लगातार तेस्रो जितसँगै नेपाल एक खेलअघि नै सेमिफाइनलमा

लगातार तेस्रो जितसँगै नेपाल एक खेलअघि नै सेमिफाइनलमा

काठमाडौं : मलेसियाको बायोमास ओभलमा आइतबार भएको खेलमा साउदी अरेबियालाई पाँच विकेटले पराजित गर्दै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गर्यो। समूह ‘ए’मा लगातार तेस्रो जित दर्ता गरेसँगै नेपाल एक खेल बाँकी छँदै प्रतियोगिताको अन्तिम चारमा पुग्यो। 

साउदी अरेबियाले प्रस्तुत गरेको १९१ रनको लक्ष्य नेपालले ४१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा गुल्सन झाले अविजित ४४ रनको योगदान दिए। उनले ३५ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। 

यस्तै, ओपनर ईशान पाण्डेले ४० र देव खनालले ३९ रन जोडे भने रोहितकुमार पौडेल २४ रनमा अविजित रहे। आसिफ शेखले २० र अर्जुन कुमालले १५ रन जोडे। बलिङतर्फ साउदीका इस्तियाक अहमद र मुहम्मद अतिफले समान २-२ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबियाले ४९.२ ओभरमा सबै विकेट गुमाएर १९० रन बनाएको थियो। साउदीका लागि ओपनर अब्दुल वाहिदले ८९ बलमा १० चौका र २ छक्काको मद्दतले सर्वाधिक ७७ रनको योगदान दिए। अन्य ब्याट्सम्यानहरूमा मुहम्मद अतिफले ३० र मोहम्मद हिसाम शेखले २८ रन बनाए।

साउदीलाई मध्यम योगफलमा रोक्न नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। स्पिनर सन्दीप लामिछानेले १० ओभरमा २ मेडन राख्दै १९ रन खर्चेर ३ विकेट लिए भने दीपेन्द्र सिंह ऐरीले ९.२ ओभरमा ४३ रन दिएर ३ विकेट हात पारे। ललित राजवंशीले २ तथा गुल्सन झा र शेर मल्लले १-१ विकेट लिए।

तीन खेलबाट नेपालले ६ अंक जोडेर समूह ‘ए’को शीर्ष स्थानमा उक्लियो। नेपालले यसअघि पहिलो खेलमा बहराइनलाई ७ विकेट र दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो। नेपालले अब समूह चरणको अन्तिम खेलमा मंगलबार हङकङको सामना गर्नेछ। प्रतियोगिताको उपाधि विजेताले आगामी वर्ष आयोजना हुने एसिया कपमा स्थान बनाउनेछ।

भदौ २१, २०८३ आइतबार १४:१०:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।