पाँच वर्षीया भान्जी च्यापेर बाढीबाट बाँचेका सोनाम, घाउमा वनमारा दलेर हिँड्दै काठमाडौं !
काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको बाढीले स्याफ्रुबेँसीको बजार मात्र बगाएन, धेरैको परिवार र सपना पनि उजाडिदियो।
बाढीको वितण्डाबाट मुस्किलले ज्यान जोगाएर काठमाडौंको नागार्जुन नगरपालिकास्थित एल्लोगुम्बामा आश्रय लिइरहेका २४ वर्षीय सोनाम तामाङको आँखामा अहिले पनि त्यही त्रासदीको झल्को छ। बाढीले घरबारसँगै उनका बुवा र हजुरबुवालाई पनि बेपत्ता बनायो।
गुम्बा परिसरमा भेटिएका सोनाम यतिबेला गहिरो शोकमा छन्। उनको परिवारका मात्रै २१ जना सदस्य अहिले यही गुम्बामा आश्रित छन्। स्याफ्रुबेँसीमा आफ्नै आँखा अगाडि आफन्त र बस्ती बगाएको भयानक दृश्य देखेका उनी विपत्तिको पाँच दिनपछि आइतबार मात्रै काठमाडौं आइपुगेका हुन्।
बुवा गुमाउनुको पीडा र अनिश्चित भविष्यका बीच पनि सोनाममा अझै बुवा भेटिने आशा छ।

‘परिवारका सबै जना साथमा भए जसरी पनि गुजारा चलाउन सकिन्छ,’ उनले भने, ‘तर हामीले जे भोग्यौं र देख्यौं, त्यो सुन्नेले अनुमानसमेत गर्न सक्दैन। हाम्रो परिवारमाथि ठूलो बज्रपात परेको छ। बुवालाई खोलाले बगायो। बुवा गुमाउनुको पीडाले आमा अझै राम्रोसँग बोल्न सक्नुभएको छैन, दिदी त कुरा गर्नेबित्तिकै रुनुहुन्छ।’
सोनामका बुवा नोर्बु तामाङ प्रभु बैंकको स्याफ्रुबेँसी शाखामा सुरक्षा गार्डका रूपमा कार्यरत थिए। बाढी आएका बेला बैंकका कर्मचारीहरूलाई बचाउँदा बचाउँदै उनी आफैँलाई खोलाले बगाएको खबर सोनामले गाउँलेबाट सुनेका हुन्।
‘बुवा बाँच्न सक्नुहुन्थ्यो, उहाँले धेरैलाई बचाउनुभयो। अरूले बोलाउँदा पनि मेरो परिवार तल छ भनेर जानुभएको रे, तर फर्किनुभएन। बाइकमा अरूलाई पनि ल्याउँछु भनेर जान लागेका बुवा बेपत्ता भएको सुनेँ’, बोल्दाबोल्दै उनी स्तब्ध भए। सोनामको परिवारमा अशक्त हजुरबुवा पनि थिए, उनलाई पनि बाढीले बगायो।
त्यो भयानक बिहान
भदौ १० गते बिहान सोनाम मोबाइल चलाएर बसिरहेका थिए। एक्कासि जमिन थर्किएको महसुस भयो। भूकम्प आयो भन्ठानेर बाहिर निस्कँदा त घरको अगाडि नै बाढी आइसकेको थियो। केही नसोची उनी आफ्नी ५ वर्षीया भान्जीलाई च्यापेर माथितिर दौडिए।

‘त्यतिबेला मलाई जसरी पनि भान्जीलाई बचाउनुपर्छ भन्ने मात्र लाग्यो। उसलाई च्यापेर भागेँ, अरूलाई पनि भाग्न कराएँ। पछाडि फर्केर हेर्दा घरहरू ढल्दै गरेको देखेँ। पानी नजिकै आइपुगेको देखेपछि जसरी हुन्छ ज्यान जोगाउन बेस्सरी दौडिएँ’, उनले त्यो त्रासदीपूर्ण क्षण सम्झिए।
ज्यान जोगाउन भाग्ने क्रममा चप्पल चुँडिएर सिसाले खुट्टा काट्दासम्म उनले चाल पाएका थिएनन्। घाउ भएको खुट्टामै दौडिएर उनी डाँडामा रहेको श्री कोमिन श्यामेवाङफेल माध्यमिक विद्यालयमा पुगे। भान्जीलाई सुरक्षित राखेर उनी परिवारको खोजीमा तल ओर्लिए तर सके पो। उर्लिएको बाढीका कारण उनी धेरै तल जान सकेनन्।
‘मेरो भान्जी बाँचिन्। त्यतिबेलै पानीमा शवहरू देखिन थालिसकेका थिए। तर, मैले बुवालाई कतै भेटिनँ। त्यहाँको माटो नै पूरै थर्किएको थियो’, उनले सुनाए।

