एकसरो कपडामा खरिपाटी होल्डिङ सेन्टरमा सुकुमायाको ‘कैद जीवन’, डोजरले घरसँगै परिवार नै तितरवितर बनायो
काठमाडौं : आङमा लगाएको एकसरो कपडा धुने, सुकाउने र फेरि त्यही लगाएर दिन काट्न बाध्य छिन्- सुकुमाया गुरुङ।
वैशाख १८ गते बल्खु खोला किनारमा रहेको उनको टहरामा सरकारले डोजर चलाएपछि उनी भक्तपुरको खरिपाटीस्थित विद्युत् प्राधिकरणको तालिम केन्द्रमा यसरी नै बन्दीजस्तै जीवन बिताइरहेकी छन्।
छालाको एलर्जी भएकी उनलाई छिन-छिनमै नुहाएर सफा कपडा फेर्नुपर्ने बाध्यता छ। तर, उनीसँग अहिले आङमा भएको एकसरो कपडाबाहेक केही छैन।
सँगैका साथीहरूसँग कपडा मागेर लगाउन खोज्दा उनको शरीरमा मिल्दैन। त्यसैले एउटा सल मागेर, आफ्नो कपडा धोएको बेला त्यही बेरेर बस्ने गरेकी छन्।

“पहिला घरमा बाढी पस्दा सबै सामान डुब्यो। अहिले भएको कपडासमेत डोजरले पुरिदियो। त्यो निकाल्न नपाई सरकारले हामीलाई यहाँ ल्याएर राख्यो,” खरिपाटीमा रहेको ‘होल्डिङ सेन्टर’ बाट उनले उकेरालाई भनिन्, “अहिले कस्तो गाह्रो भएको छ। गर्मीमा छाला सबै चिलाएर बसिनसक्नु हुन्छ। यहाँ एउटा साबुनका लागि पनि झगडा गर्नुपर्ने अवस्था छ।”
छोरा दुधे बालक छँदै श्रीमान्को मृत्यु भएपछि उनले एक्लै संघर्ष गरेर दुई सन्तान हुर्काइन्। होल्डिङ सेन्टरमा उनीसँग १३ वर्षीय छोरा छन्। तर, १५ वर्षीया छोरी भने बल्खुकै बस्ती छाडेर बाहिर आउन नमानेको उनी बताउँछिन्। यहाँ आएदेखि उनले छोरीलाई भेट्न पाएकी छैनन्।
कुलतमा फस्न लागेकी छोरी होल्डिङ सेन्टरमा प्रहरीको निगरानीमा बस्नुपर्ने डरले आउन नमानेकी रहिछन्। सुकुमाया दुःख पोख्छिन्, “हाम्रो यति सानो परिवार पनि तितरबितर भयो। छोरीलाई यहाँ ल्याउन सकेकी छैन, म आफैँ पनि त्यहाँ काठमाडौं जान सकेकी छैन।”
सुकुमाया बल्खुको बस्तीमा बस्न थालेको आगामी साउनमा २२ वर्ष पुग्छ। उनी नजिकैका साहुको घरमा भाँडा माझ्ने र सरसफाइ गर्ने काम गर्थिन्। साहुले काममा बोलाउँदा पनि दूरी टाढा भएको र महँगो गाडीभाडा तिर्न नसक्दा उनी काममा जान सकेकी छैनन्।
‘टाढा ल्याएर राख्दा रोजगार पनि गुम्यो’
परिवार पाल्ने एक्ली सदस्य उनी नै बेरोजगार बनेकी छन्। अब कसरी जीवन धान्ने भन्ने चिन्ताले उनलाई सताएको छ।
“बल्खुबाट यहाँ आउन मात्रै दुई घण्टा लाग्ने रहेछ। तीनवटा गाडी फेर्नुपर्छ। कमाएको सबै रकम गाडीभाडामै ठिक्क हुने र समय पनि धेरै लाग्ने भएपछि काममा जानै सकिनँ”, उनी भन्छिन्।

