स्थलगत : काठमाडौंले ‘शान्त’ देखेको कप्तानगञ्जमा पुत्पुताइरहेको 'बदलाको आगो'

सुनसरी : काठमाडौं बाहिर शान्ति छ वा छैन भन्ने कुराको मापन प्रभावित क्षेत्रको वास्तविक अवस्थाले होइन, काठमाडौंले पार्ने प्रभावले गर्छ। काठमाडौंको चस्मा लगाएर हेर्ने हो भने, सुनसरीको कप्तानगञ्ज अहिले शान्त छ। त्यहाँ दुई समुदायबीच मेलमिलाप भएको र दैनिकी साउन १० गतेअघिकै अवस्थामा फर्किसकेको भाष्य काठमाडौँले निर्माण गरिसकेको छ।

२०८३ साउन २९ गते शुक्रबार कप्तानगञ्ज, देवानगञ्ज गाउँपालिका-३, सुनसरीमा बिहान १० बजेदेखि साँझ साढे ७ बजेसम्म कप्तानगञ्जको ‘ग्राउन्ड जिरो’मा पुग्यो, काठमाडौँले देखेको त्यो ‘शान्ति’ त्यहाँ कतै भेटिएन। बरु त्यहाँ त एक समुदायका सदस्यहरुबीच बदला, आक्रोश अनि अर्को समुदायमा गहिरो त्रासको छाया पो देखियो।

सरकारले कप्तानगञ्जको घटनालाई समयमै गम्भीरतापूर्वक नलिँदा यो साम्प्रदायिक हिंसा मोरङ, सुनसरीका अन्य क्षेत्रहुँदै सप्तरी, सिरहा, धनुषा र वीरगञ्जसम्म फैलियो। कप्तानगञ्जमा सुरक्षाकर्मीले चलाएको गोली लागेर तीन जनाको ज्यान गयो। उता, साउन १४ गते सिरहामा गोली लागेर १५ वर्षीय किशोर गणेश यादवको ज्यान गयो।

अदृश्य त्रास र प्रहरीको निगरानी

विराटनगरबाट १६ किलोमिटर दक्षिण-पश्चिममा पर्ने साउन १० गतेको मुख्य घटनास्थल कप्तानगञ्जको श्रीराम चोकमा १९ दिनपछि पुग्दा स्थानीयको चहलपहल केही बढेको जस्तो देखिन्थ्यो। तर, किनमेलको मुख्य केन्द्र भए पनि त्यहाँ मुस्लिम समुदायका व्यक्तिहरू भने फाट्टफुट्ट मात्र देखिन्थे।

चोकमा हतियारसहित सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली तैनाथै थिए। वरपर को आयो, को गयो, सुरक्षाकर्मीहरू निकै चनाखो देखिए। क्यामेरा र सञ्चार सामग्री बोकेर पुग्दा प्रहरीले हरेक गतिविधिको निगरानी गरिरहेको थियो। 

त्यहाँको अवस्था कस्तो छ? हामीले केही स्थानीयहरूसँग कुराकानी गर्ने प्रयास गर्यौँ। अधिकांश सकेसम्म बोल्नबाट तर्किए। केही बोल्न राजी भए।

साउन १० मा झडप भएको घटनास्थल नजिकै किराना पसल सञ्चालन गर्दै आएका स्थानीय विकास मेहताले सुनाए, ‘दिनभरि यति नै सुरक्षाकर्मी बस्छन् भन्ने छैन, बढ्छन् पनि, घट्छन् पनि। तर, रातको समयमा दोब्बर सुरक्षाकर्मी हुन्छन्।’ 

यसैबाट प्रस्ट हुन्थ्यो-  अझै शान्त भइसकेको छैन कप्तानगञ्ज।

हराएका वडाध्यक्ष र मनोवैज्ञानिक त्रास

दिउँसो करिब १२ बजे म वडा कार्यालय पुगेँ। तर, वडाध्यक्ष अनिल कुमार भगत कार्यालयमा थिएनन्। स्थानीयका अनुसार घटनापछि नै उनी देखिएका छैनन्। झडपको घटनामा कतै उनको पनि भूमिका छ कि? स्थानीयमा शंका देखियो।

एक स्थानीयले भने, “घटनापछि उनी यहाँ छैनन्, कहाँ गएका छन् कसैलाई थाहा छैन।” 

