त्रिशूलीका १६ सय विद्यार्थी जोगाएका ’राजेन्द्र सर’
नुवाकोट : भदौ १० गते को बिहान। समय करिब ९ बजेर १० मिनेट गएको थियो। नुवाकोटको त्रिशूली उपत्यकास्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा सधैँ झैँ विद्यार्थीहरूको चहलपहल थियो।
विहान छ बजेदेखि नै कक्षाकोठामा पढाइ भइरहेकाले त्यतिबेला पनि कक्षा जारी रहने नै भयो। विद्यालय हातामा करिब ९ सय विद्यार्थी थिए भने जुनियर कक्षामा विद्यार्थी विद्यालय आउने क्रममा बाटोमा थिए। विद्यालयको दुई वटा बसले विद्यार्थी लिएर त्रिशूली नदीको किनारमा रहेको विद्यालयतर्फ आउँदै थियो।
४७ वर्षीय प्रधानाध्यापक राजेन्द्र दवाडी विद्यालयमै थिए। अचानक उनको मोबाइलको घण्टी बज्यो। फोनमा रसुवाका एकजना साथीले आत्तिएको स्वरमा भने, ‘बाढीले गाउँ नै बगायो, तिमीहरू भागिहाल!’
लगत्तै एकजना शिक्षक हस्याङफस्याङ गर्दै अफिसमा आए र भने, ‘सर, माथिबाट ठूलो बाढी आइरहेको छ भन्ने हल्ला छ।’ त्यही बेला एकजना अभिभावक आत्तिँदै विद्यालयको गेटमा आइपुगे र भने, ‘त्रिशूलीमा ठूलो बाढी आउँदैछ, म मेरी छोरी लिन आएको।’
तीन मिनेटको अवधिमा आएका लगातारका चारवटा सूचनाले दवाडी सतर्क बने। विद्यालयको तीनतले पक्की भवन नदीभन्दा करिब ६० मिटर माथि भए पनि उनले जोखिम मोल्न चाहेनन्।
‘मैले त्यतिबेला धेरै सोच्ने समय नै पाइनँ। यदि यो सूचना गलतै रहेछ भने पनि एक दिनको पढाइ त छुट्ने हो, तर सही रहेछ भने सयौं ज्यान जान्छ भन्ने लाग्यो,’ दवाडी सम्झन्छन्, ‘मैले एक सेकेन्ड पनि ढिला नगरी आपत्कालीन घण्टी (बेल) बजाउन लगाएँ र सबै शिक्षक तथा विद्यार्थीलाई तुरुन्तै स्कुल खाली गरेर माथि सुरक्षित स्थानतर्फ भाग्न भनेँ।’
दवाडीको त्यही १० मिनेटको सुझबुझ र निर्णय क्षमताले १६ सय भन्दा बढी विद्यार्थी र दर्जनौं शिक्षक-कर्मचारीलाई नयाँ जीवनदान पाए।
बगरमा परिणत भएको त्यो ‘ड्रिम स्कुल’
आपत्कालीन घण्टी बजेपछि स्कुलमा भागदौड मच्चियो। प्रअ दवाडीले स्कुलका बस चालकहरूलाई फोन गरेर बाटोमा रहेका विद्यार्थीहरूलाई विद्यालय नल्याउन र बाटैबाट फर्किन निर्देशन दिए।
एउटा बस भर्खरै विद्यार्थी बोकेर त्रिशूलीको नयाँ पुल तर्दै थियो। दवाडीको फोनपछि त्यो बस पनि फर्कियो। बसले पुल पार गरेर सुरक्षित स्थानमा पुगेको केही सेकेन्डमै बाढीले त्यो पुरानो पुललाई बगाएर लग्यो।
उता, ९०० विद्यार्थीसहित शिक्षक तथा कर्मचारीहरू स्कुलको पछाडिपट्टिको साँघुरो बाटो हुँदै उकालो दौडिए। सबै सुरक्षित स्थानमा पुगेर पछाडि फर्केर हेर्दा दृश्य अकल्पनीय थियो। केही मिनेटअघिसम्म विद्यार्थीको स्वरले गुन्जायमान विद्यालयलाई त्रिशूलीले निलिसकेको थियो।
भारत सरकारको सहयोगमा निर्माण भएको १८ कोठे तीनतले पक्की कलेज भवन, प्राइमरी भवन र सम्पूर्ण विद्यालय हाता हेर्दाहेर्दै बगरमा परिणत भयो। अहिले त्यहाँ एउटा भवनको छानाको सानो भाग मात्रै हिलोमा दबिएको अवस्थामा देखिन्छ।
