सुरुङभित्र फसेकाहरूको खोज र उद्धारबारे प्रधानमन्त्रीको दाबी कति सत्य?

काठमाडौं : भोटेकोशीमा विनाशकारी बाढी आएको आज ८ औँ दिन। अन्य क्षेत्रमा खोज तथा उद्धार प्रभावकारी देखिए पनि रसुवा अनि नुवाकोटका जल विद्युत् गृहभित्र फसेका ९ सय भन्दा बढीको अवस्था भने अझैँ अज्ञात छ।

हराइरहेकामध्ये मुख्य टनेल क्षेत्रभित्र कति छन् अनि कति बाढीमा हराए एकिन तथ्याङ्क अहिलेसम्म सार्वजनिक हुन सकेको छैन।विपद्को सुरुदेखि नै सामाजिक सञ्जालबाट खोजी, उद्धार र राहतबारे जानकारी दिइरहेका प्रधानमन्त्री बालेन्द्र शाहले बुधवार प्रतिनिधि सभाको बैठकमा विपद्पछि सरकारले गरिरहेको कामबारे जानकारी दिए। तर उनको सम्बोधनमा आशा भन्दा निराशा बढी देखियो।

उनले भने “टनेलमा विपद् आउँदा पहिरो पन्छाउने विशेषज्ञता विश्वभर छ, तर रसुवाको बाढीले सुरुङहरू पहिरोले होइन, लेदो र हिलो माटोले थुनिएका हुन्। यस्तो अवस्थाको सुरुङ खोल्ने विशेषज्ञता न अरूसँग थियो, न हामीसँगै!” 

सुरुङ क्षेत्रमा माटो पन्छाउन स्काभेटरहरूको संख्या बढाउनुपर्ने र विदेशी विशेषज्ञहरूलाई तुरुन्त अनुमति नदिएको भन्दै सरकारको चर्को आलोचना भइरहेको छ। प्रधानमन्त्रीले संसद्को रोस्टमबाट जसले आलोचना गरिरहेका छन् तीनलाई अवस्थै थाहा नभएको दाबी गरे।

“गुगल गरेर र एआईलाई सोधेको भरमा मात्रै हुँदैन। विदुर पुगेर हेरेको भरमा मात्रै त्यहाँको सबै कुरा थाहा हुँदैन। यो काम भएन भनेर आलोचना गर्नुभन्दा सेना र सशस्त्र प्रहरीलाई प्रोत्साहन दिनुपर्छ” उनले भने।

प्रधानमन्त्रीले सुरुङभित्र एक पटकमा एउटा मात्रै एक्स्काभेटरले काम गर्न सक्ने प्राविधिक बाध्यता रहेको, सुरुङ पुरिएको साइटमा धेरै स्काभेटरहरू थुपार्दैमा काम छिटो नहुने र सुरुङको मुखैमा समेत ओर्लिन सक्ने अवस्था नरहेकाले उद्धारमा कठिनाइ भएको बताए।

सबैको ध्यान उनले यस्तोमा तत्काल उद्धार गर्न सक्ने विज्ञ विश्वमै नभएको दाबी गरे। यसले धेरैको ध्यान तान्यो पनि।

प्रधानमन्त्रीले भने जस्तै रसुवा र नुवाकोटको टनेलमा खोजी र उद्धार गर्ने अनुभव भएको विज्ञहरू विश्वमै छैनन् त, यस्तो खालको विपद् विश्वभरमा नेपालमा मात्र पहिलो पटक आएको हो, अनि टनेलमा फसेका नागरिकलाई जीवितै उद्धार गर्ने सम्भावना सकिएको हो त ?

