रसुवागढी जलविद्युतको खोजी साँच्चै पूरा भयो कि झारा टारियो ?

रसुवागढी जलविद्युतको खोजी साँच्चै पूरा भयो कि झारा टारियो ?

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको अचानकको विनाशकारी बाढीले रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र हराएका कामदारहरूको खोज्दा कोही नभेटेको भनेर नेपाली सेनाको टोली फर्किएपछि गम्भीर प्रश्नहरू उब्जिएका छन्। 

बाढी आए लगत्तै सुरुङभित्र मानिस फसेको आशंकामा नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली भित्री भागसम्म पुग्नै नसकी फर्किएको प्रधानमन्त्री सचिवालयबाट सार्वजनिक भएका भिडियोहरूमा प्रस्ट देखिन्छ।

कम्पनीले कर्मचारी हराइरहेको, सुरुङ भित्र नियमित ड्युटीमा कर्मचारी हुने र  सो क्षेत्रमा १४ देखि १६ जनासम्म फसेको हुनसक्ने बताएको छ। तर सेनाको टोली सुरुङमा कुनै व्यक्ति नभएको भन्दै खोजी रोकेर सोमबार फर्कियो। 

'अहिले पनि हामीलाई त्यति मान्छे त्यहाँ हुनुहुन्छ कि जस्तो लाग्छ किनकि बाहिर त सबै बगाएर लगिहाल्यो बाहिर आउने कुरा भएन,  क्यापलगायत बाहिरसहित ९३ भन्दा बढी छन्,' रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडका सचिव नरनाथ न्यौपानेलाई उद्धृत गर्दै इकान्तिपुर लेखेको छ।

सार्वजनिक भएका भिडियो फुटेजहरूमा सेनासहितको टोली सुरुङभित्र प्रवेश गरेर कोही हुनुहुन्छ भनेर कराएको अनि एक सैनिक अधिकृतले अब यहाँभन्दा अगाडि जान सकिन्न भनेको प्रस्ट सुनिन्छ। त्यसैको आधारमा टोलीले सुरुङको अन्तिम भागसम्म ड्रोन उडाएर खोजी गरिएको तर मानवीय उपस्थिति नभेटिएको भन्दै खोजी कार्य सकिएको दाबी गरेको देखियो।

सार्वजनिक भएको  रसुवागढी जलविद्युत् आयोजनाको सुरुङसहितको नक्सा र त्यसमा रहेको लोगो (गोलाकार घेरामा)तर आयोजनाको उपलब्ध प्राविधिक नक्सा, स्थलगत भिडियो प्रमाण र आयोजनाका जिम्मेवार अधिकारीहरूको भनाइले सुरुङभित्र मानवीय उपस्थिति नभएको सरकारी दाबी सतही देखियो।

सुरुङको केही भागमा बाटो अति नै साँघुरो भएर १ देखि २ फिट मात्र खुला रहेको ठाउँमा उद्धारकर्मीहरूले सुतेरै बाटो पार गर्ने प्रयास गरेको सार्वजनिक भएका फुटेजमा देखिन्छ। सुरुङभित्रको अवस्था अध्ययन गर्ने क्रममा उनीहरूले "अघि भनिएको ठाउँमा तल पस्न सकिने ठाउँ पुरै भरिएको छ" र "नो वे, कतै पनि छैन" भन्दै अघि बढ्न सक्ने अवस्था नरहेको रिपोर्टिङ गरेको प्रस्ट सुनिन्छ।

सुरुङभित्र लेदो भरिएको र सामान्य दृष्टि र ड्रोनले मात्र भित्री संरचनाको वास्तविक स्थिति पत्ता लगाउन नसक्ने भएपछि अन्ततः उद्धार टोली रित्तै हात फर्किएको देखियो।

सार्वजनिक भएको रसुवागढी जलविद्युत् आयोजनाको इन्जिनियरिङ क्रस-सेक्सन नक्सामा आयोजनाको भूमिगत संरचनाको बनावट अत्यन्तै जटिल देखाइएको छ, जसमा पावर हाउस क्याभर्न (Powerhouse Cavern), ट्रान्सफर्मर क्याभर्न (Transformer Cavern), बस बार सुरुङ (Bus Bar Tunnel) र ड्राफ्ट ट्युब (Draft Tube) लगायतका संरचनाहरू समेटिएका छन्। 

