सुशील पोखरेलको हिजोका कुरा : हिरोइनसँग बसेको देख्दा दर्शक रिसले चुर हुन्थे, बाटोमा हिँड्दा लात्ताले हान्न आउँथे
काठमाडौं : नेपाली फिल्म जगतमा 'खलनायक'का रूपमा बलियो पहिचान बनाएका वरिष्ठ अभिनेता सुशील पोखरेलले जीवनको ६ दशक पार गरिसके। ललितपुरको लामाटारमा जन्मिएका उनले बुबाको सरकारी जागिरको सरुवाका कारण कक्षा १० सम्म सातवटा फरक-फरक स्कुलमा पढ्नुपर्यो। २०३८ सालमा दरबार हाइस्कुलबाट एसएलसी पास गरेका उनले राजनीति शास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका छन्।
बुबाको इच्छा सुशीललाई लोकसेवा भिडाई सरकारी जागिरमा लगाउने थियो। तर, दरबार हाइस्कुलमा पढ्दै गर्दा उनको ध्यान भने स्कुल नजिकै रहेको राष्ट्रिय नाचघर र रत्नपार्कका भित्ताहरूमा टाँसिएका नाटकका पोस्टरहरूले खिच्यो। त्यहीँबाट उनमा अभिनयप्रति मोह जाग्यो। तर, फिल्म क्षेत्रमा कसरी प्रवेश गर्ने र कोसँग सम्पर्क गर्ने भन्ने सुरुका दिनहरूमा अलमल थियो।
पञ्चायतकालमा नाटक मञ्चन गर्न अञ्चलाधीशको कार्यालयबाट स्वीकृति लिनुपर्ने झन्झटिलो व्यवस्था थियो। सोही समयमा उनले 'राँको' नामक नाटक प्रदर्शन गर्ने तयारी गरे। सेन्सरका क्रममा अञ्चलाधीशको कार्यालयले स्क्रिप्टको अधिकांश भाग हटाउन आदेश दिए पनि उनले आफ्नो अडान छाडेनन् र नाटकलाई मौलिक रूपमै प्रस्तुत गरे, जसबाट उनले प्रशंसा पाए।
वि.सं. २०४६ सालतिर 'आकाश पनि चुप छ' टेलिफिल्ममा अभिनय गरेपछि उनको चर्चा भयो। उनको पहिलो फिल्म चाहिँ 'ज्वाला' हो। ज्वालाबाट ठूलो पर्दाको यात्रा सुरु गरेका सुशीलले त्यसपछि कहिल्यै पछाडि फर्केर हेर्नुपरेन। सयौं फिल्ममा खलनायकको भूमिकाबाट दर्शकको मन जितेका उनी अभिनीत पछिल्लो फिल्म 'अक्षरा' आगामी भदौ २६ गतेबाट देशभर प्रदर्शन हुँदै छ। उनै अभिनेता सुशील पोखरेलले आफ्नो लामो अभिनय यात्राका भोगाइ र अनुभवहरू हिजोको कुराकानीमा यसरी सुनाए :
बाल्यकाल: सात वटा स्कुल परिवर्तन
मेरो जन्म वि.सं. २०२२ मा ललितपुरको लामाटार गाउँ पञ्चायत (हाल महालक्ष्मी नगरपालिका- ९) मा भएको हो। बुबा भूमिसुधारमा अधिकृत हुनुभएकोले उहाँको सरुवा भइरहन्थ्यो। उहाँ जता पुग्नुहुन्थ्यो हामी पनि सँगसँगै जान्थ्यौ। त्यसैले मेरो पढाई १० कक्षासम्म पुग्दा सात वटा स्कुल फेरिए। कक्षा ८ देखि एसएलसीसम्म भने दरबार हाईस्कुलमा पढेँ। २०३८ सालमा त्यहीँबाट एसएलसी उत्तीर्ण भएँ।
मेरो स्वभाव साधारण थियो। अरू बालबालिकाको जस्तो चकचक गर्ने वा बदमासी गर्ने मेरो बानी थिएन। हामी चार दाजुभाइ-दिदीबहिनीमध्ये म घरको कान्छो छोरो हुँ।
