त्रिशूली-३ ‘ए’ सुरुङबाट जीवितै उद्धार गरिएका दुई जनालाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइयो
काठमाडौं : त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट सकुशल उद्धार गरिएका दुई जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ।
सुरुङभित्रबाट जीवितै बाहिर निकालिएका सञ्जय साह र कविर महर्जनलाई घटनास्थलमै नेपाली सेनाको स्वास्थ्य टोलीले प्राथमिक उपचारका साथै अक्सिजन दिएको थियो।
शाह मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजरको रुपमा उक्त आयोजनामा कार्यरत थिए।
उनीहरूलाई थप स्वास्थ्य परीक्षण र विशेषज्ञ उपचारका लागि काठमाडौं ल्याउन लागिएको ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री बिराजभक्त श्रेष्ठको सचिवालयले जानकारी दिएको छ।
यसअघि नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले सुरुङभित्र फसेका साह र महर्जनलाई केही समयको अन्तरालमा जीवितै उद्धार गर्न सफल भएको थियो।
सुरुङभित्रबाट आवाज आएपछि उद्धार टोलीले ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भनेको थियो भने भित्रबाट ‘हुन्छ’ भन्ने जवाफ आएको थियो। सोही संवादलाई पछ्याउँदै टोली सुरुङभित्र प्रवेश गरेर दुई जनालाई बाहिर निकाल्न सफल भएको हो।
सुरुङभित्र अझै अन्य व्यक्तिहरू पनि फसेको हुनसक्ने आशंका रहेकाले खोजी तथा उद्धार कार्य निरन्तर जारी राखिएको छ।
भदौ १९, २०८३ शुक्रबार ०९:४४:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।