन काटे।

सैनिक प्रवक्ताको दाबीपछि उकेराले ग्रिन आर्मीले स्वीकृति पाएको पोसाकको नमुना खोज्यो। यसले स्वीकृति पाएको र अहिले प्रयोग भइरहेको पोसाक केही भिन्न देखियो। तर शैली  क्यामोफ्ल्यागकै रहेको देखियो।   स्विकृत पोसाक हरियो पृष्ठभूमिमा विभिन्न किसिमका रुखका पात र हाँगाहरूको बुट्टा छापिएको  फेब्रिक देखियो। तर उनीहरूले सुरक्षात्मक वा सैन्य ढाँचाको डिजिटल क्यामोफ्ल्याग शैलीको पोसाकको प्रयोग गरिरहेका छन्। 

गृह मन्त्रालयकै आदेशको अटेरी, नाममा ‘आर्मी’

पोसाक मात्र हैन नाममा समेत गृह मन्त्रालयको निर्णय विपरित देखियो। गृहले २०८१ वैशाख ४ गते संस्थाको नाममा ‘सेना’ शब्द राखेर दर्ता गर्न रोक लगाएको थियो। देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गर्दै गृहले प्रष्ट भनेको थियो, ‘सेना शब्दले नेपाली सेनालाई मात्र बुझाउने हुँदा अन्य सङ्घसंस्थाले यो नाम प्रयोग गर्दा भ्रम सिर्जना भई सेनाको छविमा प्रतिकूल प्रभाव पर्न सक्छ। तसर्थ, सङ्घसंस्थाको नाममा सेना शब्द राखी दर्ता तथा नवीकरण नगर्नु/नगराउनु र यसअघि दर्ता भएको रहेछ भने शब्द हटाई नाम संशोधन गर्ने व्यवस्था मिलाउनू।’

यसबारे ग्रिन आर्मीका चिफ मार्सल भनिने सविन शर्मासँग जिज्ञासा राख्दा उनले पहिल्यै स्वीकृति प्राप्त गरिसकेको र आफूहरूले ‘सेना’ शब्द नराखी ‘आर्मी’ राखेको भन्ने हास्यास्पद तर्क गरे।

“हामीले नेपालीमा सेना राखेका छैनौँ,” उनले भने, “आर्मी राख्दा हामीले कुनै भ्रम सिर्जना गरेका छैनौँ।”

यी सबै विषयबारे गृह मन्त्रालयकी सूचना अधिकारी रमा आचार्यलाई प्रश्न गर्दा उनले अनभिज्ञता प्रकट गरिन्।

“यसबारेमा अहिले म केही भन्न सक्दिनँ,” उनले भनिन्, “सम्बन्धित ठाउँमा बुझेर मात्र भन्नुपर्छ।” तर यसबारे थप बुझ्न  पछि पटक-पटक कल गर्दा सूचना अधिकारी आचार्यले फोन उठाइनन्।

ग्रिन आर्मीले प्रयोग गरेको सेनाको झल्को दिने पोशाकबारे प्रहरी प्रवक्ता काफ्लेसँग जिज्ञासा राख्दा उनले "सुरक्षा निकायले सार्वजनिक गतिविधिमा प्रयोग गर्ने शैलीको पोसाक अन्य कसैले सार्वजनिक रूपमा प्रयोग गर्दा आम नागरिक झुक्किने भएकाहरुले सार्वजनिक रूपमा झुक्किने शैलीको पोसाक प्रयोग गर्नु राम्रो नहुने" बताए।

भदौ १८, २०८३ बिहीबार १२:०२:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।