बुबा र दाइ दुवै सरकारी जागिरमा हुनुभएकाले मलाई पनि जागिरका लागि घरबाट ठुलै दबाब थियो। दरबार हाइस्कुलबाट निस्किएपछि म ठ्याक्कै पारिपट्टिको त्रिचन्द्र कलेजमा आइए भर्ना भएँ। त्यस बेला लामो समयसम्म लोकसेवाको विज्ञापन खुलेको थिएन।
पछि एक पटक हुलाक सेवाका लागि आवेदन खुल्यो। मैले पनि परीक्षा दिएँ, तर मेरो रुचि भने कलाकारितातर्फ मोडिइसकेको थियो। परीक्षा दिएपछि ‘कतै नाम निस्कियो भने त बर्बाद हुन्छ' भन्ने पिर मनमा परिरहेको थियो, धन्न नाम निस्किएन।
रंगमञ्चमा पहिलो पाइला
स्कुल पढ्दा अहिलेको जस्तो खाजा खाने चलन थिएन। बिहान घरमा भात खाएर निस्किएपछि सिधै बेलुका मात्र घर फर्किन्थ्यौं। दिउँसो १ बजे हाफ छुट्टी भएको समयमा हामी रानीपोखरी फन्को लगाएर राष्ट्रिय नाचघरको बारबाट भित्र चिहाउँदै, घण्टाघर हुँदै खुल्ला मञ्चसम्म पुग्थ्यौं।
त्यसबेला खुल्ला मञ्चमा एउटा ठूलो खुल्ला बजार लाग्थ्यो, जहाँ विभिन्न खाले कला प्रदर्शनहरू भइरहन्थे। हामी घण्टाघरको सुई हेर्दै त्यही चटकहरू हेरेर बस्थ्यौं। स्कुल लाग्ने बेला भएपछि भोटाहिटी हुँदै फुत्त छिरेर कौसीको पानी खाँदै कक्षामा पुग्थ्यौं।

त्यस समयमा रत्नपार्कदेखि कमलादी गणेशस्थानसम्म ठूलठूला रुख र पसलहरू थिए। अहिलेको जस्तो डिजिटल प्रविधि नभएकाले नाचघरमा चल्ने नाटकका पोस्टरहरू हातैले दुरुस्त चित्र कोरेर बनाइन्थ्यो र तिनै रुखहरूमा टाँसिन्थ्यो। स्कुलको छुट्टीमा घुम्न निस्कँदा ती पोस्टरहरू खुब हेरिन्थ्यो।
पोस्टरमा देखेका कलाकारहरूलाई नाचघर वा बाटोमा प्रत्यक्ष देख्दा मनमा एउटा छुट्टै उत्साह र खुसी जाग्थ्यो। नचिनेका मान्छे भए पनि उनीहरूको कलाप्रतिको सम्मानले गर्दा मलाई ‘काम त यस्तो पो रहिछ!’ भन्ने लाग्न थाल्यो। मनमा कलाकार बन्ने इच्छा त पलायो, तर तुरुन्तै आँट भने आइसकेको थिएन।
आइएसीको परीक्षा दिएर बसेको फुर्सदको समयमा हामीले लामाटारमै साथीभाइ मिलेर नाटक गर्ने निधो गर्यौं। नाटक कसले लेख्ने भन्ने सल्लाह हुँदा सबैले मलाई नै अघि सारे। त्यसबेला गाउँघरमा नाटक खेल्ने महिला कलाकार पाउन गाह्रो थियो, त्यसैले महिलाको भूमिका पनि पुरुषले नै निभाउनुपर्ने अवस्था थियो।
सेन्सरको सास्ती र नाटकमा पहिलो सफलता
पञ्चायतकालमा नाटक प्रदर्शन गर्न सजिलो थिएन; अनिवार्य रूपमा अञ्चलाधीशको कार्यालयबाट स्क्रिप्ट स्वीकृत गराउनुपर्थ्यो। अहिलेको रत्नपार्क नजिकै रहेको प्रहरी कार्यालयमै त्यसबेला अञ्चलाधीशको कार्यालय थियो। हामीले आफ्नो नाटक 'राँको'को स्क्रिप्ट सेन्सरका लागि बुझायौं। अञ्चलाधीशले स्क्रिप्टको तीन भागमा एक भाग जतिमा रातोले कोरेर ‘यो भाग हटाउनु’ भनी आदेश दिए।