‘बाढी कहाँ त्यति माथिसम्म आउला र भन्ने लागेको थियो। तर हेर्दाहेर्दै स्कुल नदीको बगर बन्यो,’ उनले भने, ‘मेरो आफ्नै घर पनि त्यही बाढीले बगायो, तर मलाई घर गएको भन्दा स्कुल गएकोमा धेरै पीडा छ।’
१० सेकेन्डले बाँचेकी युनिशा र बाबुको त्यो आँसु
कक्षा १० मा पढ्ने १६ वर्षीया युनिशा अमात्यका लागि त्यो दिन जीवनकै सबैभन्दा डरलाग्दो दिन बन्यो। शिक्षकहरूले हतार–हतार बाहिर निस्किन भनेपछि उनी साथीहरूसँगै पछाडिको सिँढीबाट उकालो लागिन्।
‘म छिटो हिँड्न सकिरहेकी थिइनँ, साथीहरूले मलाई तानेर माथि लगे। जुत्ता चिप्लिएको भए म त्यहीँ खस्ने थिएँ,’ बीबीसीसँगको कुराकानीमा युनिशाले भनिन्, ‘हामीले १० सेकेन्डले मात्र ज्यान जोगायौँ। माथि पुगेर हेर्दा त हाम्रो आँखा अगाडि नै बजार र स्कुल बगायो।’
छोरी स्कुल गएकी र बाढीले स्कुल बगाएको खबर सुनेपछि युनिशाका बाबु युवराज अमात्यको होसहवास उड्यो। उनी स्कुटर लिएर स्कुलतर्फ दौडिए, तर त्यहाँ न स्कुल थियो, न छोरी। उनले छोरीलाई लगातार फोन गरे, फोन लागेन।
‘मेरो संसार नै लुटिएजस्तो भयो। म रुँदै कराउँदै थिएँ, करिब एक घण्टापछि छोरीको फोन उठ्यो। उनी सुरक्षित छिन् भन्ने सुनेपछि म त्यहीँ घुँडा टेकेर रोएँ’, युवराजले भने।
दुई सहकर्मी गुमाउँदाको पीडा
बाढीमा १६ सय ४३ विद्यार्थी र अधिकांश शिक्षक सकुशल रहे पनि विद्यालय परिवारले आफ्ना दुईजना सदस्य भने गुमाउनुपर्यो।
सामाजिक शिक्षा पढाउने ३२ वर्षीय शिक्षक सन्तोष परियार बिहानको खाजा पकाउन नदी किनारको आफ्नो कोठामा गएका थिए। यस्तै, स्कुलका कर्मचारी सुल्तान लामा ढोका बन्द गर्न भन्दै स्कुलभित्रै फर्किएका थिए। दुवै जनालाई बाढीले बगायो, उनीहरू अझै बेपत्ता छन्।
‘मैले सबैलाई भागौँ भनेको थिएँ, तर उहाँहरू खै कसरी छुट्नुभयो। मलाई त्यही कुराले अहिले भित्रभित्रै खाइरहेको छ’, प्रअ दवाडीले भने।
बालबालिकालाई कसरी ट्रमाबाट निकाल्ने?
लाङटाङ लिरुङ हिमालबाट खसेको हिमपहिरोसहितको बाढीले रसुवा र नुवाकोटमा ठूलो जनधनको क्षति गरेको छ। विद्यालय बगरमा परिणत भएपछि अब विद्यार्थीको भविष्य के हुने भन्ने ठूलो चिन्ता थपिएको छ।
‘अहिले बच्चाहरू ट्रमामा छन्। उनीहरू डराएका छन्। हामीले उनीहरूलाई मनोसामाजिक परामर्श दिइरहेका छौँ,’ दवाडी भन्छन्, ‘अनलाइन क्लास सम्भव छैन किनकि नेटवर्क छैन। सबै विद्यार्थीको पहुँच पनि छैन। त्यसैले अहिले हामी सुरक्षित स्थान खोजेर तत्काल अस्थायी सिकाइ केन्द्रमार्फत पढाइ सुरु गर्ने योजनामा छौँ।’
बच्चा मात्र नभएर कतिपय विद्यार्थीको परिवार नै बाढीमा परेका छन् भने कतिपय सुरक्षित छन्। यद्यपि सबैको बारेमा भने आफू पनि अनविज्ञ रहेको उनले बताए।
भदौ १५, २०८३ सोमबार १५:३७:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।