आधा घण्टाअघि एसएमएस पठाएको प्रधानमन्त्रीको दाबी, विज्ञ भन्छन्- ‘पहिले बाढी अनि म्यासेज’
काठमाडौं : विनाशकारी भोटेकोशी बाढीका विषयमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सार्वभौम संसद्मा झुटो विवरण पेस गरेका छन्।
बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा ‘आधा घण्टाअघि नै ११ लाखभन्दा बढी एसएमएस पठाएर पूर्वसूचना दिइएको’ दाबी गरेका थिए।
तर, सरकारकै जिम्मेवार निकाय जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका प्रमुख एवं वरिष्ठ जलविज्ञान विज्ञ विनोद पराजुलीले भने अतिप्रभावित क्षेत्रमा बाढी आइसकेपछि मात्रै एसएमएस गएको बताएका छन्।
हिमालय टेलिभिजनको कार्यक्रम ‘यक्ष प्रश्न’मा विज्ञ पराजुलीले अतिप्रभावित रसुवा र माथिल्लो नुवाकोटमा पूर्वसूचना प्रणाली पूर्ण रूपमा असफल भएको र बाढीले तहसनहस पारिसकेपछि मात्रै एसएमएस डेलिभर भएको बताएका छन्।
यसले प्रधानमन्त्रीले तल्लो तटीय क्षेत्र (धादिङ, चितवन) मा पठाइएको सूचनालाई सामान्यीकरण गर्दै संसद्लाई ढाँटेको स्पष्ट भएको छ।
संसद्मा प्रधानमन्त्री शाहले सरकारको बचाउ गर्दै भनेका थिए, ‘मानव सभ्यताले भोगेकोमध्ये यो ठूलो घटना हो। यो विपद् पूर्वानुमानभन्दा बाहिरको कुरा हो। बाढी आउँदै गरेको सूचना पाएलगत्तै हाम्रा सुरक्षाकर्मीहरू स्थानीयहरूलाई सतर्क बनाउन खटिनुभएको थियो। त्यसबेला उहाँहरू समेत बेपत्ता हुनुभएको छ। नेपाल सरकारबाट लगभग ११ लाखवटा भन्दा बढी एसएमएसहरू प्रभावित क्षेत्रहरूमा आधा घण्टाभन्दा अगाडि नै पठाइएको थियो।’
विज्ञ पराजुलीको तथ्य : कहाँ, कति बजे गयो एसएमएस ?
बाढी पूर्वानुमान महाशाखाका प्रमुख पराजुलीले टेलिभिजन अन्तर्वार्तामा प्रस्तुत गरेको ‘टाइमलाइन’ले प्रधानमन्त्रीको ‘आधा घण्टाअघिको दाबी’ लाई सीधै झुट बोलेको पुष्टि गर्छ।
पराजुलीका अनुसार बिहान ८:५८ बजे मात्र विपद् प्राधिकरणका प्रमुखबाट बाढीको पहिलो सूचना महाशाखालाई प्राप्त भएको थियो। ९ बजे स्याफ्रुबेंसी क्रस गरेर बाढी तल झरिसकेको पुष्टि भयो।
टेलिकम कम्पनीहरूसँग समन्वय गरेर ९ बजेर १५ मिनेटमा मात्र पहिलो चरणको एसएमएस डेलिभर भयो। अर्थात्, स्याफ्रुबेंसी लगायतका माथिल्लो क्षेत्रमा बाढीले तहसनहस पारेको १५ मिनेटपछि मात्रै मोबाइलमा ‘बाढी आउँदैछ, सुरक्षित रहनुहोस्’ भन्ने म्यासेज पुगेको थियो।
नुवाकोटको बेत्रावतीमा ९ बजेर २० मिनेटमा बाढी आइपुग्यो, जबकि त्यहाँ ९ बजेर १४ मा मात्र एसएमएस पुगेको थियो। त्यहाँका नागरिकले प्रधानमन्त्रीले भनेजस्तो आधा घण्टा होइन, जम्मा ६ मिनेट अगाडि मात्र म्यासेज पाएका थिए।
त्रिशूली र विदुर क्षेत्रमा बाढी पुग्नुभन्दा १४ मिनेट अगाडि मात्र म्यासेज पुगेको थियो भने धादिङको गल्छी पुग्दा एक घण्टा १० मिनेट र मुग्लिन/चितवन पुग्दा भने ७ घण्टा अगाडि नै म्यासेज पुगेको थियो।
प्रधानमन्त्रीले किन बोले झुट ?
