मारियुको शतकमा न्युजिल्याण्ड 'ए'सँग नेपाल 'ए' २ विकेटले पराजित
काठमाडौं : अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोली न्युजिल्याण्ड 'ए'सँग दुई विकेटले पराजित भएको छ।
अष्ट्रेलियाको डार्विनस्थित मरारा क्रिकेट मैदानमा भएको खेलमा नेपाल ‘ए’ क्रिकेट टोली अन्तिम एकदिवसीय खेलमा पनि पराजित भएको हो। एकदिवसीय श्रृङ्खलामा नेपालको यो लगातार तेस्रो पराजय हो।
टस जितेर पहिले ब्याटिङ गरेको नेपाल 'ए' निर्धारित ५० ओभर खेल्दै दुई सय ११ रनमा समेटियो। नेपालका लागि पवन सर्राफले सर्वाधिक ६१ रनको अर्धशतकीय इनिङ्स खेले। उनले ९२ बलमा ६ चौकाको मद्दतमा ५९ रन बनाए।
यस्तै, लोकेश बमले ६४ बलमा चार छक्का र एक चौकासहित ४७ रन, अनिलकुमार साहले २४ मयन यादवले २० र विपिन खत्रीले १२ रन जोडे। बलिङतर्फ न्युजिल्यान्ड ‘ए’का लागि म्याथ्यू फिसरले नौ ओभरमा ३७ रन दिएर सर्वाधिक ४ विकेट लिए।
२१२ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड 'ए'का लागि रिस मारियूले १३४ बलमा १६ चौका र तीन छक्कासहित १३७ रनको उत्कृष्ट शतकीय इनिङ्स खेल्दै टोलीको जित सुनिश्चित गरे। टोलीका लागि म्याथ्यु फिसरले २३ रन र मोहम्मद अब्बासले २१ रन बनाए। न्युजिल्याण्डले ४९.५ ओभरमा ८ विकेट गुमाउँदै २१२ रन बनाएर जित हासिल गर्यो।
नेपालका तर्फबाट बलिङतर्फ रिजन ढकाल, सहाब आलम र युवराज खत्रीले समान २-२ र विपिन खत्री र पवन सर्राफले १-१ विकेट लिए।
नेपालले यसअघि तास्मिनियासँग दुई विकेट र दक्षिण अष्ट्रेलियासँग एक सय ३८ रनको हार व्यहोरेको थियो।
भदौ २१, २०८३ आइतबार १६:२४:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।