बाढीपछि जलवायु प्रभावको विषय उठाउन प्रधानमन्त्री वालेन्द्र राष्ट्रसंघको महासभामा जाने

बाढीपछि जलवायु प्रभावको विषय उठाउन प्रधानमन्त्री वालेन्द्र राष्ट्रसंघको महासभामा जाने

काठमाडौं : अन्ततः  प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क जाने तयारीमा जुटेका छन्। यस अगाडि सो महासभामा परराष्ट्रमन्त्री शिशिर खनाल जाने तयारीमा थिए। अब प्रधानमन्त्री शाह पनि सँगै जाने भएका हुन्।

हालै रसुवाको भोटेकोशीमा गएको बाढी तथा जलवायु परिवर्तनले नेपालमा सिर्जना गरेको गम्भीर संकटलाई मध्यनजर गर्दै प्रधानमन्त्री शाह आफैँ महासभामा सहभागी हुनुपर्ने सुझाव आइरहेका थिए। नेपालले भोगेको जलवायुजन्य क्षतिबारे विश्व समुदायको ध्यानाकर्षण गराउन र न्यायको माग गर्न यो मञ्चलाई सदुपयोग गर्न सरकारमाथि दबाब बढिरहेको बेलामा उनी महासभामा जान लागेका हुन्। 

इकान्तिपुरले स्रोतलाई उद्धृत गर्दै परराष्ट्र मन्त्रालयको संयुक्त राष्ट्रसंघ तथा शिष्टाचार महाशाखा र राष्ट्रसंघका लागि न्युयोर्कस्थित नेपालको स्थायी नियोगलाई परराष्ट्रमन्त्री  खनालले प्रधानमन्त्रीको भ्रमणको तयारीमा जुट्न निर्देशन दिएको उल्लेख गरेको छ।   

महासभामा नेपालले प्रस्तुत गर्ने एजेन्डा र विषयवस्तु तय गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आन्तरिक गृहकार्य थालेको छ। मन्त्रालयका अधिकारीहरूले भ्रमणसम्बन्धी प्राविधिक तथा व्यावहारिक तयारी तीव्र पारिएको बताएका छन्।

यसअघि गत भदौ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री खनालको नेतृत्वमा महासभामा जाने प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गरिसकेको छ। प्रधानमन्त्री शाहको सहभागितासहितको पूर्ण भ्रमणको औपचारिक निर्णय भने मन्त्रिपरिषद्बाट हुन बाँकी छ। उनी सानो टोलीसहित महासभामा जान लागेको इकान्तिपुरको दाबी छ।

भदौ १९, २०८३ शुक्रबार ००:२७:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।