साथै, मंगलबजार प्रहरीलाई देखाएर मात्रै प्रदर्शन गर्नु भनिएको थियो। तर, हामीले ती दृश्यहरू काटेनौं र कसैले चेकजाँच पनि गरेनन्। राति नाटक मञ्चन हुँदा साथीहरूले 'उठ दिदीबहिनी हो' जस्ता जनवादी गीतहरू पनि गाए, तर सौभाग्यवश कुनै अवरोध भएन र कसैले उजुरी पनि गरेनन्।
त्यसबेला अहिलेको जस्तो व्यवस्थित हलहरू थिएनन्। कसैको घरबाट तन्ना त कसैको बाट अन्य सरसामान मागेर जुटाएका थियौं। पहिलो नाटक भएकाले मान्छेलाई मन पर्छ कि पर्दैन भन्ने खुल्दुली थियो, तर भोलिपल्ट सबैबाट सकारात्मक प्रतिक्रिया पाउँदा कलाकार बन्ने हौसला थपियो। यद्यपि, क्षेत्र नयाँ भएकाले कहाँ जाने र कसलाई भेट्ने भन्ने अलमल थियो।
पुतलीसडकस्थित पद्मोदय हाईस्कुल नजिकै रहेको 'हिमालयन कल्चरल एसोसिएसन'मा तीन महिने अभिनय कोर्स खुलेको थाहा पाएँ। सिक्ने इच्छा त थियो, तर मसँग पैसा थिएन। दाइले आफ्नो पहिलो जागिरको तलबबाट ५०० रुपैयाँ दिएपछि म भर्ना भएँ। त्यहाँ धेरै कलाकारहरूसँग परिचय त भयो, तर तीन महिनापछि थप पढ्नका लागि 'ठूलो निर्देशकको सिफारिस' चाहिने भन्न थाले। चिनेको कोही नभएपछि मैले त्यहाँबाट बिट मारेँ।
पछि गोरखापत्रमा हरिहर शर्माले अभिनय प्रशिक्षण दिने विज्ञापन देखेँ। त्यसबेला उहाँको फिल्म 'वासुदेव' निकै चर्चामा थियो। हिमालयन कल्चरलमा अगाडि बढ्न नसकेका हामी करिब १८ जना साथीहरू उहाँकै कक्षामा भर्ना भयौँ। पाटन क्याम्पसमा पढ्दै गर्दा मेरो अभिनय यात्रा पनि अघि बढ्दै थियो।
वि.सं. २०४५ सालमा एकेडेमीको राष्ट्रिय नाटक महोत्सवका लागि हामीले नाटक तयार गर्ने निधो गर्यौं, तर हामीसँग नाटक थिएन। हरिहर सरकै पहलमा नाटककार विजय मल्लसँग भेट भयो र उहाँले हामीलाई आफ्नो ‘बैलाहा काजीको सपना’मा समावेश नाटक 'पुराणको हराएको पाना' खेल्न दिनुभयो। नाटकमा दुई जना महिलाको भूमिका थियो। महिला पात्र नपाइने भएपछि उहाँले पुरुषलाई नै महिला बनाएर खेलाउन सकिने सुझाव पनि दिनुभएको थियो।
नाटक त हामीले पयौं, अब निर्देशन कसले भन्ने प्रश्न बाँकी थियो। पछि साथीहरूले नाटकमा निर्देशनको जिम्मेवारी मेरै काँधमा सुम्पिए। निर्दशन सँगसँगै मैले अभिनय पनि गरे। राष्ट्रिय महोत्सवमा हाम्रो यस नाटकको महिला पात्रले 'चरित्र अभिनेत्री' को अवार्ड जित्यो भने मैले 'सर्वोत्कृष्ट निर्देशक' को पुरस्कार प्राप्त गरेँ। यो अवार्डले मलाई नाट्य क्षेत्रमा चिनाउने काम गर्यो। त्यसपछि म 'रंगश्रष्टा काठमाडौं नाट्य संस्था' मा आबद्ध भई अभिनयमा सक्रिय हुन थालेँ। दर्शकले मेरो अभिनय पनि मन पराउन थाल्नुभयो।