प्रधानमन्त्री शाहले भने जस्तै यस्तो प्रकृतिको विपद् विश्वमा अत्यन्तै दुर्लभ तर गम्भीर भने हो। यस्तो प्रकृतिको घटना नेपालमा पहिलो पटक भए पनि विश्वमै पहिलो भने हैन।

करिब पाँच वर्ष अगाडि छिमेकी देश भारतमा यस्तै प्रकृतिको दुर्घटना भएको थियो।

क्षति नेपालमा भोटेकोशीको जस्तो डरलाग्दो थिएन, तर जलविद्युत गृहको टनेल पुरिएको र व्यक्तिहरू फसेको प्रकृति भने एकै देखियो।

भारतको उत्तराखण्डस्थित चमोलीमा रहेको तपोवन-विष्णुगड जलविद्युत आयोजनामा भएको दुर्घटनापछिको उद्दार अभियान। सन् २०२१ फेब्रुअरीमा भारतको उत्तराखण्डस्थित चमोलीमा रहेको तपोवन-विष्णुगड जलविद्युत आयोजनामा यस्तै दुर्घटना भएको थियो। कारण नेपालमा जस्तै हिमनदी फुट्नु नै थियो। हिमनदी फुट्दा आएको आकस्मिक बाढी र लेदोका कारण तपोवनको १५ सय मिटर लामो सुरुङभित्र बाक्लो हिलो र ढुङ्गाहरू भरिएका थिए।

घटनाको सुरुवाती चरणमा तपोवनकै सानो सुरुङबाट १२ जना र ऋषिगंगा क्षेत्रबाट १५ जना गरी कुल २७ जनाको जीवितै उद्धार गरियो तर मुख्य सुरुङभित्र फसेका ३० देखि ३५ जना कामदारलाई बचाउन हप्तौँसम्म सेना, अर्ध सैनिक बल लगायत खटेका थिए। त्यहाँ ड्रिलिङ प्रविधि अपनाइए पनि उद्धारको नतिजा भने सकारात्मक आएन।

यस्तै प्रकृतिको नभए पनि कोइलाखानी लगायतका यस्तै सुरुङमा फसेकाहरूको १७ दिनमा पनि सफल उद्धार भएका घटना छन्। भारतकै  सिल्कयारामा सुरुङमा फसेका ४१ जना कामदारको १७ दिनपछि जीवितै उद्धार भएको थियो। यस्तो उदाहरण अन्त पनि छन्।

OOO

अहिले रसुवा र नुवाकोटका जलविद्युत गृहमा फसेकाहरू खोज्न नेपालीसँगै, भारतीय, चिनियाँ र कोरियन उद्धार टोली समेत खटिएका छन्।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार त्रिशूली ३ए जलविद्युत आयोजनामा नेपाली सेना, सशस्त्र प्रहरी र विद्युतका कर्मचारी गरी ९० जनाबाट खोज तथा उद्धार कार्य भइरहेको छ। 

यसमा क्राउन हेड रहेको ठाउँ पत्ता लगाएर १० मिटर गहिरो हिलो लेदो पन्छाइ ड्रिलिङ मार्फत प्वाल पारिएको छ, तर उक्त प्वालबाट पनि अत्यधिक पानी आएकाले अर्को ठाउँमा प्वाल पार्ने काम भइरहेको छ।

त्रिशूली ३बि मा हेलिकप्टरमार्फत एक्स्काभेटर झारेर सेना, सशस्त्र प्रहरी र विद्युतका कर्मचारी गरी ४७ जनाबाट खोज तथा उद्धार कार्य भइरहेको छ।

अपर त्रिशूली १ मा सेना र मित्र राष्ट्रबाट आएको विज्ञ टोली समेतको टिमले सुरुङ हेड हाकुमा करिब ३ सय मिटर र सुरुङ टेल मैलुङमा करिब २५० मिटर भित्रसम्म खोज तथा उद्धारको प्रयास गरेको छ। तर ३ देखि ४ मिटर बाक्लो दलदल रहेकाले उद्धार प्रभावकारी हुन सकेको छैन।

चिलिमे जलविद्युत आयोजनामा सेना, विदेशी विज्ञ टोलीले करिब ५५ मिटर भित्रसम्म गई खोजी गरिरहेको छ। रसुवागढी जलविद्युत आयोजनामा करिब २ सय मिटर र लाङटाङमा करिब १ सय ५० मिटर भित्रसम्म खोज तथा उद्धारको प्रयास भएको छ। यी विवरणले खोजी र उद्धार जारी रहेको देखिन्छ तर सकारात्मक नतिजा आउन सकेको छैन। 

