त्रिशूली-३ ‘ए’ को पावर हाउसभित्र छिर्यो सेनाको टोली
काठमाडौं : माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको जीवितै उद्धार गरिएलगत्तै थप जनशक्तिको खोजी तथा उद्धारका लागि नेपाली सेनाको विशेष टोली पावर हाउसभित्र प्रवेश गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री बिराजभक्त श्रेष्ठको सचिवालयका अनुसार नेपाल विद्युत् प्राधिकरणका इलेक्ट्रिकल सुपरभाइजर संजोग केसीसहित नेपाली सेनाको उद्धार टोली पावर हाउसभित्र प्रवेश गरिसकेको छ।
सुरुङ र पावर हाउसको भित्री संरचना प्राविधिक रूपमा जटिल भएकाले प्राधिकरणका प्राविधिकलाई साथमै लिएर टोली भित्र पसेको हो।
आज बिहान ९ दिनपछि जीवितै उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहले पावर हाउसभित्र अन्य साथीहरू फसिरहेको हुनसक्ने बताएका थिए।
गत भदौ १० गते बाँधमा बाढी पस्दा त्यस क्षेत्रमा करिब ४० देखि ४५ जना कामदार कार्यरत रहेको र केही व्यक्ति पावर हाउसभित्रै परेको हुनसक्ने आशंका गरिएपछि सेनाले त्यसतर्फ खोजी केन्द्रित गरेको हो।
यसअघि नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले सुरुङबाट मेकानिकल फोरम्यान सञ्जय साह र मेकानिकल सुपरभाइजर कबीर महर्जनलाई जीवितै उद्धार गर्न सफल भएको थियो।
उद्धार गरिएकामध्ये अवस्था जटिल रहेका महर्जनलाई काठमाडौं ल्याएर छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको छ।
यस्तै, स्वास्थ्यका आधारभूत सूचक (भाइटल प्यारामिटर) सामान्य रहेका अर्का घाइते साहलाई पनि थप स्वास्थ्य परीक्षणका लागि काठमाडौं ल्याइँदै छ।
अझै केही व्यक्तिहरू भित्र फसेको हुनसक्ने सम्भावना रहेकाले पावर हाउसभित्र अक्सिजन र अन्य आवश्यक उपकरणसहित प्रवेश गरेको सेनाको टोलीले खोजी कार्यलाई युद्धस्तरमा अघि बढाइरहेको छ।
भदौ १९, २०८३ शुक्रबार १३:०१:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।