डा. लीलाको उपचार अनुभव : श्रीमानको मृत्युको पीडा भुलाउन रक्सीलाई साथी बनाउँदा डिप्रेसनमा फसेकी ती शिक्षिका

डा. लीलाको उपचार अनुभव : श्रीमानको मृत्युको पीडा भुलाउन रक्सीलाई साथी बनाउँदा डिप्रेसनमा फसेकी ती शिक्षिका

शरीरमा लागेको चोट जो-कसैले देख्न सक्छ र त्यसको उपचारका लागि अस्पताल दौडिन्छ। तर, मनभित्र लाग्ने अदृश्य घाउ, गुम्सिएका पीडा, मानसिक रोदन र भावनात्मक आँधीलाई बुझ्ने मानिस समाजमा निकै कम हुन्छन्।

व्यक्तिको मनभित्रको यही उथलपुथललाई चिकित्सकीय दृष्टिकोणबाट अध्ययन गरी औषधि र मनोपरामर्शमार्फत जीवनलाई पुनः सन्तुलित अवस्थामा फर्काउनु मनोचिकित्सकको धर्म र कर्म दुवै हो।

यही संवेदनशील र चुनौतीपूर्ण पेसामा निरन्तर समर्पित छिन्- डा. लिला देवकोटा।

आफ्ना बिरामीको मनको घाउमा मलम लगाउँदै जीवनबाट हरेस खाइसकेका सयौँ मानिसलाई नयाँ आशा र जीवन दिँदै आएकी डा. लिलाले आफ्नो चिकित्सकीय अभ्यासका क्रममा देखे-भोगेका केही अविस्मरणीय अनुभव र आफ्नो डाक्टरी यात्रा उकेरासँग साटेकी छन्:

चार महिनाभित्रै नौ पटक आत्महत्याको प्रयास गरेकी ती २९ वर्षे आमा
चिकित्सकीय पेसाका क्रममा डा. लिलाको मानसपटलमा सधैँ ताजै रहने एउटा प्रसङ्ग करिब दुई वर्षअघिको हो।

एक दिन अस्पतालको आकस्मिक कक्षमा करिब २९ वर्षकी एक महिलालाई अचेत अवस्थामा ल्याइयो। ती महिलाले आत्महत्याको प्रयास गरेकी रहिछन्। धन्न, समयमै अस्पताल पुर्याइएकाले उनको ज्यान भने जोगियो।

अस्पतालको आकस्मिक कक्षमा चिकित्सकहरूको टोलीले अथक प्रयास गरेर उनको शारीरिक चोटपटकको उपचार गर्यो। उपचार थालेको तेस्रो दिनसम्म पुग्दा उनको शारीरिक अवस्था सामान्य भइसकेको थियो।

शारीरिक रूपमा तंग्रिएपछि ती महिलालाई मानसिक स्वास्थ्य परीक्षणका लागि डा. लिलासमक्ष पुर्याइयो। जब डा. लिलाले उनीसँग परामर्श र सोधपुछ सुरु गरिन्, त्यहाँ एउटा स्तब्ध बनाउने पारिवारिक र मानसिक यथार्थ खुल्यो।

ती महिलाले त्यो एकपटक मात्र नभई, बितेको चार महिनाको छोटो अवधिमै ८ देखि ९ पटकसम्म आत्महत्याको प्रयास गरिसकेकी रहिछन्। तर, संयोगवश हरेक पटक उनको प्रयास असफल हुँदै आएको थियो र उनी बाँच्दै आएकी थिइन्।

एक्लोपन र समाजको गलत बुझाइ
ती महिलाका श्रीमान् रोजगारीका सिलसिलामा विदेशमा थिए। घरमा एउटा सानो छोरा थियो। श्रीमान् साथमा नहुँदा उनमा दिन प्रतिदिन चरम एक्लोपन बढ्दै गयो। विस्तारै उनी परिवार, आफन्त र छरछिमेकसँग समेत घुलमिल हुन नसक्ने, झर्किने र एक्लै बस्ने अवस्थामा पुगिन्।

विडम्बना! घरपरिवार र समाजले उनको यो अवस्थालाई मानसिक स्वास्थ्य समस्याका रूपमा बुझ्नै सकेन। मानसिक समस्याबारे सामान्य चेतनासमेत नभएका कारण परिवार र छिमेकीहरूले ‘यसको बानी नै यस्तै हो, जतिखेर पनि रिसाउने, कसैसँग नमिल्ने खराब स्वभावकी’ भन्दै उनलाई नै लाञ्छना लगाउँदै आएका थिए।

तर, वास्तविकता त्यो थिएन। डा. लिलाको गहन परीक्षणपछि पुष्टि भयो- उनी डिप्रेसनबाट ग्रसित थिइन्। त्यसपछि डा. लिलाले उनको मनोपरामर्श र नियमित औषधि उपचार सुरु गरिन्। उपचार सुरू भएको केही महिनापछि उनका श्रीमान् पनि विदेशबाट स्वदेश फर्किए।

