भोटेकोशीको भेलमा परिवारका नौ सदस्य गुमाएका तीन पुस्ता !

भोटेकोशीको भेलमा परिवारका नौ सदस्य गुमाएका तीन पुस्ता !

काठमाडौं : ५ वर्षीय आरुष तामाङलाई भदौ १० गते बिहानसम्म २५ वर्षीया आमा अविशा साथमै थिइन् भन्नेबाहेक अरू केही याद छैन। त्यसदिन भोटेकोशीको बेगसँगै आएको बाढी र बालुवाले डामेका दागहरू उनको अनुहारमा अझै पनि प्रस्टै देखिन्छन्। तर, त्यतिबेलासम्म सँगै रहेकी आमा अहिले उनको साथमा छैनन्।

दिसामा बालुवा आउने, एकदम रिसाउने, राति सुत्दा तर्सिने र खेल्दाखेल्दै टोलाउने- पछिल्लो एक हप्तादेखि आरुषको अवस्था यस्तै छ। उनका आँखा र अँगालोले हरपल आमालाई खोजिरहन्छन्। तर, रसुवामा उर्लिएको खोलाको भेलले उनकी आमालाई कहाँ पुर्यायो, कसैलाई अत्तोपत्तो छैन।

भदौ १० को बाढीले आरुषको परिवारलाई निर्ममतापूर्वक उजाडिदियो। बाढीबाट भागेर उनको परिवारका तीन पुस्ताले आफूलाई त बचाए, तर उनीहरूको दुःखद कथा भने बचेर पनि सकिएको छैन।

घर गुमेपछि बासको खोजी, जन्मथलो, गाउँ, परिवेश र जीवन नै एकैपटक बगाएको क्षण- यो एउटा यस्तो खतरनाक विपत्ति हो, जसलाई बाँचेका तीन पुस्ताले आफ्नै तरिकाले सम्झिरहनेछन्।

यसै विपत्तिमा उनीहरूले परिवारका नौ जना सदस्य गुमाएका छन्। यो तिनै तीन पुस्ताले सङ्घर्ष गरेर पाएको नयाँ जीवनको कथा हो, जसको गन्तव्य अब कता मोडिन्छ, उनीहरू आफैँ बेखबर छन्।

आमाको पर्खाइमा तर्सिरहने आरुष
अनुहारभरि घाउका खत बोकेका आरुषको साथमा अहिले बुवा र हजुरबुवा छन्, तर आमा छैनन्। बाढीबाट उनी कसरी बाँचे भन्नेमा परिवार अझै पनि अनभिज्ञ छ।

भदौ १३ गते मात्र उनको बुवा र हजुरबुवासँग भेट भएको थियो। बेत्रावतीमा रहेको आफ्नो सन्तान कसरी उद्धार भए? कसरी बाँचे? दुई दिनसम्म काठमाडौँको ट्रमा सेन्टरमा एक्लै कसरी बसे? यी प्रश्नहरूको जवाफ उनका बुवा दावामेन तामाङले अझै पाउन सकेका छैनन्।

“काठमाडौँको अस्पतालमा छ भन्ने सुनेँ। बाढी आएको तेस्रो दिनमा भेट्दा बच्चा एकदम निन्याउरो भएको रहेछ, बोलेकै थिएन,” आरुषलाई सुम्सुम्याउँदै उनले भने, “मलाई देखेपछि उसको अनुहार अलि उज्यालो भयो। म सँगै उसकी ममीलाई पनि देख्न पाएको भए उसको अनुहार अझै उज्यालो हुन्थ्यो कि !”

बाबुछोराको भेट हुँदा आरुषको स्वास्थ्य अवस्था पूर्ण रूपमा सुधार भइसकेको थिएन। गाउँकै स्वास्थ्यचौकीमा उपचार सम्भव नभएपछि काठमाडौं पठाएको खबरले दावामेन निकै आत्तिएका थिए। साथमा कोही नभएको थाहा पाएपछि उनले काठमाडौंमा रहेका आफन्तलाई अस्पतालमा बुझ्न गुहारेका थिए।

आफन्तले अस्पतालमा आरुषलाई भेटेपछि बल्ल दावामेनको सासमा सास आएको थियो। सुरुमा राम्रोसँग बोल्नसमेत नसकेका आरुष अहिले अलि खुलेर बोल्न र खेल्न थालेको दावामेनले बताए। बालुवा मिसिएको बान्ता आउन पनि कम हुँदै गएको छ। अहिले उनी एकछिन पनि आफ्नो सन्तानलाई एक्लै छाड्दैनन्।