आफू पुग्न सक्ने ठाउँसम्म गएर खोज्दा पनि बुवाको पत्तो लागेन। अहिले स्याफ्रुबेँसीमा बुवाले काम गर्ने बैंक मात्र होइन, सोनामको परिवार बस्ने घर र बजारकै अस्तित्व मेटिएको छ।
हिँडेरै काठमाडौं : घाउमा वनमाराको रस
बाढी आएको रात सबै विस्थापितले विद्यालयमै रात कटाए। भदौ ११ गते नेपाली सेनाको हेलिकप्टर उद्धारका लागि गाउँ पुग्यो। बालबालिका र वृद्धवृद्धालाई प्राथमिकता दिने भनेपछि सोनामले आमा, दिदी र भान्जीलाई त्यही हेलिकप्टरमा काठमाडौं पठाए।
परिवारलाई सुरक्षित पठाएपछि उनी धुन्चेस्थित मितबुवाको घरमा बसे। सेनाको हेलिकप्टरबाट उद्धार हुने सूचीमा उनको नाम पटक-पटक आए पनि पालो आएन। अन्ततः उनी गाडीमार्फत काठमाडौं आउने निधो गरेर निस्किए। त्यतिबेलासम्म खुट्टाको घाउमा वनमाराको रस दलेर र कपडाले बेर्दै मोजा लगाएर हिँडिरहेको उनले सुनाए।
तर, यात्रा सहज थिएन। उनी चढेको गाडीले बीच बाटोमै छाडिदिएपछि उनी हिँड्दै कुवापानी त्रिशूलीसम्म आइपुगे। त्यहाँबाट मात्र अर्को गाडी भेटेर उनी काठमाडौंस्थित गुम्बामा आइपुगेका हुन्। खुट्टामा चोट लागेको पाँच दिनपछि मात्र गुम्बामा आएर उनले प्राथमिक उपचार पाएका छन्।
सोनाम गाउँकै एक बोर्डिङ स्कुलमा कुकका सहयोगी थिए भने उनकी आमा पनि सोही स्कुलमा बालबालिका हेर्ने काम गर्थिन्।

बाढीले सर्वस्व लुटेपछि यो परिवारसँगै बसेर बुवा गुमाएको पीडामा रुन पाउने अवस्था समेत छैन। खुट्टाको घाउले हिँड्न कठिन भए पनि सोनाम गुम्बामा आएका राहत सामग्री ओसार्न स्वयंसेवीलाई सघाइरहेका देखिन्छन्।
‘अब गाउँमा कोही पनि छैन, केही पनि छैन। घर, बजार, चौरसमेत बाँकी छैन। बल्ल यहाँ आइपुगेका छौं। अब के गर्ने, कहाँ जाने? केही सोच्नै सकेका छैनौं’, आफूले लगाएको एकजोर कपडा मात्रै बचेका सोनामले पीडा पोखे।
गुम्बामा ३०० बढीको आश्रय, सरकारी राहतको पर्खाइ
बाढी आएको छैटौं दिनसम्म पनि सरकारले प्रभावितहरूका लागि उचित अस्थायी आश्रयस्थलको व्यवस्थापन गर्न नसक्दा रसुवाका विस्थापितहरू व्यक्तिगत र संस्थागत सहयोगको खोजीमा हिँडेरै काठमाडौं आउन थालेका छन्।
यतिबेला एल्लोगुम्बामा रसुवाका ३०० भन्दा बढी बाढी प्रभावितले आश्रय लिइरहेका छन्। २०७२ को भूकम्पपछि लाङटाङमा पहिरो जाँदा पनि धेरै स्थानीयले यही गुम्बामा आश्रय लिएका थिए। अहिले पनि बाढी परेकाहरूको गाँस र बासको व्यवस्था गुम्बा व्यवस्थापनले नै मिलाएको छ। सुरुमा ६२ जना आएकोमा अहिले संख्या ३०० नाघेको छ र थपिने क्रम जारी छ।

नागार्जुन नगरपालिकाको स्वास्थ्य विभागको टोलीले उनीहरूको स्वास्थ्य परीक्षण र उपचार गरिरहेको छ। आश्रयस्थलमा ११ महिने शिशुदेखि ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूसम्म छन्।
गुम्बाको दृश्य निकै मर्माहत बनाउने खालको छ। कोही सुतिरहेका छन्, कोही बच्चालाई दूध चुसाउँदै टोलाइरहेका छन्, कोही प्रार्थनामा तल्लीन छन् त कोही आफन्त गुमाएको शोकमा डुबेर रोइरहेका छन्। कतिपय व्यक्तिहरू पीडा भुलाउन बुद्धको मूर्ति अगाडि मौन प्रार्थना गरिरहेका भेटिन्छन्।
राज्यका निकायहरूबाट प्रभावकारी राहत र पुनःस्थापनाको उचित प्रबन्ध नहुँदा बाढीले सर्वस्व गुमाएका नागरिकहरू काठमाडौं आइपुगेर सामाजिक संस्थाको भर पर्नुपर्ने अवस्था सिर्जना भएको छ।
बाढी गएको एक हप्ता हुन लाग्दासमेत विस्थापितलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे सरकारले कुनै ठोस योजना अघि नसार्दा सोनामजस्ता हजारौं विस्थापितहरूको भविष्य अनिश्चित बनेको छ।

भदौ १६, २०८३ मंगलबार ०७:३४:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।