विश्वकपको सेयर बेच्ने योजनामा तगारो बनेको युइएफएमाथि फिफाले लगायो ‘बदनाम गर्ने षड्यन्त्र रचेको’ आरोप
काठमाडौं : विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले युरोपेली फुटबल महासङ्घ (युइएफए) माथि आफ्नो संस्था र नेतृत्वलाई बदनाम गर्न सुनियोजित अभियान चलाएको आरोप लगाएको छ।
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकपको केही सेयर निजी लगानीकर्तालाई बेच्न अघि सारेको योजना विवादमा परेपछि यी दुई ठूला फुटबल निकायबीचको विवाद अदालतसम्म पुगेको हो।
गत हप्ता युइएफएले अमेरिकी अदालतमा निवेदन दिँदै इन्फान्टिनोविरुद्ध स्विट्जरल्यान्डमा फौजदारी मुद्दा दायर गर्न आवश्यक कागजात र प्रमाण फिफासँग माग गरेको थियो।
युइएफएको आरोप अनुसार, अध्यक्ष इन्फान्टिनोले ‘फिफा फरवार्ड इन्टरप्राइज’ (एफएफई) नामको विवादास्पद योजनामार्फत विश्वकपको बजार मूल्य जानीजानी कम आँकेर निजी लगानीकर्तालाई बेच्न खोजेका थिए, जसबाट उनको व्यक्तिगत स्वार्थ जोडिएको थियो।
युइएफएको यो कदमपछि फिफाले अमेरिकी अदालतमा जवाफ पेस गर्दै ती आरोपहरूको खण्डन गरेको छ। फिफाले युइएफएको दाबी कानुनी रूपमा कमजोर रहेको भन्दै कागजात उपलब्ध गराउने प्रक्रिया तत्काल रोक्न माग गरेको छ।
फिफाका अनुसार निजी लगानी भित्र्याउने कुरा केवल एउटा ‘प्रस्ताव’ मात्र थियो, जुन सदस्य राष्ट्रहरूको बहुमत र फिफा काउन्सिलको स्वीकृतिबिना लागू हुनै सक्दैनथ्यो।
लोकतान्त्रिक प्रक्रियामा छलफल गर्नुको सट्टा युइएफएले फिफा नेतृत्वविरुद्ध हिलो छ्याप्ने काम गरेको आरोप फिफाको छ। साथै, फिफाले उल्टै युइएफएमाथि प्रश्न उठाउँदै भनेको छ, ‘साना तथा विकासशील देशहरूले फुटबलमा आर्थिक रूपमा फड्को मारेर युरोपेली क्लबहरूसँग प्रतिस्पर्धा गर्लान् र आफ्नो बजार गुम्ला भन्ने डरले युइएफएले यो योजनाको विरोध गरेको हो।’
के थियो योजना ?
फिफाको यो योजनाअन्तर्गत अमेरिकी व्यवसायी जोसुवा कुश्नर (डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुश्नरका भाइ) को कम्पनीमार्फत करिब ४.२ अर्ब डलर लगानी भित्र्याउने तयारी थियो।
फिफाको दाबी अनुसार यसबाट आउने रकमले साना देशहरूलाई दिइने फुटबल विकास बजेट दोब्बरभन्दा बढी बनाउन सकिन्थ्यो। तर, यो योजना सार्वजनिक हुनासाथ चर्को विरोध भएपछि गत जुलाईमै यसलाई रद्द गरिएको थियो।
विवाद अदालतसम्म पुगेपछि लगानीकर्ता कुश्नरले फुटबलको भित्री राजनीतिबारे आफूलाई पहिले ज्ञान नभएको र यस्तो अवस्था आउने थाहा पाएको भए आफू यसमा सामेल नै नहुने भन्दै पछुतो व्यक्त गरेका छन्।
योजना रद्द भइसके पनि युइएफएले कानुनी कारबाही अघि बढाउने तयारी नरोकेपछि फिफा अध्यक्ष इन्फान्टिनोमाथि राजीनामा दिन दबाब बढ्दै गएको छ।
भदौ १९, २०८३ शुक्रबार ०७:५६:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।