बाढीको १० दिनपछि त्रिशूली-३ ‘ए’ सुरुङबाट सञ्जय साहको जीवितै उद्धार
काठमाडौं : त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूमध्ये एक जनाको सकुशल उद्धार गरिएको छ भने अर्का एक व्यक्ति पनि भित्र जीवितै रहेको पुष्टि भएको छ।
नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त उद्धार टोलीले सुरुङभित्रबाट मेकानिकल फोरम्यान सञ्जय साहलाई जीवितै बाहिर निकालेको हो।
इन्जिनियरसमेत रहेका सुरुङविद् एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद श्रीराम न्यौपानेले साहको जीवित उद्धार भएको र भित्र रहेका अर्का एक जना पनि जीवितै रहेको सूचना प्राप्त भएको पुष्टि गरेका छन्।
उनका अनुसार सुरुङभित्र अझै अन्य मानिसहरू पनि फसेको जानकारी आएकाले खोजी तथा उद्धार कार्यलाई थप तीव्रताका साथ अगाडि बढाइएको छ।
यसअघि सुरुङभित्र फसेकाहरूको अवस्था अज्ञात रहेका बेला उद्धार टोलीले भित्रबाट मानिस बोलेको आवाज सुनेको थियो।
टोलीले ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भनेपछि भित्रबाट ‘हुन्छ’ भन्ने प्रतिक्रिया आएको थियो। सोही संवाद र आवाजलाई पछ्याउँदै सुरुङभित्र पुगेको टोली साहलाई जीवितै उद्धार गर्न सफल भएको हो।
अहिले पनि उद्धार टोली सुरुङभित्रै खटिएर बाँकी व्यक्तिहरूको उद्धारमा जुटिरहेको छ।
भदौ १९, २०८३ शुक्रबार ०९:१४:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।