सार्वजनिक नक्साको आधारमा केही जानकारहरूसँग कुरा गर्दा बाढीको उच्च बहाव र प्रेसर अचानक सुरुङभित्र प्रवेश गर्दा सुरुङभित्र रहेका टर्बाइन पिट, ड्रेनेज ग्यालरी र तल्लो सतहका भागहरू सेकेन्डभरमै गेगर र लेदोले भरिने बताए।

सार्वजनिक भएको  रसुवागढी जलविद्युत् आयोजनाको सुरुङसहितको नक्साको सरल रेखा(एआइको सहयोगमा निर्मित)नाम उल्लेख गर्न नचाहेका ती जानकारले आयोजनाको नक्सामा देखिएको बनावट अनुसार बाढी पस्दा ड्युटीमा रहेका वा सुरुङभित्र कार्यरत कामदारहरू ज्यान बचाउन तल्लो सतहको पावर हाउस वा टर्बाइन पिट क्षेत्रबाट उचाइतर्फ रहेको ट्रान्सफर्मर क्याभर्न, भेन्टिलेसन प्लिमतर्फ भाग्न सक्ने बताए।

यस्तो अवस्थामा सुरुङभित्र रहेका वा ज्यान बचाउन सुरक्षित स्थान खोज्दै माथिल्लो ग्यालरीतर्फ भागेका कामदारहरू कहाँ र कस्तो अवस्थामा फस्न सक्छन् भन्ने पक्षमा नक्साले गम्भीर खतरा औँल्याएको देखियो।

बाढीसँगै आएको लेदोले सुरुङका मुख्य मार्गहरू मात्र नभई  सुरक्षित भनिएका चेम्बर, भेन्टिलेसन ग्यालरी र भित्री कुनाकाप्चालाई टमक्कै थुनिदिने जोखिम देखियो। जब सुरुङको तल्लो र मध्य भाग लेदोले पूर्ण रूपमा भरिन्छ, तब ती स्थानहरूमा पुगेका वा आश्रय लिन खोजेका मानिसहरू बाहिरिन नपाई लेदोको बाक्लो तहमुनि पुरिने उच्च जोखिम देखियो। 

सार्वजनिक भएका भिडियो क्लिपहरूमा पनि २ सय देखि २ सय ५० मिटरको दूरी पार गर्दा बाटो पूर्ण रूपमा लेदोले ढाकिएको र अघि बढ्ने कुनै पनि बाटो बाँकी नरहेको प्रस्ट देखिएको छ, जसले गर्दा ती लुकेका र बन्द भएका चेम्बरहरूभित्र मानवीय उपस्थिति छैन भनी दाबी गर्नु भने तथ्य भन्दा अनुमान बढी देखियो।

सुरुङमा भरिएको पानी, लेदो र बन्द बाटो खोल्न ड्रिलिङलगायतका हेभी उपकरणहरू आवश्यक पर्ने भए पनि राज्यको तर्फबाट त्यस्ता कुनै पनि साधन स्रोतको जोहो नगरिनु ठूलो कमजोरी देखियो।

कम्पनी सचिव न्यौपाने माथिल्लो त्रिशूली ३ 'ए' र माथिल्लो त्रिशूली ३ 'बी' जलविद्युत् आयोजनामा भइरहेको खोजी अभियान जस्तै खन्ने, लेदो फाल्ने र सुरुङ सफा गर्दै अघि बढ्नु पर्ने बताउँछन्। तर यी एकीकृत मेकानिकल प्रयास भएको देखिएन।

सुरुङमा थुप्रिएको बालुवा, गेगर र लेदो हटाउन साना पम्प, सक्सन मेशिन र ड्रिलिङ मेसिनसहितको विशेष इन्जिनियरिङ र उद्धार टोली सुरुङभित्र परिचालन गर्नु पर्नेमा हेभी इक्विपमेन्टरहित केवल सामान्य दृष्टि र ड्रोनको भरमा मात्रै खोजी गरेर मान्छे रहेको देखिएन भनेर खोजी अभियान स्थगित गर्नु कमजोरी देखियो।

पावर हाउस क्याभर्न र ट्रान्सफर्मर चेम्बरका नक्सामा उल्लेखित भर्टिकल साफ्ट, भेन्टिलेसन प्वाइन्ट र ड्रेनेज ग्यालरीहरूमा लेदोले थुनेका ठाउँहरूलाई मेकानिकल माध्यमबाट खन्दै, पन्छाउँदै र स्क्यानिङ गर्दै खोजी पुन सुरु गर्नुपर्ने देखियो।

भदौ १५, २०८३ सोमबार २२:२०:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।