सुरुङभित्र बेहोस, ब्युँझिँदा श्रीमती बगेको खबर !
दावामेन मैलुङस्थित माथिल्लो त्रिशूली २१६ जलविद्युत् आयोजनामा मजदुरी गर्थे। हाइड्रोपावरकै कारण विस्थापित समेत भएका उनी डेढ वर्षदेखि त्यहीँ काम गर्दै आएका थिए। श्रीमती अविशाले पनि सोही कार्यालयमा सरसफाइको काम पाएकी थिइन्।

बाढी आएको दिन उनी काममा पुगिसकेका थिए। सुरुङको मुखमा बसेर त्यस दिनको काम सुरु गर्ने तयारीमा रहेका उनले एक्कासि पानीको भेल आएको देखे। बाढीग्रस्त क्षेत्रमै हुर्किएका उनलाई बाढीको स्वभाव राम्ररी थाहा थियो। त्यसैले, उनले हतारहतार श्रीमतीलाई फोन गरे।

तर, श्रीमतीसँग कुरा हुन नपाउँदै पानीको सतह निकै माथि आएपछि उनी भागेर सुरुङको पछाडिको भागमा पुगे।

“हामी बाढीबाटै विस्थापित भएका हौँ नि ! तर, अहिलेसम्म यस्तो बाढी मैले देखेको थिइनँ। एकैछिनमा बगाएर मान्छे मार्ने बाढी थियो। म त बेहोस भएछु, पछि साथीहरूले भिरमा लगेर राखेका रहेछन्,” उनले भने।

उनका अनुसार बाढीको वेग यति तीव्र थियो कि केही बेरमै सुरुङभित्र शवहरू तैरिन थालेका थिए। सुरुङबाट बाहिर निस्केर भिरमा बसेका उनीहरूलाई साँझपख मात्र हेलिकप्टरले उद्धार गरेको थियो। त्यही बेला उनले आफ्नी श्रीमतीलाई बाढीले बगाएको खबर सुने।

खबर सुन्नेबित्तिकै उनी आरुषलाई खोज्न थाले। छोरालाई पनि बेत्रावतीमा बगाएको सुनेपछि उनी झन् आत्तिए। “आफू बल्लबल्ल बाँचियो, उसकी ममी छैन। उ (छोरा) आफैँ निकै गाह्रो अवस्थामा छ भन्ने सुनेपछि मलाई धेरै डर लाग्यो,” उनले सुनाए।

मैलुङबाट डोजरमार्फत उद्धार भएपछि उनी खड्कुमा बास बसे। त्यहाँबाट बिहानै पाँच बजे हिँडेका उनी दिउँसो १२ बजे नुवाकोट पुगे। नुवाकोटकै एउटा स्कुलमा रात बिताएका उनी भोलिपल्ट छोरा खोज्दै नजिकैको सेनाको ब्यारेकमा पुगे। तर, त्यहाँ उनले न आफ्नो सन्तान भेटे, न त उनको नाम नै।

ब्यारेकमा बसेर बट्टार जाने तरखर गर्दै गर्दा उनले आफ्ना बुवा निमासिङ्गी तामाङलाई भेटे। दुवै बाबुछोरा मृत्युलाई जितेर आएका थिए।

तर, उनीहरू खुसी हुनुको साटो परिवारका नौ जना सदस्यलाई खोलाले बगाएको खबरले गहिरो शोकमा डुबे। बाढीले दावामेनका जेठा दाजुको चार जनाको परिवार, जेठी दिदीको चार जनाको परिवार र आफ्नै श्रीमती गुमाएको हृदयविदारक खबर उनले बुवासँग साटे।

“बा आफैँ पूरै हिलोमा लतपतिएर सुकेको अनुहार लगाउँदै हिँड्नुभएको रहेछ। कति दिनदेखि खाना नखाएको जस्तो देखिनुहुन्थ्यो। बाढी आएको तेस्रो दिन हामीले एकअर्कालाई भेट्यौँ। तर, हामीले एकअर्कालाई जीवित देखेर पनि खुसी हुन सकेनौँ,” नजिकै बसेका बुवालाई हेर्दै दावामेनले सुनाए।

उनले आफूसँग बचेको कपडा बुवालाई लगाउन दिए। सेनाले उद्धार गरेर बट्टार लैजाने भने पनि अत्यधिक भिडका कारण उनीहरू दिउँसो एक बजे मात्र त्यहाँबाट हिँड्न पाए। बट्टार पुगेपछि भने हाइड्रोपावर कम्पनीले नै उनीहरूलाई काठमाडौंल्याइदियो।

