उद्धारका लागि केरुङतर्फ दुई हजार जनशक्ति खटिए, खोलामा डोजर पसाएर सडक बनाउँदै

उद्धारका लागि केरुङतर्फ दुई हजार जनशक्ति खटिए, खोलामा डोजर पसाएर सडक बनाउँदै

बेइजिङ : नेपाल-चीन सीमास्थित केरुङ नाकामा गएको भीषण लेदोसहितको पहिरोमा परेकाहरूको खोजी तथा उद्धारका लागि चिनियाँ जनमुक्ति सेना (पीएलए) सहित २ हजारभन्दा बढी जनशक्ति परिचालन गरिएको छ।

नेपालतर्फको हिमनदी फुटेर सीमावर्ती नाकामा आएको बाढी-पहिरोपछि चीनको तिब्बत क्षेत्रमा चिनियाँ सेना, सशस्त्र प्रहरी र सरकारी उद्धार संस्था ‘चाइना आनेङ’ का टोलीहरू खटिएका छन्।

उद्धार टोलीले पहिरोमा बेपत्ता भएका ५४६ जनाको खोजीलाई तीव्र बनाएको छ।

घुँडासम्म आउने लेदो, तीव्र हावाहुरी, अक्सिजन कम हुने उच्च हिमाली भूगोल र प्रतिकूल मौसमका बाबजुद उद्धारकर्मीहरूले जीवित व्यक्तिहरूको खोजीका साथै सञ्चार, विद्युत् र यातायात सुचारु गर्ने काम गरिरहेका छन्। नाका जोड्ने मुख्य ‘जी-२१६’ राष्ट्रिय राजमार्गको अवरोध हटाउने कार्य अन्तिम चरणमा पुगेको छ।

१६ जनाको मृत्यु, २६१ विदेशी नागरिक बेपत्ता
चिनियाँ अधिकारीहरूका अनुसार अगस्ट २६ मा आएको विनाशकारी पहिरोमा परी हालसम्म १६ जनाको मृत्यु पुष्टि भएको छ। बेपत्ता ५४६ जनामध्ये २३ देशका २६१ जना विदेशी नागरिक छन्। मृतकहरूको सम्झनामा मंगलबार केरुङमा विशेष शोकसभा आयोजना गरिएको थियो।

सीमा क्षेत्रमा आफ्ना हजारौँ उद्धारकर्मी खटाएको चीनले नेपालतर्फको उद्धार कार्यमा पनि सघाउन विज्ञ टोली परिचालन गरेको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनका अनुसार नेपालका प्रभावित क्षेत्रमा सुरुङ उद्धार विज्ञहरूको दुईवटा विशेष टोली खटाइएको छ। साथै, चीन सरकारले आपत्कालीन आर्थिक सहायता, मौसम तथा बाढीसम्बन्धी पूर्वसूचना र ५० टन आपत्कालीन राहत सामग्री काठमाडौँ पठाइसकेको छ।

भदौ १६, २०८३ मंगलबार १४:०७:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।