त्रिशूली-३ ‘ए’ सुरुङभित्रबाट सुनियो मानिसको आवाज : उद्धार टोलीले भन्यो- ‘नआत्तिनुहोस्’, भित्रबाट जवाफ आयो- ‘हुन्छ’
काठमाडौं : त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको खोजी तथा उद्धार कार्य जारी रहँदा भित्रबाट मानिसहरूको आवाज सुनिएको छ।
उद्धार टोली र सुरुङभित्र थुनिएका व्यक्तिहरूबीच छोटो संवादसमेत भएको पुष्टि भएको छ।
उद्धारमा खटिएको टोलीलाई उद्धृत गर्दै सांसद एवम् सुरुङविद् श्रीराम न्यौपानेले सुरुङभित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज आएको जानकारी दिएका छन्।
उनका अनुसार उद्धार टोलीले भित्र आवाज दिँदै ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भनेपछि भित्रबाट ‘हुन्छ’ भन्ने प्रतिक्रिया आएको छ।
सांसद न्यौपानेले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिनु उद्धारका लागि निकै ‘आशाजनक सङ्केत’ भएको उल्लेख गरेका छन्।
हाल नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोली सुरुङभित्र प्रवेश गरेर उद्धार कार्यलाई तीव्र गतिमा अघि बढाइरहेको छ।
इन्जिनियर तथा सुरुङविद्को भूमिकासमेत रहेका सांसद न्यौपाने हिजो साँझसम्म घटनास्थलमै खटिएर उद्धार कार्यमा प्राविधिक रूपमा सहजीकरण गरिरहेका थिए।
तर उद्धार कार्यमा सांसदहरूले गएर अहसयोग गरेको भन्दै विपक्षीले आलोचना गरेपछि पार्टीले उनी लगायत अर्का सांसद् तथा इन्जिनियर सागर ढकाललाई फर्किन निर्देशन दिएको थियो।
उनले अब हेलिकप्टर प्रयोग नगरी पैदल जनसंवाद गर्दै नुवाकोटको विदुरसम्म पुग्ने र त्यहाँबाट गाडीमार्फत काठमाडौँ फर्कने तयारीमा रहेको बताएका छन्।
भदौ १९, २०८३ शुक्रबार ०७:२८:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।