विपत्तिले लखेटिरहेको निमासिङ्गीको जीवन
५९ वर्षीय निमासिङ्गी आफ्नो घरभन्दा माथि पैरिवेशीमा अर्काको जग्गामा खेतीपाती र गोठालो गरेर जीवन गुजार्दै आएका थिए। भदौ १० गते सदाझैँ उनी सबेरै उठेर पैरिवेशी पुगिसकेका थिए। गाउँमै घेवा (काजकिरिया) मा जानुपर्ने भएकाले वस्तुभाउको काम सकाएर बाँध्न लाग्दा उनलाई बाढीले छोप्यो।

सम्पत्तिको नाममा रहेको त्यही एक हल गोरु जोगाउन उनी आत्तिएर भिरमाथि उक्लिँदै गए। तल हेर्दा केही पनि बाँकी नदेखेपछि उनी छाँगाबाट खसेजस्तै भए। त्यही भिरमा रहेको घरमा उनले नाम्लो मागे। एउटा डोरी पाएपछि उनले फनफनी रूखमा गोरु बाँधे र कुनामा गएर डाँको छाड्दै गुहार मागे।

“म भिरमा गएको भएर बाँचेँ। नत्र मलाई पनि गाउँलाई बढारेजस्तै गर्ने रहेछ। हेर्दाहेर्दै सबै सोत्तर पार्ने बाढी आयो,” निमासिङ्गीले त्यस दिनको घटना सम्झिँदै भने, “अस्ति भर्खर किनेको ६० हजारको हाते ट्याक्टर थियो, ५० बोरा जति मकै थियो, सब लग्यो। परिवारकै नौ जना लग्यो। सबै कुरा एकैपटक याद आएपछि म भिरमाथि गएर गुहार माग्न थालेँ।”

श्रीमती बितेपछि उनले आफ्ना पाँच सन्तानलाई एक्लै हुर्काउँदै आएका थिए। २०७२ सालको भूकम्पबाट विस्थापित भएपछि राहतको सामग्रीले सानो जस्ताको टहरा बनाएर बसेका थिए। तर, गाउँमा हाइड्रोपावर बनाउन ब्लास्टिङ गर्दा पहाड चर्किएर तलको गाउँ नै विस्थापित भयो।

त्यसपछि उनीहरू खाल्टेमा बस्दै आएका थिए। विस्थापितलाई हाइड्रोले क्षतिपूर्ति दिने भनिए पनि आफूहरूले एक रुपैयाँ नपाएको उनले गुनासो गरे।

“हामी त सधैँ विस्थापित भइरह्यौँ, बारम्बार। कहिले बाढी आउने, कहिले भूकम्प आउने, कहिले हाइड्रो आउने,” उनले भने, “बाढी आइरहने भएपछि छोराहरू बाढी नआउने ठाउँमा डेरा सरेका थिए। तर, अहिले त्यो घरसहित कुनासम्म बाढीले केही पनि बाँकी राखेन।”

त्रिशूली खोला नजिकै बस्ती भएका कारण बाढीले उनीहरूको खेतबारी बगाउँदै आएको थियो। तर, यसपटक भने पूरै गाउँ र आसपासको क्षेत्रसमेत बगाएको देखेर उनीहरू विक्षिप्त छन्।

“मैले भिरको जङ्गलमा मेरा बस्तुभाउ बाँधेर आएको थिएँ। ती मरे होलान्। म त्यसपछि त्यहाँ जान सकेको छैन, मलाई उनीहरूको पाप लाग्छ होला,” उनले भावुक हुँदै सुनाए।

कान्छा छोरा सुरक्षित रहेको खबर उनले पाइसकेका छन्। तर, विपद्को एक हप्ता बितिसक्दा पनि उनले आफ्नो कान्छो सन्तानलाई भेट्न पाएका छैनन्।

भोकभोकै हिँडेर भेटिएका बाबुछोरा
वस्तुभाउलाई भिरमा बाँधेर उनी परिवारलाई खोज्दै खाल्टेभन्दा माथि बनुवा घुम्ती पुगे। त्यहाँ पुग्दासम्म उनले बाटोमा कोही पनि देखेनन्। त्यसपछि नजिकैको विद्यालयमा पुगे। त्यहाँ केही बालबालिका त देखे तर आफ्नो नाति र आफन्त कोही भेटेनन्। खाल्टेका कोही पनि त्यहाँ नदेखेपछि उनी आत्तिएर पाइला चाल्दै अघि बढे।

