फेवातालमा कार खस्यो, दुई भारतीय नागरिकको मृत्यु

फेवातालमा कार खस्यो, दुई भारतीय नागरिकको मृत्यु

पोखरा : पोखरामा आज बिहान भारतीय नम्बर प्लेटको कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार मृत्यु हुनेमा भारत, बिहारको पूर्वी चम्पारण (रक्सौल) घर भएका २६ वर्षीय नवदीपकुमार यादव तथा पहिचान नखुलेका अन्दाजी ३० वर्षीय अर्का एक पुरुष रहेका छन्।

फेवातालबाट अचेत अवस्थामा उद्धार गरिएका उनीहरूलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनामा भारत, बिहारकै २७ वर्षीय अनमोलकुमार यादव र ३३ वर्षीय सुरज यादव घाइते भएका छन्। उनीहरूको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार बिहान करिब ४ः५० बजे सेदीबाट लेकसाइडतर्फ आउँदै गरेको बीआर ०५ बीबी ६७५९ नम्बरको कार अनियन्त्रित भई पोखरा-१८ गैरीचौतारा घुम्तीबाट फेवातालमा खसेको थियो।

दुर्घटनालगत्तै वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीको कमान्डमा १५ जना र सशस्त्र प्रहरी बलको २४ नम्बर कालिका गणबाट सशस्त्र प्रहरी निरीक्षक शरण खड्काको नेतृत्वमा १३ जनाको टोली पुगेर उद्धार गरेको थियो।

दुर्घटनाग्रस्त कारलाई क्रेनको सहायताले तालबाट बाहिर निकालिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको कास्की प्रहरीका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक दीपकप्रसाद रिजालले जानकारी दिए।

भदौ १९, २०८३ शुक्रबार १०:२३:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।