त्रिशूली-३ 'ए' को सुरुङबाट निकालियो एक जनाको शव

त्रिशूली-३ 'ए' को सुरुङबाट निकालियो एक जनाको शव
फाइल तस्बिर

रसुवा : नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोलीले बाढी प्रभावित त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका एक व्यक्तिको शव निकालेको छ।

खोज तथा उद्धार कार्य जारी रहेको नुवाकोटको सिम्ले क्षेत्रमा रहेका स्थानीयवासी शेषनाथ भट्टराईले विदेशी विज्ञ सम्मिलित विशेष टोलीले सुरुङभित्रबाट अहिले एक व्यक्तिको शव निकालेको जानकारी दिए। 

उनका अनुसार सोही जलविद्युत् आयोजनाका दुई कर्मचारीको आज बिहान जीवितै अवस्थामा उद्धार गरेपछि उत्साहित बनेको उक्त विशेष टोलीमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसहित चिनियाँ र अमेरिकी विज्ञसमेत खटिरहेको देखिन्छ।

यसैबीच, रसुवा बाढी प्रभावित क्षेत्रमा बादल लागि मौसम सफा नभए पनि हेलिकप्टरमार्फत खाद्यान्नलगायत अत्यावश्यक सामग्री वितरण काम तीव्रताका साथ भइरहेको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए। -रासस

भदौ १९, २०८३ शुक्रबार १४:४८:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।