रसुवा बाढी : पर्यटन क्षेत्रमा ५० अर्बभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान

रसुवा बाढी : पर्यटन क्षेत्रमा ५० अर्बभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले रसुवाको भोटेकोशीमा आएको बाढीका कारण पर्यटन क्षेत्रमा ५० अर्बभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान रहेको बताएका छन्।

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा भएको रसुवा बाढीका कारण पर्यटन क्षेत्रमा परेको प्रभावबारेको छलफलमा उनले पर्यटन व्यवसाय र पूर्वाधारको क्षति र  भविष्यमा पार्न सक्ने आर्थिक असरलाई समेत मूल्याङ्कन गर्दा उक्त रकम बराबरको क्षति भएको नुमान गरिएको जानकारी दिए।

मन्त्री पौडेलका अनुसार बाढीपहिरोबाट १४२ वटा होटल, ५७ वटा रेस्टुरेन्ट तथा पर्यटन व्यवसायसँग सम्बन्धित १४१ वटा सवारीसाधन क्षति भएको छ। त्यस क्षेत्रका विभिन्न महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक सम्पदामा पनि क्षति पुगेको छ। लाङटाङ, गोसाइँकुण्ड, पार्वतीकुण्ड र नाथली पदमार्गमा क्षति पुगेकाले वैकल्पिक बाटो खोज्नुपर्ने अवस्था सिर्जना रहेको उनले बताए।

'क्लाइमेट हेरिटेज' र अन्तर्राष्ट्रिय सहयोगको पहल

प्रभावित क्षेत्रलाई मन्त्रालयमार्फत ‘क्लाइमेट हेरिटेज’का रूपमा विकास गर्ने योजना अघि बढाइएको जानकारी दिँदै मन्त्री पौडेलले त्यस क्षेत्रमा सङ्ग्रहालय, स्मारक, पार्क वा अन्य संरचना निर्माण गर्ने विषयमा सरोकारवालासँगको छलफलका आधारमा निर्णय गरिने बताए।

जलवायु परिवर्तनका कारण नेपालले ठूलो विपत्ति भोग्नुपरेको उल्लेख गर्दै मन्त्री पौडेलले नेपालले नगरेको गल्तीको असर नेपालीले भोग्नुपरेको बताए। उनले जलवायु परिवर्तनबाट प्रभावित नेपाललाई अन्तर्राष्ट्रिय समुदायले आवश्यक सहयोग र प्रविधि उपलब्ध गराउनुपर्नेमा जोड दिए।

मन्त्री पौडेलले हिमाली क्षेत्रमा रहेका हिमताल र हिमनदीको जोखिमलाई ध्यानमा राख्दै विपद् आउनुअघि सूचना दिन सक्ने आधुनिक प्रविधिको आवश्यकता रहेको बताए। उनले विश्वका विभिन्न मुलुकमा प्रयोग भइरहेका यस्ता प्रविधि नेपालमा उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायसँग पहल गरिने बताए।

बाढीपहिरोका क्रममा उद्धार तथा राहतमा नेपाली हवाई कम्पनी र हेलिकप्टर व्यवसायीले महत्वपूर्ण योगदान बताउँदै उनले त्यसलाई राष्ट्रप्रतिको महत्वपूर्ण योगदानका रूपमा हेरिने बताए। त्यसैगरी, प्रभावितहरूलाई निःशुल्क खान र बस्न व्यवस्था मिलाउने पोखरा, चितवन र काठमाडौंका होटल व्यवसायीहरूलाई उनले धन्यवाद लिए।

बाढीमा बेपत्ता भएका विदेशी पर्यटकको अन्तिम तथ्याङ्क सङ्कलन भइरहेको र उनीहरूका परिवारको सहजीकरणका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा अन्य स्थानमा ‘हेल्प डेस्क’ स्थापना गर्न लागिएको जानकारी दिए।

मन्त्री पौडेलले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको पीडाबारे विश्व समुदायलाई जानकारी गराउनुपर्ने र अर्कोतर्फ नेपाल पर्यटनका लागि सुरक्षित र खुला रहेको सन्देश दिनुपर्ने आवश्यकता औँल्याए।

पर्यटन क्षेत्रमा कार्यरत श्रमिकसँग सम्बन्धित कल्याणकारी कोषलाई परिचालन गर्ने निर्णयसमेत गरिएको बताउँदै उनले बाढीमा परी बेपत्ता भएका व्यक्तिको यकिन नहुँदा बीमा दाबीमा आउन सक्ने जटिलताबारे अर्थ मन्त्रालयसँग समन्वय भइरहेको जानकारी दिए।

भदौ १७, २०८३ बुधबार १४:५१:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।