त्रिशूली-३ ‘ए’ उद्धार टोलीका सदस्य भन्छन् : ‘अवस्था जटिल छ, धेरै आशावादी छैनौँ’
काठमाडौं : त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट जीवितै दुई जनाको उद्धार भएपछि हराइरहेका कामदारका परिवारमा आफ्ना पनि भेटिने आस जगायो। खोज तथा उद्धारमा खटिएको टिमले थप अर्को व्यक्ति पनि फेला पारे तर मृत।
पछि उद्धारमा खटिएका टिमका सदस्यहरू उद्धार निकै कठिन रहेको र धेरै आशावादी नरहेको निराशाजनक प्रतिक्रिया दिए।
उद्धारमा सक्रिय विनोद श्रेष्ठका अनुसार सुरुङ भित्र बगेर आएका मुढा, ठूला–ठूला बोल्डर साथै आरसिसी स्ट्रक्चरहरू तलसम्म भासिएकाले भित्रसम्म खोज तथा उद्धार गर्न कठिन बनेको छ।
“भित्रसम्म जाने बाटाहरू बन्द जस्तै छन्। प्रारम्भिक चरणमा जुन किसिमको सहजता थियो, अहिले कठिन बनेको छ” उनले नेपालन्युज बैंकसँग भने “हामीले फोटो र भिडियो लिएर पनि हेर्यौं। सबै सुरक्षा निकायका जिम्मेवार व्यक्तिहरूबाट भेरिफिकेसन गर्यौँ। तर अवस्था कठिन बन्दै गएको छ।
श्रेष्ठले रेस्क्यू जारी राख्ने अनि सकेसम्म प्रयास गरिरहेको बताए। तर शुक्रवार साँझबाट सो सुरुङभित्रको खोजी अभियान स्थगित गरियो।
उद्धारमा सक्रिय अर्का सन्जोग केसीका अनुसार सुरुङ भित्रको अवस्था जटिल र जलमग्न छ। अन्डरग्राउन्ड पानी र लेदोले भरिएको छ। टनेलको छततर्फको भागमा कोही भए बाँच्ने अवसर थियो। नत्र भने अब धेरै आस नभएको उनले बताए।
“सोचेको भन्दा धेरै लेदो छ,’ केसीले भने,‘हामी धेरै आशावादी छैनौँ।”
शुक्रबार बिहानदेखि सुरुङभित्र फसेकाहरूको उद्धारका लागि नेपाली सेनाका ७५, सशस्त्र प्रहरी बलका १८ जना र नेपाल प्रहरी र विज्ञसहितको संयुक्त टोली परिचालन गरिएको थियो।
भदौ १९, २०८३ शुक्रबार २३:५६:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।