अष्ट्रेलियाका प्रधानमन्त्रीसँग बालेनले के भने?
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह र अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजबीच आज बिहान १० बजे टेलिफोन वार्ता भएको छ।
नेपाल हाल प्राकृतिक विपद्को कठिन परिस्थितिबाट गुज्रिरहेका बेला दुई देशका सरकार प्रमुखबीच खोज, उद्धार तथा राहत सहकार्यका विषयमा महत्वपूर्ण कुराकानी भएको हो।
वार्ताका क्रममा प्रधानमन्त्री शाहले यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण भएको ठूलो जनधन र भौतिक पूर्वाधारको क्षतिप्रति अष्ट्रेलिया सरकार तथा त्यहाँका जनताले प्रकट गरेको ऐक्यबद्धताप्रति हार्दिक कृतज्ञता व्यक्त गरे।
विपद्को घडीमा अष्ट्रेलियाले तत्काल देखाएको मानवीय सहयोगको प्रशंसा गर्दै प्रधानमन्त्री शाहले आभार व्यक्त गरे। विशेषगरी अष्ट्रेलियाले नेपाल पठाएको विशेषज्ञ ड्रोन अपरेटर टोली, अत्यावश्यक राहत सामग्री तथा आर्थिक सहायता नेपालका लागि निकै प्रभावकारी बनेको उनले उल्लेख गरे।
प्रधानमन्त्री शाहले बाढीका कारण नेपालमा बेपत्ता भएका अष्ट्रेलियाली नागरिकहरूको खोजी कार्यलाई सुरक्षा निकायले उच्च प्राथमिकताका साथ तीव्र पारिरहेको समकक्षी अल्बानिजलाई जानकारी गराए।
नेपाल र अष्ट्रेलियाबीच लामो समयदेखि घनिष्ठ र मैत्रीपूर्ण सम्बन्ध रहेको स्मरण गर्दै उहाँले विपद् व्यवस्थापन, उद्धार, राहत र आगामी दिनमा गरिने पुनःस्थापनाका कार्यहरूमा अष्ट्रेलियासँग निरन्तर समन्वय र सहकार्य जारी रहने बताए।
सो अवसरमा अष्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजले बाढीका कारण नेपालले व्यहोर्नुपरेको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख, चासो र चिन्ता व्यक्त गरेका थिए।
भदौ १९, २०८३ शुक्रबार १३:४०:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।