बटौली फेरियो, पुस्ता फेरिए तर १२० वर्ष पुरानो ‘जलेवीवाला बुढो बाजेको पसल’को जेरी उस्तै !

बटौली फेरियो, पुस्ता फेरिए तर १२० वर्ष पुरानो ‘जलेवीवाला बुढो बाजेको पसल’को जेरी उस्तै !

बुटवल : बुटवलको आधुनिक बजारबाट केही मिनेट पर पक्की सडक, नयाँ घर र व्यापारिक चहलपहलबीच पुरानो बटौलीको गल्लीमा भने इतिहासका केही पाना अझै जीवित छन्। त्यही इतिहासको एउटा मीठो स्वाद हो- गयाप्रसाद हलुवाईको ‘जलेबीवाला बुढो बाजेको पसल’।

बुटवल उपमहानगरपालिका-१, पुरानो बटौलीमा रहेको यो पसलमा अहिले पनि बिहानैदेखि जेरी पाक्छ। ग्राहक आउँछन्, तातो जेरी खान्छन्, चिया पिउँछन् र फर्किन्छन्।

बाहिरबाट हेर्दा सामान्य देखिने यो पसलको इतिहास भने सामान्य छैन। पुस्ता फेरिए, बजार फेरियो, पकाउने भाँडा र इन्धन फेरिए तर यहाँ जेरी बनाउने पारिवारिक परम्परा भने रोकिएको छैन।

यो व्यवसायको जरा वि.सं. १९५९-६० सालतिर पुग्छ। भारतबाट बटौली आएका असर्फीलाल हलुवाईले पहाडबाट नुन, घ्यू तथा अन्य सामानको कारोबार गर्न झर्ने मानिसलाई लक्षित गर्दै जेरी पसल सुरु गरेका थिए। त्यतिबेला बटौली अहिलेको जस्तो बजार थिएन, पहाड र तराईबीचको व्यापारिक आवतजावतको मुख्य थलो थियो।

त्यतिखेर जेरी केवल मिठाई मात्र थिएन, लामो यात्रापछि थकाइ मार्ने एउटा मीठो बहाना पनि थियो।

पहाडबाट सामान किन्न झरेका ढाक्रेहरू बटौलीमा रोकिँदा तातो जेरी खान्थे। कतिपय ग्राहकलाई पसलमै बसेर खाने सुविधा थिएन, त्यसैले जेरी बेच्ने परिवारले ग्राहक खोज्दै बजारका विभिन्न ठाउँसम्म पुग्नुपर्थ्यो।

असर्फीलालपछि उनका छोरा सीताराम हलुवाईले व्यवसाय सम्हाले। त्यसपछि सीतारामका छोरा गयाप्रसाद हुँदै अहिले गयाप्रसादका छोरा आनन्दकुमारले यसलाई निरन्तरता दिएका छन्। आनन्दसँगै उनका भाइहरू सन्तोष, प्रमेश, सन्दीप र पवन पनि अहिले पसलको काममा सघाउँछन्।

गयाप्रसादका लागि यो पसल आम्दानीको माध्यम मात्र होइन, परिवारको पुर्ख्यौली पहिचान पनि हो। उनी जन्मिँदा नै पसल दशकौँ पुरानो भइसकेको थियो। बाल्यकालदेखि जेरी पकाएको, ग्राहक आएको र बुबा–हजुरबुबाले पसल सम्हालेको दृश्य उनका स्मृतिमा ताजै छन्।

सय वर्ष पुरानो भाँडो, उही पुरानो सीप
पसलको सबैभन्दा रोचक पक्ष यहाँ प्रयोग हुने केही पुराना सामान हुन्। जेरीका लागि पिठो मुछ्न प्रयोग हुँदै आएको काँसको भाँडो परिवारले अझै जोगाएर राखेको छ। सय वर्षभन्दा पुरानो त्यो भाँडो समयसँगै खिइएर सानो भएको छ, तर त्यसको प्रयोग रोकिएको छैन।