पराजुलीको टाइमलाइनले धादिङ, चितवन र नवलपरासी जस्ता तल्लो तटीय क्षेत्रमा मात्र बाढी पुग्नुभन्दा आधा घण्टादेखि ७ घण्टा अगाडि म्यासेज पुगेको थियो। तर, जनधनको सबैभन्दा ठूलो क्षति भएको रसुवा र माथिल्लो नुवाकोटमा सरकारको पूर्वसूचना प्रणालीले काम नै गरेन।
प्रधानमन्त्री बालेन शाहले तल्लो तटीय क्षेत्रको तथ्याङ्कलाई लिएर समग्र बाढी प्रभावित क्षेत्रमै ‘आधा घण्टा अगाडि ११ लाख एसएमएस पठाएको’ भन्दै संसद्मा झुट बोलेका हुन्।
विज्ञ पराजुलीले विहान ९ बजेर १५ मिनेटमा सूचना पुगेको भन्दा प्रधानमन्त्री शाहले बुधबारको संसद् बैठकमा उभिएर विहानको ९ बजेर ३५ मिनेटमा बाढी प्रभावित क्षेत्रमा एसएमएस पठाएको भनेर बताए।
उनले संसद्मा भने, ‘बिहान ९ बजेर ३५ मिनेटमा टेलिकम कम्पनीमार्फत प्रभावित क्षेत्रका नागरिकको मोबाइलमा सतर्कता अपनाउन सूचना पठाइयो।’
विज्ञ पराजुलीको भनाइ अनुसार नुवाकोटको त्रिशूली र विदुरमा ९ बजेर ३५ मिनेटमा बाढी पुगेको थियो। तर प्रधानमन्त्री बालेनले नै ९ बजेर ३५ मिनेटमा बाढी प्रभावित क्षेत्रमा एसएमएस पठाएको भन्दै आफ्नै भनाइ खण्डित गरेका छन्।
किन बजेन साइरन ? किन दिएन सेन्सरले सूचना ?
विज्ञ पराजुलीका अनुसार यो बाढी ७०० वर्षयताकै ठूलो थियो। जसका कारण रसुवागढी, स्याफ्रुबेंसी, बेत्रावती र मलेखुमा रहेका चारवटै स्वचालित जलमापन केन्द्रहरू एकैपटक बाढीले बगायो।
पुलमा जडान गरिएका ती सेन्सर र साइरनहरूले पानीको सतह बढेको सूचना केन्द्रमा पठाउनु वा साइरन बजाउनु अगावै बाढीले उपकरण नै बगाइदिएका कारण माथिल्लो भेगमा पूर्वसूचना प्रणाली ‘कोल्याप्स’ भएको विज्ञ पराजुलीले स्वीकार गरेका छन्।
यसरी, सरकारी संयन्त्रकै प्राविधिक प्रमुखले माथिल्लो भेगमा बाढी आएपछि मात्र म्यासेज गएको र साइरन तथा सेन्सरले काम नगरेको यथार्थ सार्वजनिक गरिसक्दा प्रधानमन्त्रीले भने संसद्मा उभिएर ‘आधा घण्टा अगावै सूचना दिएको’ दाबी गर्नुलाई विपद्माथिको गम्भीर खेलबाड र सूचनाको अपव्याख्याका रूपमा हेरिएको छ।
भदौ १७, २०८३ बुधबार १४:३४:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।