परिवारको साथ, नियमित औषधि र परामर्शले चमत्कारिक रूपमा काम गर्यो। केही दिनमै उनको मानसिक स्वास्थ्य सुध्रिँदै गयो र उनलाई अस्पतालबाट डिस्चार्ज गरियो। एक महिनापछि जब उनी फलोअपका लागि अस्पताल आइन्, उनी शारीरिक र मानसिक दुवै हिसाबले पूर्ण रूपमा स्वस्थ भइसकेकी थिइन्।

डा. लिला भन्छिन्, ‘उनी अहिले पनि बेलाबेलामा फलोअपमा आउने गर्छिन् र पूर्ण रूपमा स्वस्थ भएर परिवारसँग खुसीसाथ जीवन बिताइरहेकी छन्। पटक-पटक मृत्युको मुखमा पुगेका बिरामीहरू उपचारपछि यसरी हाँसेको देख्दा मनमा असीम आनन्द र पेसागत सन्तुष्टि मिल्छ।’

डा. लिलाका अनुसार यो त एउटा प्रतिनिधि घटना मात्र हो। आजभोलि वैदेशिक रोजगारीका कारण परिवारमा सिर्जना हुने एक्लोपनले गर्दा थुप्रै व्यक्तिहरू मानसिक समस्याको सिकार भएर आत्महत्याको प्रयाससम्म पुग्ने गरेका छन्।

पीडा भुलाउन रक्सीलाई साथी बनाउँदा डिप्रेसनमा फसेकी शिक्षिका
डा. लिलाले कहिल्यै भुल्न नसक्ने अर्को संवेदनशील प्रसंग एक जना ४० वर्षीया शिक्षिकाको हो।

केही वर्षअघि समाजमा प्रतिष्ठित पेसामा रहेकी ती शिक्षिका उपचारका लागि अस्पताल पुगेकी थिइन्। उनी जाँड-रक्सीको गम्भीर कुलतमा फसेकी थिइन्।

मदिराको लतकै कारण विद्यालयमा सहकर्मी, विद्यार्थी र अन्य कर्मचारीले उनलाई हेयको दृष्टिले हेर्न थालिसकेका थिए भने उनको जागिर नै धरापमा परेको थियो। कुलतले उनको शारीरिक स्वास्थ्यसँगै मानसिक स्वास्थ्य पनि पूर्ण रूपमा ध्वस्त बनाइसकेको थियो।

शारीरिक र मानसिक रूपमा थलिएपछि एक दिन उनी आफैँ अस्पताल पुगेकी थिइन्। डा. लिलाले उनको पारिवारिक पृष्ठभूमि र विगत खोतल्दै जाँदा एउटा कारुणिक कथा बाहिर आयो।

केही वर्षअघि उनका श्रीमानको मृत्यु भएको रहेछ। श्रीमान् बितेपछि छोराछोरी पनि उच्च शिक्षा र रोजगारीका लागि विदेश लागेछन्।

एक्कासी शून्य बनेको घरमा एक्लै बस्नुपर्दा उनलाई तीव्र मानसिक तनाव, छटपटी र एक्लोपनले घेर्यो। त्यही पीडा र निराशा भुलाउने सजिलो बाटोका रूपमा उनले जाँड-रक्सी पिउन थालिछन्।

कुलत र आत्मग्लानिको दुष्चक्र
ती शिक्षिकालाई आफू कुलतको गहिरो खाडलमा फस्दै गएको राम्रोसँग थाहा थियो। उनीभित्र दिनहुँ चर्को आत्मग्लानि हुन्थ्यो।

‘म गलत गर्दैछु, रक्सी पिउनु हुँदैन’ भन्ने चेत हुँदाहुँदै पनि उनी त्यो लतबाट बाहिर निस्कन सकिरहेकी थिइनन्। पीडा भुल्न मदिरालाई साथी बनाउँदा उल्टै उनको मानसिक स्वास्थ्य झन् बिग्रिँदै गयो र उनी चरम डिप्रेसनको सिकार भइन्। स्थिति यतिसम्म गम्भीर बन्यो कि उनको मनमा दिनहुँ आत्महत्याका सोचहरू आउन थाले।

डा. लिलाले उनको अवस्था बुझेपछि तत्काल मदिराको लत छुटाउने औषधि सुरु गरिन् र सघन मनोपरामर्श दिइन्। उपचार र काउन्सिलिङ सुरु गरेको करिब तीन हप्ताभित्रै ती शिक्षिकाको जीवनशैलीमा एकदमै परिवर्तन देखियो।