गयाप्रसादको भनाइमा त्यो केवल भाँडो होइन, पुर्खाले छाडेको चिनो हो। हजुरबुबाको हात हुँदै बुबाको पुस्तामा पुगेको सामान अहिले आफ्नै हातबाट प्रयोग भइरहेको छ।

‘आधुनिक भान्सामा नयाँ उपकरण थपिँदै जाँदा त्यो पुरानो भाँडोले भने परिवारको इतिहास सम्झाइरहेको छ’, गयाप्रसाद भन्छन्।

कुनै समय पसलमा माटोको चुलोमा दाउरा बालेर जेरी पकाइन्थ्यो। अहिले दाउराको सहज उपलब्धता नभएपछि ग्यास प्रयोग हुन थालेको छ। प्रविधि र सुविधा फेरिए पनि जेरी पकाउने सीप भने पुस्तान्तरण हुँदै आएको छ।

सय वर्षभन्दा पुरानो खिइएर सानो भाँडो

केही वर्षअघि सय वर्षभन्दा पुरानो घर भत्काएर नयाँ पक्की संरचना बनेको छ। भौतिक संरचना फेरिए पनि त्यससँग जोडिएको व्यवसाय र स्वाद भने नयाँ पर्खालभित्र उस्तै गरी बाँचिरहेको छ।

बाल्यकालको सम्झना फर्काउने स्वाद
अहिले बजारमा विभिन्न रङ, आकार र स्वादका जेरी पाइन्छन्। तर, गयाप्रसादको पसलले परम्परागत स्वादलाई नै आफ्नो पहिचान बनाएको छ। यहाँ ग्राहक आएको देखेपछि मात्रै जेरी पकाएर तात्तातै खुवाउने चलन छ।

पुराना ग्राहकका लागि यो स्वाद उनीहरूको बाल्यकालको सम्झना हो। बुटवलका पुराना बासिन्दा मात्र होइन, आसपासका क्षेत्रबाट समेत यहाँ जेरी खान आउनेहरू छन्।

कुनै समय एक-दुई पैसामा बिक्री हुने जेरीको मूल्य अहिले समयसँगै बढेको छ। तर, मूल्य बढे पनि ग्राहकको मोह घटेको छैन। बरु पुरानो पसल र परम्परागत स्वादको खोजीमा नयाँ पुस्ताका ग्राहक पनि यहाँ आइपुग्छन्।

बटौली फेरियो, व्यापार रोकिएन
कुनै समय बटौली पश्चिम नेपालको महत्त्वपूर्ण व्यापारिक केन्द्र थियो। पहाडका विभिन्न जिल्लाबाट मानिस किनमेल गर्न यहीँ झर्थे।

भारततर्फ रोजगारी र व्यापारका लागि जानेहरू पनि यही बाटो हुँदै आवतजावत गर्थे। पसल चलाउने यो परिवारका लागि त्यो समय व्यापारको ‘स्वर्णकाल’ जस्तै थियो।

तर, समय बदलियो। बजार विस्तार हुँदै गयो। तिनाउ पारिको क्षेत्र मुख्य व्यापारिक केन्द्र बन्यो।

नयाँ सडक, ठूला पसल, आधुनिक बजार र यातायातका सुविधाले बुटवलको व्यापारिक नक्सा नै परिवर्तन गरिदियो। पुरानो बटौली भने क्रमशः सुनसान बन्दै गयो।

गयाप्रसादको परिवारले भने बजारको गति बदलिए पनि आफ्नो पुर्ख्यौली ठाउँ छाडेन।

नयाँ बजारमा व्यापारको सम्भावना खोज्नुभन्दा पुर्खाले सुरु गरेको पसललाई नै निरन्तरता दिने बाटो उनीहरूले रोजे। यद्यपि, चुनौती भने नभएको होइन।

‘बटौलीको पुरानो व्यापारिक पहिचान हराउँदै जाँदा ग्राहकको सङ्ख्या पहिलेको जस्तो छैन। नयाँ पुस्ताका सन्तानलाई समेत पुर्ख्यौली पेसामा टिकाइराख्न कठिन भइरहेको छ’, गयाप्रसाद भन्छन्।

भदौ २०, २०८३ शनिबार १०:३७:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।