घटनामा मारिएका परिवारलाई भेट्न एक वडा सदस्यसँग सहजीकरणको आग्रह गरेँ। उनले वडाकै एक युवा कर्मचारीलाई मेरो साथमा खटाइदिए। ती कर्मचारीका कारण पीडित परिवारका सदस्यहरूसँग कुरा गर्न केही सहज भयो।

तर, जब म श्रीरामचोक नजिकैको शिव मन्दिरबाट सय मिटर पर रहेको मुस्लिम बस्ती र विवादित मदरसातर्फ जान खोजेँ, वडाका ती कर्मचारी मसँग जान मानेनन्। मसँगै गएका अर्का स्थानीय पनि मन्दिरबाटै फर्किए। स्थानीयहरूसँगको कुराकानीमा साउन १० को घटना अगाडि यहाँ यस्तो संकोच देखिएको थिएन। यो अवस्थाले नै गाउँमा अझैँ दुई समूदायबीच मनोवैज्ञानिक विभाजन कति गहिरो छ भन्ने देखियो।

मदरसाको खोजी र मौलानासँगको भेट

नजिकैको मदरसाको तस्बिर लिने उद्देश्यले म अघि बढेँ। पढाउने स्थान मदरसाभन्दा अगाडि रहेको प्रार्थना गर्ने स्थान मस्जिदको फोटो खिचेपछि मैले एउटा बाइकमा आएका तीन युवालाई रोकेर सोधेँ- ‘दारुल उलुम अस सुफ्फा मदरसा जाने बाटो कता हो?’

बाटो बताउँदै गर्दा एक युवा हुत्तिँदै मतिर आए र कुट्ने शैलीमा झम्टिँदै ‘के भयो?’ भनेर सोध्न थाले। मैले मदरसा जान खोजेको प्रस्ट पारेपछि भने उनी शान्त भए र बल्ल बाटो देखाइदिए।

मदरसा पुगेर परिचय दिएपछि त्यहाँका मौलाना अबुल हसन र केही युवा बाहिर आए। मौलाना सहजै बोल्न तयार भए।

विवादको विजारोपण: झन्डा र डिजेको त्यो गीत

साउन १० गतेको झडपपछि यसको कारणको रूपमा झन्डाको विवाद, डिजे र बोलबमको गीत देखिएको थियो। त्यहाँ कुराकानी गर्दा पनि कारण त्यही देखियो।

एक महिनाअघि मुस्लिम समुदायले मोहर्रम पर्व मनाउन वडा नम्बर ३ सँग अनुमति मागिएको थियो। अनुमति पाएपछि पर्वको समयमा उनीहरूले वरपर झन्डा राखे। पर्व सकिएपछि उनीहरूले वडामा राखिएको झन्डा त निकाले, तर श्रीराम चोकमा राखिएको नेपालको झन्डा र मुस्लिम आस्थाको झन्डा हटेन।

अर्को समूहका युवाहरूले वडाध्यक्ष अनिल भगतलाई झन्डा हटाउन पहल गर्न आग्रह गरे। मृतकका बुवा नरेश मेहताका अनुसार वडाध्यक्षले वास्ता गरेनन्। एक महिनासम्म झन्डा नहटेपछि साउनमा अन्य समुदायका युवाहरूले त्यो झन्डा निकालेर सोही स्थानमा ‘हनुमान’को झन्डा राखिदिए। मुस्लिम समुदायका केही युवा रिसाए।

साउन १० गते सप्तकोसी नदीबाट शिवका लागि जल ल्याउन एक समूह निस्किए। उनीहरूले पवन यादवको ‘को १ च ५५९९’ नम्बरको बोलेरो गाडीमा स्पिकर (डिजे) राखेका थिए। एक समूह त्यसमा बोलबमको गीत बजेको दाबी गर्छन्।

तर युवा इरसाद अन्सारीको दाबी छ, ‘त्यहाँ शिवको भजन बजेको थिएन, बरु ‘पाकिस्तान धुवाँ-धुवाँ’ भन्ने गीत बजाइएको थियो। धेरै समय र चर्को बजेपछि केही केटाहरूले गाडीमा ढुङ्गा हाने।’

इन्स्पेक्टरको आदेश- ‘२-४ जनालाई ढालिदे!’

