त्रिशूली-३ ‘ए’ सुरुङबाट जीवितै उद्धार गरिएका सञ्जय साहको ‘भाइटल प्यारामिटर’ सामान्य

त्रिशूली-३ ‘ए’ सुरुङबाट जीवितै उद्धार गरिएका सञ्जय साहको ‘भाइटल प्यारामिटर’ सामान्य

काठमाडौं : त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र ९ दिनसम्म फसेर जीवितै उद्धार गरिएका ३२ वर्षीय सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य रहेको पाइएको छ।

नेपाली सेनाको स्वास्थ्य टोलीले गरेको प्रारम्भिक स्वास्थ्य परीक्षणमा उनका सबै मुख्य ‘भाइटल प्यारामिटर’ सामान्य (नर्मल) देखिएका छन्।

उपचारमा संलग्न नेपाली सेनाका चिकित्सकहरूका अनुसार लामो समय सुरुङभित्र अक्सिजन, पानी र खानाको अभावमा थुनिए पनि साहको शरीरको आधारभूत जीवन सञ्चालन प्रणाली ठीक अवस्थामा रहेको छ।

स्वास्थ्य परीक्षणका क्रममा उनको शरीरको तापक्रम, मुटुको चाल, रक्तचाप (ब्लड प्रेसर) तथा श्वासप्रश्वासको दरलगायतका प्रमुख सूचकहरू सामान्य देखिएका हुन्।

सप्तरी स्थायी घर भएका साह आयोजनाको मेकानिकल कन्ट्रोल रुममा कार्यरत थिए।

गत भदौ १० गते आयोजनाको बाँध क्षेत्रमा भीषण बाढी पसेपछि उनले सुरुङ क्षेत्रमा कार्यरत अन्य कामदारहरूलाई बाहिर भाग्न सचेत गराएका थिए। साथीहरूलाई सुरक्षित रूपमा भगाउँदा-भगाउँदै समय घर्किएपछि आफू सुरुङभित्रै थुनिन पुगेको उनले बताएका छन्।

सुरक्षाकर्मीको टोलीले शुक्रबार बिहान उनको सुरुङबाट सकुशल उद्धार गरेको थियो। घटनास्थलमै सेनाले प्राथमिक उपचार र अक्सिजन दिएपछि उनको अवस्था सामान्य बनेको हो।

स्वास्थ्य अवस्था स्थिर रहे तापनि थप परीक्षण र विशेष निगरानीका लागि उनलाई काठमाडौंको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल ल्याइएको छ।

भदौ १९, २०८३ शुक्रबार १२:५२:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।