भिडियो फिल्मको जगजगी र फिल्मी यात्रा
त्यसबेला नेपालमा भिडियो फिल्मको निकै जगजगी थियो। काठमाडौं, नारायणगढ, हेटौँडा र पोखरा जस्ता शहरहरूमा भिडियो फिल्म देखाउने हलहरू खुलिसकेका थिए र यसको एउटा राम्रो बजार बनिसकेको थियो। 'भिडियो चलचित्र संघ' समेत स्थापना भइसकेको थियो। त्यस समयमा म भने नाटकमै रमाइरहेको थिएँ।
नाटकमा मेरो अभिनय देख्नुभएका साथीहरूले टेलिफिल्मका लागि अफर गर्न थाले। उमेशनाथ अर्याल दाइले मलाई तीन भागको टेलिफिल्म ‘आकाश पनि चुप छ’ मा अभिनय गर्ने प्रस्ताव राख्नुभयो।
टेलिफिल्म प्रसारण भएको भोलिपल्ट बिहान म डिल्लीबजारमा हिँडिरहेको थिएँ। बाटोमा एक जना व्यक्तिले मलाई सोध्नुभयो, "तपाईं हिजो राति टिभीमा देखिएको कलाकार हो?" मैले 'हो' भनेपछि उहाँले आफू फिल्म बनाउन लागेको र मलाई त्यसमा काम गराउन चाहेको भनेर जानुभयो। उहाँलाई म चिन्दिन थेँ। मोबाइल फोनको कल्पनासम्म नभएको त्यस जमानामा उहाँले मलाई फेरि कसरी सम्पर्क गर्नुहोला भन्ने मलाई लागिरह्यो।
तर, करिब दुई महिनापछि एक जना प्रोडक्सन कन्ट्रोलर (जो अहिले अमेरिकामा हुनुहुन्छ)ले मलाई खोज्दै आउनुभयो र सिधै ठूलो पर्दाको फिल्म ‘ज्वाला’मा साइन गराउनुभयो। वि.सं. २०५० सालको त्यो मोडपछि मैले अहिलेसम्म पछाडि फर्केर हेर्नुपरेको छैन। करिब एक दशक रंगमञ्चमा बिताएपछि फिल्म क्षेत्रमा प्रवेश गरेको म यति व्यस्त भएँ कि पुनः नाटकमा फर्कने मौका नै मिलेन।
सुरुमा बुबाआमा कलाकारितालाई लिएर रिसाउनुहोला कि भन्ने डर थियो, तर उहाँहरूले मलाई सधैँ एउटै कुरा सिकाउनुभयो : "जे काम गरे पनि इमानदारीका साथ गर्नुपर्छ। तर, दर्शकको तालीले मात्र पेट भरिन्न, त्यसैले जीवनको व्यावहारिक पक्षमा पनि विचार पुर्याउनु पर्छ।"
नायकदेखि खलनायकसम्म
मेरो अभिनय यात्राको सुरुवात 'खलनायक'बाट भएको होइन। सुरुमा मैले टेलिफिल्म 'आकाश पनि चुप छ' र 'छिमेकी'मा सकारात्मक भूमिका नै निर्वाह गरेको थिएँ। दीपाश्री निरौला लगायतका कलाकारहरू भएको 'छिमेकी'को छायांकन त मेरै गाउँ लामाटारमा गरिएको थियो।
फिल्म उद्योगमा एउटा प्रवृत्ति छ- जब तपाईंले कुनै एउटा भूमिका (खासगरी नकारात्मक) सशक्त रूपमा निभाउनुहुन्छ, त्यसपछि तपाईंलाई त्यस्तै रोलका लागि मात्र प्रस्ताव आउन थाल्छ। मेरो हकमा पनि त्यही भयो; एउटा फिल्ममा खलनायकको भूमिका निभाएपछि ममाथि लागेको त्यो छाप अहिलेसम्म उत्रिएको छैन।

