रसुवागढी जलविद्युत् सुरुङको २८५ मिटर भित्रसम्म पुग्यो उद्धार टोली, अन्य छ वटा हाइड्रोको अवस्था के?
काठमाडौं : भदौ १० गते रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि नेपाली सेनाले जलविद्युत् आयोजनाका सुरुङहरू केन्द्रित गरेर खोज तथा उद्धार कार्यलाई तीव्र बनाएको छ।
नदी तटीय क्षेत्र तथा जलविद्युत् आयोजनाका सुरुङहरूमा थुनिएका श्रमिक तथा नागरिकको खोजीमा सेनाले ‘जीवितै उद्धार गर्ने’ मुख्य प्राथमिकताका साथ ‘महा-अपरेसन’ चलाइरहेको छ।
नेपाली सेनाका महासेनानी झविन्द्रबहादुर रेश्मीका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म ३ हजार २ सयभन्दा बढी नेपाली र २७० भन्दा बढी विदेशी नागरिकको उद्धार भइसकेको छ।
यो संख्या हवाई तथा स्थलगत दुवै माध्यमबाट सुरुङभित्र र बाहिरबाट उद्धार गरिएकाहरूको कुल तथ्यांक हो।
सुरुङभित्र जोखिमपूर्ण खोजी : कुन आयोजनामा कति भित्र पुग्यो टोली?
बाढीका कारण रसुवाका विभिन्न जलविद्युत् आयोजनाका सुरुङहरू लेदो र पानीले भरिएका छन्। सेनाले प्राविधिक टोलीसहित यस क्षेत्रका सातवटै मुख्य सुरुङहरूमा खोजी कार्य अघि बढाएको छ।
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धार टोली सबैभन्दा बढी अर्थात् २७५ मिटर भित्रसम्म पुगेर खोजी गरिरहेको छ भने माथिल्लो त्रिशूली-१ मा सेनाको विशेष उद्धार टोली सुरुङको २ सय मिटर भित्रसम्म पुगेको छ।
यस्तै त्रिशूली-३ ‘ए’ सुरुङभित्र १७० मिटरसम्म पुगेको सेनाले दुई जना कर्मचारीलाई सकुशल जीवितै उद्धार गर्न सफल भएको छ। थप मानिस फसेको आशंकामा यहाँ अझै खोजी जारी छ भने चिलिमे जलविद्युत् आयोजना : सुरुङको १५० मिटर भित्रसम्म पुगेर प्राविधिक टोलीले उद्धार कार्य अघि बढाइरहेको छ।
त्रिशूली-३ ‘बी’ सुरुङको ३० मिटर भित्रसम्म सेना प्रवेश गरिसकेको छ। हाल त्यहाँ जमेको बाक्लो माटो र लेदो फाल्ने काम भइरहेको छ। यस्तै लाङटाङ हाइड्रोको सुरुङभित्र प्रवेश गर्न कठिन भएपछि विभिन्न स्थानमा सुरुङको भित्तामा ८ फिट लम्बाइ र ३ फिट चौडाइका प्वालहरू पारेर भित्र खोजी भइरहेको छ।
महासेनानी रेश्मीका अनुसार सेनाले हवाई उद्धारका अतिरिक्त स्थलगत रूपमा मात्रै १९ वटा संवेदनशील स्थानमा टोली खटाएर उद्धारको काम गरिरहेको छ।
बाढीले सडक र पुल बगाएर सम्पर्कविच्छेद भएका बस्तीहरूलाई जोड्न सेनाले द्रुत गतिमा काम थालेको छ। सेनाले इन्द्रेणी घाटमा तुइन निर्माण सम्पन्न गरिसकेको छ भने देवीघाटमा तुइन निर्माणका साथै यातायात सुचारु गर्न बेलिब्रिज जडान गर्ने कामसमेत सुरु गरिसकेको छ।
भदौ १९, २०८३ शुक्रबार १३:५२:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।