त्रिशूली-३ ‘ए’ सुरुङबाट उद्धार गरिएका महर्जनको अवस्था जटिल, साहको सामान्य
काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका दुई जनामध्ये एक जनाको अवस्था जटिल रहेको छ भने अर्का व्यक्तिको अवस्था सामान्य रहेको छ।
सुरक्षा टोलीले दोस्रो पटक सुरुङबाट जीवितै उद्धार गरेका कबीर महर्जनको स्वास्थ्य अवस्था जटिल रहेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।
उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत तत्काल काठमाडौं ल्याएर छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरी सघन उपचार (आईसीयू) जारी राखिएको छ।
त्यसैगरी, सुरुमा उद्धार गरिएका अर्का प्राविधिक सञ्जय साहको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ। उनको स्वास्थ्य स्थिति स्थिर रहे पनि थप स्वास्थ्य परीक्षण र निगरानीका लागि उनलाई पनि वीरेन्द्र सैनिक अस्पतालमै ल्याइँदै छ।
नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र प्राविधिक विज्ञहरूको संयुक्त टोलीले शुक्रबार बिहान जोखिम मोलेर दुवै जनालाई सुरुङभित्रबाट जीवितै बाहिर निकालेको थियो।
भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सुरुङभित्र कर्मचारीहरू थुनिएको आशंकामा सुरक्षाकर्मीहरूले बाढीलगत्तै लगातार खोजी तथा उद्धार कार्य तीव्र बनाएका थिए।
घटनास्थलमा सेनाले उनीहरूलाई तत्काल अक्सिजन र प्राथमिक उपचार प्रदान गरेर थप उपचारका लागि काठमाडौं पठाएको हो। सुरुङभित्र अन्य व्यक्तिहरू पनि फसेको हुनसक्ने भएकाले खोजी कार्य अझै जारी रहेको छ।
भदौ १९, २०८३ शुक्रबार १२:०८:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।