डोजरले खोसेको आश्रय : युरिन ब्यागको सहारामा बनेपाको होल्डिङ सेन्टरमा तोयनाथको छटपटी
काठमाडौं : काठमाडौंको बालाजुस्थित सुकुमबासी बस्तीमा डोजर चलेपछि विस्थापित भएर काभ्रेको बनेपास्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका ६५ वर्षीय तोयनाथ मिश्रले उकेराकर्मीसँग आफ्नो मनको बह खोल्दै भने “ घर भत्काउने दिन त घर आगो लगाएर त्यसैमा हाम फालौँ कि जस्तो लागेको थियो। मरौं भनेको, मरिहाल्न पनि नसकिने रहेछ। सास हुन्जेल आस हुन्छ भन्छन्।”
सरकारले उनलाई बालाजुबाट उठाएर काभ्रेको नेपाल रेडक्रस सोसाइटीको राष्ट्रिय प्रशिक्षण केन्द्रमा पुर्याएको छ। मिश्र शारीरिक रूपमा निकै कमजोर छन्। उनको शरीरमा एक वर्षदेखि तुन्रुङ्ग युरिन ब्याग (पिसाब थैली) झुन्डिएको छ। उनी जहाँ गएपनि एक हातले युरिन ब्याग समात्दै हिँड्नुपर्छ। शरीरमा पिसाब नअडिएपछि एक वर्षदेखि उनी युरिन ब्यागको साहारामा छन् ।
बालाजुको सुकुमबासी बस्ती भत्काएर व्यवस्थापन गर्ने भन्दै बनेपा पुर्याइएका तोयनाथलाई प्रशिक्षण केन्द्रको पाँचौँ तलामा राखिएको छ। राम्रोसँग हिँडडुल गर्न समेत नसक्ने उनलाई शौचालयको नजिक छ भनेर माथिल्लो तलामा राखियो तर त्यसले थप सास्ती भयो।
"मलाई पिसाब नरोकिने समस्या छ। यहाँ आएदेखि झन् गाह्रो भयो। मैले कर्मचारीहरूलाई मलाई यस्तो समस्या छ, शौचालय नजिकैको कोठामा राखिदिनुस् भन्दा माथिल्लो तलामा राखिदिए," उनले उकेराकर्मीसँग भने।
दुईवटा कोठाका लागि एउटा मात्र शौचालय भएकाले उनलाई केही सहज त भएको छ, तर माथिल्लो तलामै बस्नुपर्दा आवतजावत गर्न सकेका छैनन्। केन्द्रको नियमअनुसार घण्टी बज्नेबित्तिकै खाना र खाजा खान भुइँतलामा झर्नैपर्छ। यस्तो अवस्थामा उनलाई हिँडडुल गर्न निकै गाह्रो छ। धन्न साथमा एकजना साथी भएकाले केही राहत मिलेको बताए।
चार सन्तानका बुबा तोयनाथको श्रीमतीले अर्कैसँग विवाह गरेर गइन। छोरीहरू विवाह गरेर गए, छोराहरू आफ्नै परिवारसँग बस्छन्। शारीरिक रूपमा अशक्त हुँदा पनि तोयनाथ आफ्नो दुःखको भार छोराछोरीलाई बोकाउन चाहँदैनन्। अनि एक्लै भए।
“आफ्नो शरीर यस्तो छ। अरूलाई गन्हाउँछ। किन दुख दिने। उनीहरू आफ्नै परिवारसँग सुखले बसेका छन्। मेरो शरीरको गन्धले गाह्रो होला भनेर उनीहरूसँग नबसेको। आफै कमाउने आफै खाने गर्थे” उनले भावुक हुँदै भने।
यो रोगले उनलाई दुःख दिएको धेरै वर्ष भयो। सुरुमा पिसाब चुहिने समस्या भएपछि उनी शिक्षण अस्पताल (टिचिङ) गएका थिए। तर, त्यहाँ जाँचका क्रममा चिकित्सकले अङ्गमा हात लगाएपछि उनलाई लाज लाग्यो र त्यसपछि अस्पताल नै गएनन्। त्यसपछि फेरि वीर अस्पताल पुग्दा चिकित्सकले पाइप हाल्नुपर्छ भनेपछि उनी त्यहाँबाट पनि भागे। लाजकै कारण समयमै उपचार नहुँदा उनको रोग झन् बढ्दै गयो।
