उकेरा समाचार प्रभाव : स्पेशिफिकेशन लक्ड गरेर आह्वान गरिएको मनोहरा अस्पतालको करिब पौने १० करोडको टेन्डर रद्द

उकेरा समाचार प्रभाव : स्पेशिफिकेशन लक्ड गरेर आह्वान गरिएको मनोहरा अस्पतालको करिब पौने १० करोडको टेन्डर रद्द

काठमाडौं : कागेश्वरी मनोहरा नगर अस्पतालले मेडिकल उपकरण तथा औषधि खरिदका लागि आह्वान गरेको करिब नौ करोड ७२ लाख रुपैयाँ बराबरको तीन वटा बोलपत्र (टेण्डर) रद्द गरेको छ। खरिद प्रक्रियामा भएको बदमासीको खुलासा गर्दै समाचार सार्वजनिक भएपछि अस्पतालले प्राविधिक कारण देखाउँदै टेण्डर प्रक्रिया रद्द गर्यो।

भदौ १८ गते बिहीबार सूचना प्रकाशित गर्दै अस्पतालले करिब ८ करोड ६० लाखको ‘मोडुलर ओटी, पोस्ट-अपरेटिभ वार्ड सेटअप एन्ड रिकभरी रुम सेटअप’, करिब ७२ लाखको ‘डिटेक्टर सहितको हाइ इण्ड यूएसजी मेसिन र हाइ फ्रिक्वेन्सी एक्स-रे मेसिन’ जस्ता मेडिकल उपकरण र करिब ४० लाखको निःशुल्क रूपमा बाँडिने ‘फ्री मेडिसिन’ जस्ता मेसिन, उपकरण तथा औषधिको टेण्डर रद्द गर्यो।

सार्वजनिक खरिद अनुगमन कार्यालयको पत्रबाट विद्युतीय खरिद प्रणाली (इ-जीपी सिस्टम) मा उच्च सुरक्षा जोखिम देखिएको र मर्मतसम्भारको कार्य भइरहेकाले प्रणाली स्थगन गरिएको जानकारी गराएको कारण देखाउँदै अस्पतालले भदौ १७ को निर्णयमार्फत अर्को सूचना जारी नभएसम्म बोलपत्र रद्द गरेको जनाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयले मातहत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ)को विद्युतीय खरिद प्रणाली (इ-जीपी सिस्टम) भदौ ११ देखि अनिश्चित समयका लागि बन्द गरिएको छ। 

तर, पीपीएमओले ‘विद्युतीय खरिद प्रणालीमा भदौ ११ गतेसम्म प्रकाशन भई प्रस्ताव पेश गर्ने म्याद समाप्त हुन बाँकी रहेका र नयाँ प्रकाशन हुने क्रममा रहेका बोलपत्र, आशयपत्र र सिलबन्दी दरभाउ पत्रको सम्बन्धमा सार्वजनिक निकायहरूले हार्डकपीमार्फत बोलपत्र, आशयपत्र र सिलबन्दी दरभाउ पत्रको प्रक्रिया अगाडि बढाउन सकिनेछ’ जनाएको छ।

उकेराले एक हप्ता अघि खरिदमा भएको बदमासीको खुलासा गर्दै ‘मनोहरा अस्पतालको मोडुलर ओटीको टेन्डरको स्पेशिफिकेशन निजी फर्ममा बनाएर लक्ड, भ्रष्टाचार देखिने गरी असम्बन्धित प्याकेज’ शीर्षकमा समाचार सम्प्रेषण गरेको थियो। त्यसपछि अस्पतालले सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ)को विद्युतीय खरिद प्रणाली (इ-जीपी सिस्टम)को समस्या देखाउँदै सबै टेण्डर रद्द गरेको छ।

तर, कागेश्वरी मनोहरा नगर अस्पताल नेतृत्वले निश्चित सप्लायर्सको हितमा निजी फर्मबाट खरिद मापदण्ड बनाएर ‘मोडुलर ओटी, पोस्ट-अपरेटिभ वार्ड सेटअप एन्ड रिकभरी रुम सेटअप’को खरिद प्रक्रिया अगाडि बढाएको बारे समाचार प्रकाशित गरेको थियो। अन्य टेण्डरको भने उकेराले अध्ययन गरिरहेकै बेला अस्पतालले रद्द गरेको हो।

खरिद प्रक्रियालाई खुला र प्रतिस्पर्धी बनाउनुको साटो सर्तहरू थप्दै, निर्माण लगायत मोडुलर ओटीसँग असम्बन्धित विषय समेत जोडेर अस्पतालले २०८३ साउन १९ मा करिब आठ करोड ६० लाखमा ‘मोडुलर ओटी, पोस्ट-अपरेटिभ वार्ड सेटअप एन्ड रिकभरी रुम सेटअप’ खरिद प्रक्रिया अगाडि बढायो।

टेन्डरमा प्रस्तावको अनुभव, रकम, टेन्डरमा विभिन्न प्याकेज मिसाएर लक्ड गरिएको देखिएको थियो। बदनियतपूर्ण रूपमा अगाडि बढाइएको खरिदमा कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्की र नगर अस्पतालका कार्यकारी निर्देशक रामप्रसाद पौडेल जोडिएका थिए। यी दुवैको रणनीतिमा बायोमेडिकल इन्जिनियर रवि पाण्डे सहयोगी देखिएकोबारे उकेराले खुलासा गरेको थियो।

भदौ १८, २०८३ बिहीबार २२:२३:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।