सानैदेखि अरूको घरमा काम गर्दै आएकी सुकुमायाले बल्खुको त्यही बस्तीमा साथीहरूसँग मिलेर सानो ठाउँ किनेकी थिइन्। दुई कोठाको सानो टहरा नै उनीहरूको संसार थियो।
त्यहाँ बस्न थालेदेखि नै ‘बस्ती जुनसुकै बेला भत्किन सक्छ’ भन्ने हल्ला सुन्दै आएकी थिइन्। तर, सँगसँगै ‘अब चाहिँ लालपुर्जा आउँछ’ भन्ने आश्वासन पनि सुन्थिन्।
यी २२ वर्षमा लालपुर्जा त आएन, बरु वैशाख १८ गते बस्ती भत्काउने भन्दै वैशाख १७ गते माइक फुक्दै प्रहरी आइपुग्यो। त्यसअघि वैशाख १२ गते थापाथली र शान्तिनगर क्षेत्रमा डोजर चलेको समाचारले बस्तीमा पहिल्यै खैलाबैला मच्चिइसकेको थियो।
“सरकार नै लागेपछि राज्यसँग हाम्रो केही नलाग्ने रहेछ,” उनले भनिन्, “घर भत्काउने कुरा सुनेपछि म त अत्तालिएर बेहोसजस्तै भएँ। धेरै आत्तिएपछि मान्छेले केही सोच्न र चाल पाउन सक्दो रहेनछ।”
बस्ती पूरै प्रहरीले घेरेको र भटाभट डोजर चल्न थालेपछि सबैजना स्तब्ध बनेका थिए। बस्तीका एक-दुई परिवारबाहेक अरू कोठा खोज्न पनि जान सकेनन्।
उनका साथीहरू कोठाभाडा बुझ्न जाँदा पाँच हजार पर्ने कोठालाई आठ हजार रुपैयाँ मागिएको र सुकुम्बासी भनेपछि कोठासमेत नदिइएको सुकुमाया बताउँछिन्। साथीहरूको यस्तो हविगत सुनेपछि उनले कोठा खोज्न जाने आँट नै गरिनन्।
“पोहोरको बाढीले अलिअलि भएको थोत्रो सामान पनि बगाइदिएको थियो। अब बाँकी रहेको सामान डोजरले किचिदियो। श्रीमान् नभएका ती छोराछोरीबाहेक अब मसँग केही छैन”, उनले रुँदै भनिन्।
घर भत्काउने बेला ठूलो पानी परेकाले बाँकी रहेका सरसामान पनि भिजेर नष्ट भएको उनले सुनाइन्।
‘डोजरले सब कुल्चियो’
त्यतिबेलै ‘सरकारसँग को-को जाने’ भन्दै नाम संकलन गर्ने क्रममा उनी पनि नाम टिपाएर बसमा बसिन्। सुरुमा एक्लै बस चढेकी उनी पछि आफ्ना छोराछोरी लिन गइन्। त्यसबेला उनले आफ्नो भत्किएको घर हेरिन्, तर पीडा सहन नसकेर त्यहाँ धेरै बेर बस्न सकिनन्।
बस्तीमा बस्दा बिरामी पर्दा नजिकैका चर्चले उनीहरूलाई सहयोग गर्दै आएको थियो। नानीहरूलाई पढाइदिने र चाडबाडका बेला खाद्यान्न सहयोग गर्ने भएपछि बाध्य भएर उनीहरूले धर्म परिवर्तन गरेका थिए। सुकुमायाका अनुसार बल्खुमा तीनवटा चर्च थिए, जसले बस्तीका धेरै गरिब परिवारलाई सहयोग गर्थे।
उनकी छोरी सात कक्षामा र छोरा छ कक्षामा पढ्दै थिए। तर, अहिले बस्ती नै रहेन, न त त्यो चर्च नै बाँकी रह्यो। डोजरले ती टहरासँगै उनका सन्तानको पढ्न पाउने अधिकार र भविष्यसमेत कुल्चिदियो। अहिले उनीहरूको परिवारसमेत सँगै बस्न पाएको छैन।

“अहिले सरकारले जे दिन्छ, त्यही खाएर बस्न बाध्य छौँ। काम पनि छुट्यो, सहयोग गर्ने कोही छैन,” उनले आँसु पुछ्दै भनिन्, “सानो मुख बनाएर साबुन माग्न जानुपरेको छ। यहाँ आएदेखि जिउ पूरै चिलाएर घाउ नै हुन लागिसक्यो। भक्तपुर अस्पतालमा जचाउन जाँदा मलम दिएको थियो, त्यो पनि सकियो।”
तनहुँमा जन्मिएकी सुकुमाया सानै उमेरमा अरूको घरमा काम गर्न काठमाडौं छिरेकी हुन्। त्यसपछि उनी कहिल्यै माइतीघर फर्किएकी छैनन्। तनहुँको डाँडामा कुल पूजा गर्न भाइहरू बेलाबेला जाने गरेको उनले सुनेकी छन्। तर, उनलाई भने कसैले कुल पूजामा कहिल्यै बोलाएनन्।
“श्रीमान्को घर कहाँ हो, मैले कहिल्यै जान्न पाइनँ। यहीँ बसेर काम गर्ने र बच्चाहरू हुर्काउने ध्याउन्नमा समय बितेको पत्तै भएन। श्रीमान् बितेको पनि धेरै भइसक्यो। अहिले घर पनि नभएपछि म बेवारिसे जस्तै भएँ”, उनी भन्छिन्।
घर भत्किएको एक महिना हुन लाग्दा समेत सरकारले कुनै ठोस कदम नचालेको देख्दा उनीहरूलाई यसै अलपत्र छाडिदिने हुन् कि भन्ने शंका लाग्न थालेको छ। केही समयअघि भक्तपुरकै स्थानीय नेताहरू आएर आश्वासन दिए पनि संघीय सरकारका कोही पनि प्रतिनिधि नआउँदा विस्थापितहरू निराश छन्।
“प्रहरीले राति पनि गस्ती गर्दै चेक गर्छन्। तर, हामीलाई यहाँ कहिलेसम्म राख्ने हो र त्यसपछि कहाँ लाने हो, केही भन्दैनन्,” उनी भन्छिन्, “सरकारले अब हामीजस्ताको व्यवस्थापन गरेर चाँडै उचित टुङ्गो लगाइदिए हुन्थ्यो। हामीलाई बिचल्लीमा नपारून्। यो एक महिनामा हामीले धेरै मानसिक तनाव भोगिसक्यौँ, सरकारले यो कुरा बुझोस्।”

सरकारले अन्यत्र व्यवस्थापन गर्न नसके आफूहरूलाई पुरानै ठाउँमा फर्किन दिनसमेत उनले आग्रह गरिन्। यस होल्डिङ सेन्टरमा अहिले उनीजस्तै विस्थापितहरू बसिरहेका छन्। साँझ खाना खाएपछि उनीहरू एकै ठाउँमा झुम्मिन्छन् र आ-आफ्नो दुःख-पीडा साटेर रात कटाउँछन्।
जेठ १३, २०८३ बुधबार ११:४०:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।