त्यसपछि नरदेवी अस्पतालमा उपचार गराउँदा केही निको भएको थियो, तर डाक्टरले लेखिदिएको औषधीको कागज हराएपछि रोग पुनः बल्झियो।
उनी भन्छन्, “नरदेवी अस्पताल गएँ। डाक्टरले यसो नारी छामेर दबाइ लेखिदिए, त्यही दबाइ अलि-अलि पाउँदो रहेछ, फ्रीमा। अनि त्यो फ्रीमा पनि ल्याएँ, अनि किन्नुपर्ने एउटा थियो। त्यसको १५०० रुपैयाँ पर्थ्यो”, उनी थप भन्छन्, “त्यो खाएपछि ठिक भइसक्या थियो। अब खाँदै थिएँ त्यो कागज हरायो। पुरा दबाइ पनि गरिएन। फेरी पोहोर देखी बल्झियो। जसोतसो जिन्दगी चलाईराखेको थिए। अहिले यस्तो भयो।"
सडकमा पानी बेचेर ठड्याएको छाप्रो
२०३४ सालमा जम्मा १७ वर्षको उमेरमा झापाको विपन्न परिवारबाट काठमाडौँ छिरेका उनले जीवनमा धेरै हन्डर खाए। त्यसैको प्रभावले होला, उमेरले ६५ वर्ष पुगेका तोयनाथको शरीर झन्डै ८० वर्षको वृद्धको जस्तो देखिन्छ।
उनी आफ्नो विगत सम्झँदै भन्छन्, “०३७ सालमा म काठमाडौं आएँ। सुरुमा आउँदा सुतिको धागो काटेँ। त्यसपछि मार्बल पसलमा जागिर गरेँ। अनि बसपार्कमा व्यापार गरेँ। त्यस्तै मिनीबोटलहरु लिएर हिँडे। त्यहाँबाट होटेल लाइनमा काम गरियो। मान्छेहरू बोलाएर होटेलमा पुर्याइदिने” उनले भने।
२०५८ सालदेखि एक्लै बसेका तोयनाथलाई आफैले काम नगरे सुखै थिएन। उनले सडकमा पानी बेच्दै छाक टारे। उनले मार्बल पसल, होटेल र बसपार्कमा गाडीहरूमा मिनिरल वाटर बेचेर बालाजुमा सानो छाप्रो हालेका थिए। छाप्रो हालिकसेपछि भने उनले आफ्नै सानो पसल हाल्न साइकलमा दूध बेच्ने र कोक बेच्ने काम समेत गरे। यहीबाट बचत गरेको २० हजार रुपैयाँबाट एउटा सानो पसल पनि राखे। पसलबाट भएको नाफाबाट पसल बढाउने सोचमा थिए।
तर त्यो सपना पूरा नहुँदै उनको ३० वर्षको पसिनामाथि सरकारले डोजर चलायो। बुढेसकालमा सुख पाउने आसमा ३० वर्ष सङ्घर्ष गरेर बनाएको सम्पत्तिमा सरकारले डोजर चलाइदिएपछि उनी आक्रोशित र चिन्तित छन्।
“अलि-अलि गर्दै, कमाएर, त्यता टाल्दै, यता टाल्दै, उता टाल्दै, गरेर चाहिँ अलि खान सक्ने जस्तो बनाएको थिएँ। अब अहिले त्यो पनि उठाइदियो सरकारले। अब न काम गर्ने बल छ न अन्य उपाय ” उनले भने।
बालाजुमा रहेको सुकुमबासी बस्ती भत्काएपछि सरकारले उनीहरूलाई व्यवस्थापन गर्ने भन्दै बनेपा पुर्यायो। बस्ती भत्काएको १५ दिनभित्र उचित व्यवस्थापन गर्ने आश्वासन दिइएको थियो। तर अहिलेसम्म सरकारले कुनै योजना ल्याएको छैन।
जेठ १५ गतेको बजेट भाषणमा सुकुमबासी समस्या समाधान गर्ने भनिए पनि तोयनाथजस्ता असहायका लागि कुनै निश्चित निर्णय हुन सकेको छैन।
सरकारले व्यवस्थापन नगरे के गर्नुहुन्छ ? उनी भन्छन्, "व्यवस्थापन नगरे रोडमै जाउँला, त्यो भन्दा अरू उपाय के छ र मसँग? रोडमा पानी बेचौँला, नदिए मागेर खाउँला। सरकारले नै त्यस्तै बनाइदिएको छ।”
जेठ १८, २०८३ सोमबार १५:२४:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।