बिस्तारै उनले जाँड-रक्सी पूर्ण रूपमा छाडिन्। आफन्त र परिवारसँग पुनः घुलमिल हुन थालिन्। उनीभित्रको एक्लोपन र डिप्रेसनका लक्षणहरू हराउँदै गए। अहिले उनी नियमित रूपमा फलोअपमा आउने गर्छिन् र मदिराबाट पूर्ण रूपमा टाढा रहेर आफ्नो अध्यापन पेसालाई कुशलतापूर्वक सम्हाल्दै स्वस्थ जीवन बाँचिरहेकी छन्।

डा. लिलाका अनुसार मदिरा र लागुऔषधको दुर्व्यसनले अहिले समाजका हरेक वर्गलाई गाँजेको छ। वयस्क मात्र नभई कलिला बालबालिकासमेत यस्ता दुर्व्यसनका कारण मानसिक समस्यामा परेर अस्पताल आइपुग्ने गरेको तीतो यथार्थ उनी सुनाउँछिन्।

जुम्लाको दुर्गम भूगोलदेखि भेरी अस्पतालको नेतृत्वसम्म
मानिसको मनको उपचारमा खटिने डा. लिला देवकोटाको आफ्नै संघर्ष र अध्ययन यात्रा पनि उत्तिकै प्रेरणादायी छ।

उनको जन्म २०४६ सालमा हिमाली जिल्ला जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्बर-१० मा भएको हो।

सानैदेखि पढाइमा निकै तेज र लगनशील लिलाले २०६२ सालमा स्थानीय रत्न चुण्डेश्वर माध्यमिक विद्यालयबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरिन्। त्यसपछि उच्च शिक्षाका लागि उनी काठमाडौं आइन् र ललितपुरस्थित क्यास्पियन भ्याली कलेजबाट प्लस-टु पूरा गरिन्।

सानै उमेरदेखि सेतो एप्रोन लगाएर डाक्टर बन्ने सपना देखेकी लिलाले एमबीबीएसको प्रवेश परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै पूर्ण सरकारी छात्रवृत्ति कोटामा नाम निकालिन्।

सन् २००९ मा काठमाडौं विश्वविद्यालयअन्तर्गत पोखरास्थित मणिपाल कलेज अफ मेडिकल साइन्सेजमा भर्ना भएकी उनले सन् २०१५ मा सफलतापूर्वक एमबीबीएस अध्ययन पूरा गरिन्।

सरकारी सेवा र ग्रामीण अनुभव
सरकारी छात्रवृत्तिमा पढेका चिकित्सकले सरकारले तोकेको दुर्गम क्षेत्रमा सेवा गर्नुपर्ने नियमअनुसार डा. लिलाले सुरुमा आफ्नो गृहजिल्ला जुम्लाकै एउटा प्राथमिक स्वास्थ्य केन्द्रमा छात्रवृत्ति करारमा करिब एक वर्ष बिरामीको सेवा गरिन्।

त्यसपछि उनले लोकसेवा आयोगको परीक्षा दिइन् र २०७२ सालमा आठौं तहको मेडिकल अधिकृतका रूपमा स्थायी सरकारी जागिरमा प्रवेश गरिन्।

स्थायी सेवा सुरु भएपछि उनको पहिलो पोष्टिङ तत्कालीन मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल, सुर्खेतमा भयो, जहाँ उनले नौ महिना काम गरिन्। त्यसपछि सरुवा भएर दैलेखको दुल्लु अस्पताल पुगेकी उनले त्यहाँ दुर्गमका विपन्न जनताको उपचारमा करिब तीन वर्ष बिताइन्।

मनोचिकित्सामा विशेषज्ञता
दुल्लु अस्पतालमा काम गर्दागर्दै उनले चिकित्सा शास्त्रको स्नातकोत्तर तह (एमडी)को प्रतिस्पर्धात्मक परीक्षा उत्तीर्ण गरिन्।

मानिसको मनको गडबडी बुझेर उपचार गर्ने विषयप्रति आकर्षित भएकी उनले २०७५ सालमा त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गतको प्रतिष्ठित महाराजगञ्ज चिकित्सा क्याम्पसमा भर्ना भई ‘मनोचिकित्सा’मा एमडी अध्ययन सुरु गरिन्।

२०७८ सालमा मनोचिकित्सामा एमडी पूरा गरेपछि उनी विशेषज्ञ चिकित्सकका रूपमा नेपालगञ्जस्थित भेरी अस्पतालमा सरुवा भइन्। सरकारी सेवामा पदोन्नति हुँदै हाल उनी नवौं तहको कन्सल्टेन्ट साइक्याट्रिस्टका रूपमा कार्यरत छिन्।

हाल डा. लिला देवकोटा भेरी अस्पतालको मानसिक रोग विभागको प्रमुखको जिम्मेवारीमा रहेर पश्चिम नेपालका हजारौं मानसिक रोगीहरूलाई नयाँ जीवन र आशा बाँडिरहेकी छन्।

साउन ३०, २०८३ शनिबार १२:४०:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।