ढुङ्गा हानेपछि प्रहरीले केही युवाहरूलाई त्यहाँबाट लखेट्यो। त्यसपछि बोलबलमा हिँडेको युवा र प्रहरीबीच झडप सुरु भयो।

मृतकका बुवा नरेश मेहता भन्छन्, ‘अर्को समूहले झगडा सुरु गरेका हुन् तर प्रहरीले गोली चलायो। गोली चलाउन आदेश दिने सशस्त्र र नेपाल प्रहरीमाथि छानबिन हुनुपर्छ।’

झडपमा बोलबममा हिँडेका युवाहरूले ढुङ्गामुढा गर्दा इलाका प्रहरी कार्यालय देवानगञ्जका इन्स्पेक्टर राकेश राईको टाउमा पाँच टाँका लगाउनु पर्नेगरी फुट्यो। उनीसहित ७ जना भन्दा बढी सुरक्षाकर्मी घाइते भए।

स्थानीय विकास मेहताका अनुसार घाइते इन्स्पेक्टर राई तत्कालै घटनास्थल नजिकैको क्लिनिकमा पसेका थिए।

विकासको दाबी छ, ‘रगत रोक्न उपचार गराउँदा गराउँदै इन्स्पेक्टरले ‘२-४ जनालाई ढालिदे’ भन्ने आदेश दिएका थिए र उनैले दुई राउन्ड हवाई फायर गरेका थिए।’

कुराकानीमा सुनिल कुमार मेहताले पनि यही भने, ‘इन्स्पेक्टरको टाउको फुटेपछि उनले हवाई फायर गरे अनि ब्यान्डेज गर्न भित्र छिरे। दुई-चार मिनेटपछि उनी फर्किए, अनि गोली चल्यो।’

अनुसन्धानमा कप्तानगञ्जमा प्रहरी र सशस्त्रले २० राउन्ड गोली चलाएको खुलेको छ, जसमा ३ जनाको मृत्यु र ७ जना घाइते भए।

१० लाखमा नअटाउने सपना र परिवारको बिचल्ली

साउन १० को घटनामा गोली लागेर ओम प्रकाश मेहताको घटनास्थलमै मृत्यु भयो। रवीन्द्रकुमार मेहता र जयप्रकाश मेहता उपचारमै थिए। तर ज्यान जोगिएन।

गोली लागेर मारिएका तीनै जना युवा आ-आफ्ना परिवारका बलिया खम्बा थिए।

सिटी सफारी चलाएर ५ जनाको परिवार पाल्ने जयप्रकाश मेहता घरका एक्ला छोरा थिए। १४ महिनाअघि मात्रै विवाह गरेका उनको श्रीमतीको गर्भमा २ महिनाको बच्चा छ।

साउन १० गते घर आएर मोबाइल चलाउँदै गर्दा झगडाको हल्ला सुनेर उनी चोकतिर कुदेका थिए। बुवा नरेशले रोक्न खोज्दाखोज्दै गएका उनी १५ मिनेटमै गोली खाएर ढले।

कोखामा गोली लागेका उनको विराटनगर मेडिकल कलेजमा अप्रेसनपछि मृत्यु भयो।

गर्भवती बुहारी देखाउँदै नरेशले उकेराकर्मीसँग भने, ‘सुधन गुरुङ आएर १० लाख दिने निर्णय भयो। प्रदेश र स्थानीय तहले पनि देला। तर, के मेरो छोराले जीवनभर १० लाख मात्रै कमाउँथ्यो? यो गर्भवती बुहारी, छोरी र हाम्रो बुढेसकालको भविष्य अब के हुन्छ?’

कोरिया जाने तयारीमा रहेका रवीन्द्र कुमार मेहता अघिल्लो दिन मात्रै काठमाडौंबाट कप्तानगञ्ज पुगेका थिए। साउन १० गतेको झडपमा गम्भीर घाइते भएका उनको साउन १९ गते काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भयो।

दुई सन्तानमध्ये एक्ला छोरा गुमाएका उनको परिवारलाई अहिले दाइ र भतिजाले सम्हालिरहेका छन्। उनका ठूलोबुवा सुरक्षा निकाय र अर्को समुदायको मिलेमतो घटना भएको गम्भीर आरोप लगाउँछन्।

देवानगञ्ज-४ का ओमप्रकाश मेहता घरका जेठा छोरा थिए। बीएडको पढाइ सकेर भर्खरै १० लाख लगानीमा व्यापार सुरु गरेका उनको साउन १० मै घटनास्थलमै ज्यान गयो। बुवा कृष्णदेवले उनलाई रोक्ने कोसिस गरेका थिए तर उनी रोकिएनन्।

ओमप्रकाशकै कमाइ र सहयोगमा कृष्णदेवले पक्की घर बनाउन सुरु गरेका थिए। पिलर ठडिएको अधुरो घर देखाउँदै कृष्णदेव भन्छन्, ‘सरकारले १० लाख दिने भनेको छ। तर, के १० लाख मात्रै हो त मेरो छोरा? मेरो त हातखुट्टा नै भाँचिए। छोरा नभएपछि यो बनाउँदै गरेको घरको पनि अब के आवश्यकता?’

