सुरुङभित्र १० दिन सङ्घर्ष गरेर मृत्युलाई जित्ने दुई यूवा

सुरुङभित्र १० दिन सङ्घर्ष गरेर मृत्युलाई जित्ने दुई यूवा

काठमाडौँ : भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण त्रिशूली ३ 'ए’ जलविद्युत आयोजनाको सुरुङभित्र थुनिएका दुई युवाको शुक्रवार सकुशल उद्धार भयो। कम्पनीका प्राविधिक, नेपाली सेना, सशस्त्र प्रहरी तथा विदेशी विशेष उद्धारकर्ता टोली उनीहरूलाई विहान सुरुङबाट जीवितै बाहिर निकाल्न सफल भएको हो।

सुरक्षित रूपमा उद्धार गरिएका सप्तरीका ३० वर्षीय सञ्जय शाह र काठमाडौँ कीर्तिपुरका कविर महर्जन रहेको खुलेको छ। उद्धार लगत्तै दुबैलाई प्राथमिक उपचार गरेर हेलिकप्टरबाट काठमाडौं ल्याइयो।

दुवैको अहिले छाउनीमा रहेको सेनाको अस्पतालमा उपचार भइरहेको छ। उनीहरुका परिवार आएर अस्पतालमै भेटेका छन्। उद्धार गरिएकोमध्ये दुबै बोल्न सक्ने अवस्थामा छन्। तर महर्जनको अवस्था अलि कमजोर देखिन्छ।

सुरुङभित्र १० दिनको सङ्घर्ष
कबिर कुलेखानी जलविद्युत आयोजनाका कर्मचारी हुन्। उनी कुलेखानीबाट माथिल्लो त्रिशूली ३ 'ए' को नियमित मर्मत सम्भारका लागि गएका थिए। उनी मेकानिकल सुपरभाइजर हुन्। उनी नेपाल विद्युत् प्राधिकरणमा कार्यरत छन्।

काठमाडौँ कीर्तिपुरका कविर महर्जन। तस्बिर : सशस्त्र प्रहरी बल।बाढी आएको दिन भदौ १० गते उनी बिहान साढे ७ बजेतिर सुरुङभित्र काम गर्न गएका थिए। त्यही दिन नेपाल र चीनको सीमामा रहेको लेन्दे खोला हुँदै भोटेकोशीमा आएको भीषण बाढीको चपेटामा उनी परेका थिए।

अर्का युवा हुन् सप्तरीको तीलाठी कोईलाडीका सञ्जय शाह। उनी पनि नेपाल विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान हुन्। उनी कन्ट्रोल रुमको अपरेसन हुन्।

भदौ १० गते उनी तोकिएको सिफ्ट अनुसारको ड्युटीका लागि सुरुङ भित्र हिँडेका थिए। उनले ड्याममा पानीको हलचल देखेपछि सुरुङ भित्र रहेका साथीहरूलाई बाहिर निस्कन भने। करिब ३०-४० जना सुरुङबाट बाहिर निस्किएर भागे। तर उनी भित्रै ट्र्यापमा परे।

सप्तरीको तिलाठी कोईलाडीका सञ्जय शाह। तस्बिर : प्रधानमन्त्रीको सचिवालय।तीन दिनदेखि द्रुत गति लिएको खोजी अभियानको क्रममा शुक्रवार टोली टनेल भित्र पुग्दा उनी जीवित भेटिए।
तर सबैलाई भाग्यले साथ दिन्न। शुक्रवारै सोही सुरुङमा अर्का एक जना पनि भेटिए। तर उनको मृत्यु भइसकेको थियो। बिहीबार अन्य जल विद्युत् गृहको टनेलबाट तीन जनाको शव फेला परेको थियो।

सो क्षेत्रमा रहेका विद्युत गृहमा कार्यरत करिब ९ सय जना हराइरहेका छन्। त्यसमा कति जना टनेल भित्र फसेका छन् अनि कति जना बाढीको चपेटामा फसे सो खुल्न सकेको छैन। 

भदौ १९, २०८३ शुक्रबार २०:३७:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।