“हाम्रो खाल्टेमा दुई/तीन सय छाप्रा थिए होलान्, मैले त गाउँको मान्छेनै देखिनँ,” उनी भन्छन्, “हाम्रो खाल्टे मात्र होइन, बेत्रावती नै सबै लगेछ। त्यसबेला बाटोमा हाम्रो ठाउँबाट घण्टी चिह्न लिएर उठेका वसन्त भट्टलाई भेटेँ। उनीहरूको पनि सबै बगाएछ। उनले घरमा बस्न दिए, त्यो रात त्यहीँ बित्यो।”

रास्वपाबाट रसुवा ‘क’ का उम्मेदवार रहेका भट्टको आश्रयमा पानीमा रुझ्दै त्रिपाल ओढेर उनले हिलो शरीरसहित रात कटाए। बिहान सबेरै उनी त्यहाँबाट निस्किए। भोकभोकै हिँड्दै बोगटीटारसम्म पुग्दा पनि आफन्त कोही भेटेनन्। नातिको अवस्था चिन्ताजनक छ भन्नेसम्म मात्र उनले थाहा पाए।

हिँड्दाहिँड्दै उनी नुवाकोट पुगिसकेका थिए। बेत्रावतीमा छोराबुहारी डेरा बसेको घर नै उनले भेटेनन्। त्यहाँबाट केराघारी हुँदै विदुर, नुवाकोट दरबारसम्म उनी हिँडेरै पुगे। नुवाकोट दरबारबाट भने उनले गाडीको सहयोग पाए, जसले उनलाई विदुर चोकसम्म छाडिदियो।

“खल्तीमा एक रुपैयाँ थिएन, केही खाएको थिइनँ। कपडा हिलोले कटकटिएका थिए। विदुर आएर नातिको अवस्थाबारे सोध्दा काठमाडौं लग्यो भने। त्यही बेला मैले मेरो माइलो छोरालाई ब्यारेकमा भेटेको हुँ,” उनले दावामेनलाई हेर्दै भने।

तीन दिनपछि आफ्नो मान्छे भेट्दा उनीहरूलाई अलिकति भए पनि राहत मिल्यो। त्यसपछि उनीहरू आरुषलाई खोज्दै काठमाडौंआए। अस्पतालमा बिरामी छोरा र नाति देखेपछि दुवै जनाको आँखामा आँसु टिलपिलायो। लगातारको हिँडाइले शरीर कति गलेको रहेछ भन्ने उनीहरूले काठमाडौंआएपछि मात्र थाहा पाए।

अहिले आरुष अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। तर, कानबाट बालुवा अझै पूर्ण रूपमा निस्किसकेको छैन। बाढीमा हराएकी अविशाका बुवाको बालाजुस्थित डेरामा उनीहरूले आश्रय लिएका छन्।

स्वास्थ्य अवस्था सामान्य हुँदै गएपछि निमासिङ्गीलाई आफूले बाँधेर राखेका वस्तुभाउको यादले सताउन थालेको छ। बट्टारसम्म कसैले पुर्याइदिए, हिँडेरै भए पनि त्यहाँ पुग्ने उनको सोच छ।

तर, छिनछिनमा बाढी आएको खबरले गर्दा यहाँका आफन्तले उनलाई जान दिएका छैनन्। उनीहरूले हराएका परिवारका सदस्यहरूको नाम सम्बन्धित निकायमा टिपाइसकेका छन्।

“उहाँहरूको स्थिति एकदम नाजुक थियो। एउटा गन्जी र कट्टुको भरमा बेहाल अवस्थामा काठमाडौं आइपुग्नुभएको थियो। जे भए पनि बाँच्नुभयो, अब त्यहाँ केही पनि बाँकी छैन। यस्तो अवस्थामा गाउँ जाँदा झन् गाह्रो होला भनेर हामीले तत्काल नजानु भनेका छौँ,” आश्रय दिइरहेका आफन्तले भने, “अवस्था सामान्य नभएसम्म त यहाँ बस्नै परिहाल्यो नि ! राज्यले अब टुहुरा भएको यति सानो नानीको भविष्यबारे सोचिदेओस्। उसको पढाइ र स्वास्थ्यको जिम्मा राज्यले लियो भने हामीलाई धेरै सहज हुने थियो।”

भदौ १८, २०८३ बिहीबार ०८:०८:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।