बेपत्ता बाबुको खोजीमा निवेदन दिने छोरासँग नारायणी किनारमा भेटिएको कङ्कालको डीएनए म्याच, हत्यामा आफ्नै छोरा संलग्न!

बेपत्ता बाबुको खोजीमा निवेदन दिने छोरासँग नारायणी किनारमा भेटिएको कङ्कालको डीएनए म्याच, हत्यामा आफ्नै छोरा संलग्न!
एआईको सहयोगमा बनाइएको तस्बिर।

चितवन : साढे तीन वर्षअघि नारायणी नदी किनारमा भेटिएका मानव कङ्कालको पहिचान खुलेसँगै प्रहरी अनुसन्धानले घटनाको रहस्य पत्ता लगाएको छ। बेपत्ता बुबाको खोजिका लागि छोराले दिएको निवेदनको आधारमा डिएनए परीक्षण गर्दा मानव कङ्कालको पहिचान खुलेको थियो।

२०७९ फागुन १९ गते भरतपुर- १७, गाजीपुरस्थित नारायणी नदीको बगरमा खप्परको हड्डी, मेरुदण्डको हाड, कम्मरको हड्डी, तिघ्रा र दुवै नलीखुट्टाका हाडलगायतको कङ्काल भेटिएको थियो। कङ्कालको वरपर केही कपडा, मोबाइल, मुख बाँधिएको, पीँध च्यातिएका बोरा, प्लास्टिकका थैलोसमेत फेला परेको प्रहरीले जनाएको छ।

कङ्काललगायत अङ्ग भेटिएपछि प्रहरीले अनुसन्धान थालेको थियो। त्यतिबेला भरतपुर महानगरपालिका-१८ का मृतक टीकाराम नेपालीका कान्छो छोरा अनिल नेपालीले बाबु बेपत्ता भएको भनी प्रहरीमा निवेदन दिएका थिए। प्रहरीले अनिलको रगत नमुना लिई डिएनए परीक्षण गर्दा उक्त हड्डीहरू बाबु टीकारामको भएको पुष्टि भएको थियो।

हाड खोरलाई डिएनएमार्फत व्यक्ति पहिचान भएपछि प्रहरीले थप अनुसन्धान थाल्यो। टीकारामका जेठा छोरा अम्मरसिं नेपाली र माइलो छोरा विष्णुबहादुर नेपालीको खोजी गर्यो। वैदेशिक रोजगारीमा रहेको खुलेपछि उनीहरूलाई झिकाउन प्रहरीले ‘रेड कर्नर नोटिस’ जारी गरेको थियो। 

केही दिनअघि जेठा छोरा अम्मरसिं नेपाल आएपछि उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो। उनले माइलो भाइसँग मिलेर हत्या गरेको बयान दिएको प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवले जानकारी दिए। यसरी साढे तीन वर्षअघि नदी किनारमा भेटिएका मानव कङ्काल बुबालाई हत्या गरी फालिएको रहस्य प्रहरी अनुसन्धानबाट खुल्यो। 

घरमा बाबुआमाबीच झगडा भएपछि भागेर नवलपरासीको गैँडाकोटमा अर्काको घरमा काम गरिरहेका बाबुलाई दुई छोराले फकाएर घर ल्याई हत्या गरेको पक्राउ परेका नेपालीले बयान दिएको नायब उपरीक्षक यादवले जानकारी दिए। मृतक टीकारामको पहिचान खुलेपछि उनको हत्यामा संलग्न आफ्नै छोराहरू रहेको पुष्टि भयो।

निजलाई ज्यानसम्बन्धी कसुरको मागदाबी लिई चितवन जिल्ला अदालतमा पेस गरिएको छ। पक्राउ परेका जेठो छोरा अम्मरलाई भदौ १६ गते पुर्पक्षका लागि थुनामा पठाइएको छ भने भाइ विष्णु वैदेशिक रोजगारीमा छन्।

भदौ १९, २०८३ शुक्रबार १५:५२:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।