OOO

यस्तो स्थानमा फसेका व्यक्तिहरू कसरी जोगिन सक्छन्? यसका लागि यस्ता परियोजना भित्रको संरचना बुझौँ। बाहिरबाट हेर्दा सुरुङको प्वाल मात्र देखिए पनि विद्युत् उत्पादन केन्द्रको सुरुङ भित्रको संरचना घरको जस्तै तला तला मिलाइएर बनाइएको हुन्।

जानकारका अनुसार घरको निर्माण जगबाट सुरु हुन्छ, यस्तो जलविद्युत केन्द्रको संरचना भने पहाडको माथिबाट सुरु हुन्छ। यहाँ भित्र मुख्य पहुँच सुरुङबाट प्रवेश गरेर पुगिने क्रेन हल, सहायक तहमार्फत पुगिने टर्बाइन हल, कन्ट्रोल रुम र ट्रान्सफर्मर हलहरू रहेका हुन्छन्।

यस्ता सुरुङहरूभित्र विपद् परेर थुनिँदा कामदारहरू सुरक्षित बस्न सक्ने सम्भावित संरचनागत व्यवस्थाहरू समेत गरिएका हुन्छन्। यस्तोमा सुरुङ बन्द भए पनि मुख्य पावरहाउसभित्र सुरक्षित बस्न, हावा चल्ने र लामो समय रहन सकिने कक्षहरू हुन्छन्।

अक्सिजन आपूर्ति र कार्बनडाइअक्साइडको निरन्तर सन्तुलन मिलाउन प्रणाली जडान गरिएको हुन्छ। ट्याङ्की र फिल्टर प्रणालीबाट शुद्ध पानीका साथै प्राथमिक उपचार किट र औषधि उपलब्ध हुन्छन्।

सुक्खा खाना, आवश्यक खाद्य सामग्री र आपत्कालीन बाह्य सम्पर्कका लागि रेडियो तथा इन्टरकम प्रणालीको व्यवस्था हुन्छ। बाढी र हिलो माटोले सुरुङ पूर्ण रूपमा बन्द हुँदा बाहिरबाट यी आन्तरिक संरचनाहरूमा पुग्न र मानिसहरूलाई सुरक्षित निकाल्नु त्यति सहज भने हुन्न। 

पहिरो वा अन्य कारणले टनेलको मुख मात्र बन्द भएको अवस्थामा सो मुख खोल्न सके उद्धार टोली सहजै भित्र छिर्न सक्छ। तर हिलो र ठूला चट्टाले भरिएको टनेलभित्र छिर्न त्यति सहज देखिन्न।

OOO

बाढीसँगै आएको विपद् र त्यसको क्षति अनि टनेलको उद्धारको जटिलता बुझेर तत्काल अन्तर्राष्ट्रिय विज्ञको सहयोग माग्न सरकारले ढिलाइ गरेकै हो। अन्तर्राष्ट्रिय टोली नेपाल बोलाउने बारे सरकार अलमलमा पर्दा भारत अनि चीनका टोली ढिला मात्र नेपाल आइपुगे।

तर भौगोलिक विकटता, सुरुङभित्रको बाक्लो लेदो र मौसमको प्रतिकूलताकाबीच पनि सेना, सशस्त्र प्रहरी र अन्तर्राष्ट्रिय विज्ञ टोलीहरूले उच्च जोखिम मोलेर उद्धार कार्यलाई निरन्तरता भने दिइरहेका छन्। 

यस्तै अन्तर्राष्ट्रिय घटनाहरूले पनि लेदो, पानी र ठूला चट्टानले भरिएको जलविद्युत सुरुङको उद्धार सामान्य पहिरो पन्छाएजस्तो सहज हुन्न भन्ने देखियो। यस्तोमा धैर्यता, विज्ञहरूको समन्वय र उच्च मनोबल नै यो जटिल संकटबाट पार पाउने एकमात्र विकल्प हो।

आशा गरौँ, विपद्मा टनेलभित्र फसेका सबैजना सुरक्षित छन्। 

भदौ १७, २०८३ बुधबार २२:५२:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।