भोटेकोशी बाढी प्रभावित क्षेत्रसहित देशभर भारी वर्षाको सम्भावना
काठमाडौं : जल तथा मौसम विज्ञान विभागले भोटेकोशी बाढी प्रभावित क्षेत्रलगायत देशका विभिन्न भू-भागमा आज भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
विभागका मौसमविद् बिनु महर्जनका अनुसार बाढी प्रभावित जिल्ला रसुवाको पहाडी भू-भागमा आज दिउँसो भारी वर्षा र अन्य प्रभावित क्षेत्रहरूमा मध्यम वर्षाको सम्भावना छ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको छ। जसका कारण देशभर मौसम बदली रही कोशी, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
विभागका अनुसार पछिल्लो छ घण्टामा सबैभन्दा धेरै झापाको अनारमनी विर्तास्थित मौसम मापन केन्द्रमा ३४ मिलिमिटर वर्षा रेकर्ड भएको छ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। हिमाली भू-भागका केही तथा पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
यस्तै लुम्बिनी र सुदूरपश्चिमका तराईका धेरै स्थान तथा कोशी, बागमती, गण्डकी र मधेस प्रदेशका केही स्थानमा पनि मध्यम वर्षा हुनसक्नेछ। दिउँसो लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावनासमेत रहेको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भाग र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराईका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ।
त्यसैगरी, आज राति पनि देशभर मौसम सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भू-भागका केही स्थान र तराईका थोरै स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न भू-भागमा अझै तीन दिनसम्म मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।
भदौ १९, २०८३ शुक्रबार ०८:५१:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।