श्रीकृष्ण जन्माष्टमी मनाइँदै

श्रीकृष्ण जन्माष्टमी मनाइँदै

काठमाडौं : वैदिक सनातन धर्मावलम्बीहरूले आज ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको पूजा-आराधना गरी ‘श्रीकृष्णजन्माष्टमी’ पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्।

द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भगवान् विष्णुको आठौँ अवतारका रूपमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानव जातिको रक्षा गर्न जन्मनुभएका श्रीकृष्णले महाभारत युद्धका क्रममा अर्जुनलाई दिएको उपदेश नै प्रसिद्ध ‘श्रीमद्भगवद्गीता’ हो। आजको रातलाई ‘मोहरात्रि’ समेत भनिन्छ।

पर्वका अवसरमा पाटनको मङ्गलबजारस्थित ऐतिहासिक कृष्णमन्दिर, काठमाडौँको कागेश्वरी मनोहरास्थित नवतनधामलगायत देशभरका कृष्ण मन्दिरहरूमा बिहानैदेखि पूजाआजा र दर्शनका लागि भक्तजनको ठूलो घुइँचो लागेको छ।

श्रद्धालुहरू दिनभर व्रत बसी भजनकीर्तन र रातभर जाग्राम बस्ने गर्दछन्। पर्वकै अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदासमेत दिएको छ।

यसैबीच, राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना सन्देश दिँदै भगवान् श्रीकृष्णले दिएको निष्काम कर्म, सत्य र न्यायको सन्देश आजको समाजका लागि पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन्।

त्यस्तै, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यो पर्वले आपसी सद्भाव र भाइचारा बढाउने उल्लेख गर्दै देशमा आइपरेको प्राकृतिक विपद्को घडीमा एकजुट भई राहत र पुनःस्थापनामा जुट्न सबैलाई आह्वान गरेका छन्।

भदौ १९, २०८३ शुक्रबार ०७:२३:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।