मदरसामा प्रशासनको छापा र मौलानाको प्रष्टीकरण

मृतक परिवारसँग सरकारले गरेको सम्झौताको बुँदा ‘ग’ मा ‘देवानगञ्ज-३ स्थित मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयहरूबारे तत्काल छानबिन अगाडि बढाउने’ उल्लेख छ।

सोही आधारमा भदौ २ गते दिउँसो २ बजेतिर जिल्ला प्रशासन कार्यालय सुनसरीको एक टोली मदरसा पुगेको थियो। एक युवाका अनुसार टोलीले मदरसाको जग्गाको लालपुर्जा र शिक्षकहरूको सूची लिएर गएको छ।

मदरसाका मौलाना अबुल हसन यो घटनाप्रति निकै दुःखी छन्।

उनी भन्छन्, ‘डिजे र झन्डाको विषयले यति ठूलो रूप लेला भन्ने विश्वास नै लागेको थिएन। हाम्रो धर्ममा मोहर्रम पर्व नै हुँदैन, बकर इद र इद मात्र हुन्छ। साउन १० गते मुस्लिम केटाहरूले डिजेको स्वर सानो बनाउन भन्दा नमानेपछि लखेटेका थिए। तर, १५-२० मिनेटपछि हिन्दु केटाहरूको ठूलो हुल मुस्लिम गाउँतिर पस्न लाग्दा सुरक्षाकर्मीले रोके। भिड नरोकिएपछि भिडन्त भयो, इन्स्पेक्टरको टाउको फुट्यो अनि गोली चल्यो।’

निभेको छैन भुसको आगो

जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी डिएसपी चन्द्र खड्काका अनुसार अहिले स्थिति नियन्त्रणमा छ।

उनी भन्छन्, ‘हामीले सुरक्षा व्यवस्था कडा पारेका छौँ। सूचना सङ्कलनको काम भइरहेको छ र पुरानै स्थिति ल्याउन धर्मगुरुहरूसँग नियमित सम्पर्कमा छौँ।’

तर, ग्राउन्ड जिरोको यथार्थ प्रहरीको भनाइभन्दा धेरै पर छ। मृतक जयप्रकाशको घरमा भेटिएका एक आक्रोशित छिमेकीले दिएको चेतावनीले यहाँको डरलाग्दो भविष्यको संकेत गर्छ।

उनले भने, ‘हामीलाई सुरक्षा चाहियो। फेरि पनि काण्ड उठ्नेवाला छ। ४-५ दिन होस् वा १० दिन, विवाद फेरि उठ्छ नै। किनभने हाम्रो खेतीपाती छ, उनीहरूले हाम्रो धान काटिदिन्छन्, घाँस काटिदिन्छन्। त्यहाँ हाम्रो पुँजी लागेको छ, अनि त्यो कुराले विवाद उठ्दैन त?’

प्रधानमन्त्री वालेन्द्र शाहले भिडियो सम्बोधन गरे। गृहमन्त्री सुधन गुरुङ पीडितको घरमै पुगेर सहमति गरे। मन्त्रिपरिषद् बैठक बसेर मृतक सबैलाई शहीद घोषणा गर्ने निर्णय गर्यो।

कम्तानगञ्जमा अहिले बाहिर झडप भएको छैन। तर काठमाडौंले शान्त देखेको कप्तानगञ्ज शान्त भने देखिएन। स्थलगत रिपोर्टिङमा यहाँ भित्रभित्रै फैलिएको प्रतिशोधको भाव अझैँ देखियो। राज्य थप संयमित भएर बेलैमा न्याय र सद्भावको मलम नलगाउने हो भने कप्तानगञ्जमा भुसको आगो जसरी सल्किरहेको प्रतिशोधको झिल्को जुनसुकै बेला ह्वारह्वारी बल्न सक्छ।

भदौ ७, २०८३ आइतबार १८:५४:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।