यद्यपि, मलाई खलपात्रको भूमिका पाउँदा कुनै गुनासो छैन। म 'नायक' वा 'खलनायक' बन्न होइन, एउटा 'कलाकार' बन्न यस क्षेत्रमा आएको हुँ। कलाकारले जुनसुकै चरित्रमा आफूलाई ढाल्न सक्नुपर्छ। जसरी एउटा पसलमा सबै खाले सामान भए मात्र त्यो पूर्ण मानिन्छ, त्यसरी नै सबै प्रकारको अभिनय गर्न सक्ने व्यक्ति मात्र पूर्ण कलाकार हो। एकै खाले भूमिकामा मात्र सीमित हुनु भनेको एउटै सामान मात्र राखेर पसल कुरे जस्तै हो भन्ने मलाई लाग्छ।
खलनायकको भूमिकाका कारण मैले वास्तविक जीवनमा धेरै रोचक र कतिपय तितो अनुभवहरू भोगेको छु। म पर्दामा देखिने 'भिलेन' भएकै कारण बाटोमा मानिसहरू मलाई देख्दा डराएर तर्किन्थे। म दायाँतिरबाट हिँडिरहेको छु भने उनीहरू बाटो काटेर बायाँतिर लाग्थे। अहिलेको जस्तो मुख थुनेर हिँड्ने चलन पनि थिएन। यहीँ जन्मियो, यहीँ हुर्कियो, कसको के खाइदिएको छु भने जस्तो लाग्थ्यो।
कतिपय त फिल्ममा राजेश हमाल वा निखिल उप्रेतीले मलाई हानेको 'किक' सम्झिएर पछाडिपछाडि त्यसरी नै लात्ताले हान्दै आउँथे। म भने केही नभएझैँ गरी हिँड्नुपर्थ्यो, किनकि फर्किएर हेर्दा थप लफडा हुने डर हुन्थ्यो। सुटिङ हेर्न आउने दर्शकहरू हिरोइनसँगैको कुर्सीमा मलाई बसेको देख्दा रिसले चुर भएर हेर्थे। उनीहरूका लागि म वास्तविक जीवनकै 'भिलेन' जस्तो देखिन्थेँ।
संघर्षपूर्ण ती दिनहरू
अहिलेको तुलनामा त्यसबेला काम गर्न निकै कठिन थियो। साधन र स्रोतको अभावमा हामीले धेरै दुख गर्यौं। अहिले प्रायः सबै नाट्य समूहका आफ्नै सुविधायुक्त नाटक घर छन्, तर हाम्रो समयमा रिहर्सलका लागि ठाउँ पाउनै मुस्किल हुन्थ्यो। हामी रत्नराज्य वा वाल्मीकि क्याम्पसका हलहरू चहार्थ्यौं, त्यहाँ पनि ठाउँ नपाए भृकुटीमण्डपको खुल्ला चउरमा बसेर नाटकको अभ्यास गर्थ्यौं।
आर्थिक अभावका कारण हामी आफैँ असन, इन्द्रचोक र भोटाहिटीका गल्लीहरूमा पुगेर नाटकको टिकट बेच्थ्यौं। हामीसँग कन्सेप्ट हुन्थ्यो, आइडिया हुन्थ्यो, तर काम गर्न चाहिने खर्च हुँदैन थियो। हामीसँग 'ग्रान्ड रिहर्सल' गर्ने सुविधा हुँदैन थियो। जुन दिनका लागि हल बुक गरिएको हुन्थ्यो, सोही दिन मात्र हामीले स्टेज टेक्न पाउँथ्यौं। एकातिर कलाकारहरू स्टेजसँग अभ्यस्त हुनुपर्ने, अर्कोतिर दर्शकहरू हलभित्र छिर्ने समय भइसक्ने। अहिले समय धेरै परिवर्तन भइसकेको छ।
साउन २८, २०८३ बिहीबार १८:२०:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।