‘अरुलाई बचाउन खोज्दा आफैँ थुनिएँ, नौ दिन महामन्त्र जपेर बसेँ’

‘अरुलाई बचाउन खोज्दा आफैँ थुनिएँ, नौ दिन महामन्त्र जपेर बसेँ’

नुवाकोट : रसुवा र नुवाकोटको सीमा क्षेत्रमा रहेको त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र नौ दिनसम्म मृत्युसँग जुधेर जीवितै उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहले अरूको ज्यान जोगाउन खोज्दा आफू सुरुङभित्रै थुनिन पुगेको बताएका छन्।

नेपाली सेनाले उद्धार गरी नुवाकोटको बट्टारस्थित मैथली क्याम्पमा पुर्याएपछि अक्सिजन मास्कमै रहेका साहले त्यो त्रासदीपूर्ण घटनाबारे सुनाएका हुन्।

साहका अनुसार भदौ १० गते बिहान १० बजे बाँध क्षेत्रमा भीषण बाढी पस्दा उनी कन्ट्रोल रुममा कार्यरत थिए। अरू बेला ४-५ जना मात्रै हुने भए पनि त्यो दिन सुरुङ क्षेत्रमा करिब ४० देखि ४५ जना कामदार थिए।

“कन्ट्रोल रुममा भएकाले सबैको ज्यान बचाउनु मेरो जिम्मेवारी थियो, म एक्लै भागेर भएन,’ साहले भने, ‘मैले सबैलाई बाँधमा ठूलो दुर्घटना भयो भन्दै बाहिर भाग्न लगाएँ। सबैलाई बाहिर निकाल्न खोज्दा-खोज्दै मेरो समय गयो। अन्तिममा म आफैँ निस्किनै पाइनँ र भित्रै थुनिएँ।’

अँध्यारोमा नौ दिन र ‘हरे कृष्ण’को सहारा
भदौ १० गतेदेखि १९ गतेसम्म सुरुङभित्र थुनिएका साहले मृत्युको मुखबाट पाएको यो पुनरागमनलाई उद्धारकर्मीहरूले ‘दोस्रो जीवन’ भनेका छन्।

सुरुङभित्रको कठिन समय कसरी कटाउनुभयो भन्ने उद्धारकर्मीको जिज्ञासामा उनले भने, “भित्र म भगवान्‌को नाम सम्झिँदै निरन्तर ‘हरे कृष्ण’ महामन्त्र जपिरहेको थिएँ।”

सुरुङभित्र अझै अन्य व्यक्तिहरू पनि फसेको हुनसक्ने उनले आशंका व्यक्त गरेका छन्।

“सुरुङ निकै लामो छ, पानीको अत्यधिक फोर्सले भित्र पुर्याएको हुनसक्छ। पावर हाउसभित्र पनि साथीहरू परेका हुनसक्छन्”, उनले भने।

नेपाली सेना र सशस्त्र प्रहरी बलको टोलीले शुक्रबार बिहान साहको जीवितै उद्धार गरेको थियो। बट्टारस्थित मैथली क्याम्पमा सेनाको स्वास्थ्य टोलीले प्राथमिक उपचार र अक्सिजन दिएपछि उनको स्वास्थ्य अवस्था स्थिर बनेको छ।

उनलाई थप स्वास्थ्य परीक्षण र विशेषज्ञ उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौंको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल ल्याउने तयारी भइरहेको छ।

भदौ १९, २०८३ शुक्रबार १२:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।