सुरुङबाट १० दिनपछि जीवितै उद्धार भएका कविरकी श्रीमती भन्छिन् : ‘खुसीको सीमा नै छैन’
काठमाडौं : भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण १० दिनदेखि रसुवास्थित त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका दुई कामदारको शुक्रबार जीवितै उद्धार गरियो।
उद्धार गरिएकामध्ये एक कविर महर्जनको स्वास्थ्य अवस्था जटिल रहेकाले छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा राखेर उपचार भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको थियो।
कविरकी श्रीमती हीराशोभा महर्जनले सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै अहिले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी आफूलाई दिइएको बताइन्। भदौ १० गते आएको बाढीका कारण सुरुङभित्रै फसेकाहरूलाई नेपाली सेनासहितको उद्धार टोली १० औँ दिनमा बाहिर निकाल्न सफल भएको थियो। उद्धार लगत्तै हेलिकप्टरमार्फत उनलाई उपचारका लागि काठमाडौं ल्याइएको थियो।
श्रीमती हीराशोभाका अनुसार कविरले सुरुमा उनलाई समेत चिन्न सकेनन्। "सुरुमा आउँदा उहाँले मलाई चिन्नुभएन, म कहाँ छु र मलाई के भएको हो भनेर मात्र सोध्नुभयो," उनले भनिन्, "अहिले केही सुधार भएको छ, उहाँले पानी खानुभयो र टाउको हल्लाएर प्रतिक्रिया दिन सक्ने हुनुभएको छ।"
लामो समय सुरुङभित्र अक्सिजनको कमी र चिसोमा रहेका कारण कविरको शरीर पहेँलो देखिएको र खुट्टामा चोट लागेको उनले बताइन्। चिकित्सकहरूले हीराशोभालाई दिएको अनुसार कविरको प्रारम्भिक स्वास्थ्य परीक्षण भइसकेको छ र अवस्था सामान्यतर्फ फर्किएकाले केही समय आरामको आवश्यकता छ।
दश दिनसम्म सम्पर्कविहीन रहेका श्रीमान् जीवितै फर्किनेमा परिवारले आशा मारिसकेको अवस्थामा भएको उद्धारले घरमा खुसीयाली छाएको उनले बताइन्। श्रीमानको उद्धारको विषयमा सोधिखोजी गर्दा जहिले भोलि हुन्छ भनेर मात्र प्रतिक्रिया आउँदा करिव अब फर्किन्छन् भन्ने आशा हराएको उनको भनाइ थियो।
हीराशोभाले भावुक हुँदै भनिन्, "दश दिनसम्म नदेख्दा उहाँ फर्किनुहुन्छ भनेर हामीलाई विश्वासै लागेको थिएन। मैले फोटो देखेँ। उहाँको अनुहार देख्दा खुसीले घरभरि रुवाबासी भयो। सबै खुसी भयौ। खुसीको सीमा नै छैन।" उद्धार कार्यमा संलग्न नेपाली सेनासहित उद्धार टोलीको जोखिमपूर्ण सक्रियताप्रति उनले आभार व्यक्त गरिन्।
भदौ १९, २०८३ शुक्रबार २०:१८:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।