भोटेकोशी बाढीमा ओछ्यानसहित बगेका २१ वर्षीय सिजल भन्छन्, ‘सपनामा बगाएको जस्तै लाग्यो, कसरी बाँचे थाहा छैन’
काठमाडौं : भदौ १० गते बुधबार बिहान रसुवाको भोटेकोशीमा उर्लिएको बाढीले यतिबेला सिङ्गो देश स्तब्ध छ, विश्वकै ध्यान नेपालतिर तानिएको छ।
बाढी कसरी आयो र यसको वातावरणीय प्रभाव के हो भन्नेबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूले विश्लेषण गरिरहेका छन्। तर, काठमाडौंस्थित अस्पताल र शवगृहहरूमा भने विश्लेषण होइन, केवल आँसु, छटपटी र कारुणिक सुस्केराहरू मात्र सुनिन्छन्।
आफन्त भेटिने झिनो आशा र नभए कम्तीमा पहिचान खुल्ने शव भए पनि फेला पर्ने पर्खाइमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसरमा बाढी प्रभावितहरूको बाक्लो घुइँचो छ।
अस्पतालको सहायता कक्षमा टाँसिएको उपचाररत घाइतेहरूको सूचीमा आँखा दौडाउनु, त्यहाँ नभेटिए बेपत्ताको विवरण टिपाउनु, भित्तामा आफन्तको तस्बिर र फोन नम्बर टाँस्नु र अन्त्यमा भारी मन लिएर शवगृहतिर पाइला सार्नु- अस्पताल पुग्ने जो बाढी प्रभावितहरूको अवस्था यही हो।

शवगृहको ढोकामा टाँगिएका क्षतविक्षत र सुन्निएका शवका तस्बिरहरू हेर्न नसकिने छन्। प्रहरीका अनुसार विभिन्न स्थानबाट फेला परेका ५५३ शवमध्ये धेरैको अझै पहिचान खुल्न सकेको छैन।
काठमाडौं उपत्यकामा ९७ जना घाइते उपचाररत छन् भने केही डिस्चार्ज भइसकेका छन्। तर, घाइतेभन्दा धेरै त अस्पतालमा आफन्तको तस्बिर छातीमा टाँसेर आँसु पुछ्दै भौँतारिनेहरूको संख्या छ।
०००
यही रुवाबासी र कोलाहलका बीच त्रिवि शिक्षण अस्पतालको एउटा शय्यामा उपचाररत भेटिए- २१ वर्षीय सिजल थापा क्षेत्री।
टाउको र गालामा सेतो पट्टी, शरीरभरि निलडाम र कोरिएका आलो घाउका डोबहरू। दायाँ खुट्टामा बाक्लो ब्यान्डेज बेरिएको छ भने ओछ्यानको छेउमा प्लास्टिकको पिसाबको थैली झुण्डिएको छ।
शून्य आँखाले छततिर टोलाइरहेका उनीसँग कुरा गर्न नजिकिँदा उनी बोल्न खोजे। उनलाई आफ्ना घटनाको विवरण सुनाउन मन रहेछ।
बाढीले बगाएको २४ घण्टापछि अर्थात् बिहीबार बिहान ९ बजे उनी रसुवाबाट काठमाडौंको अस्पतालको शय्यामा आइपुगेका थिए। उनलाई सेनाको हेलिकोप्टरमा उद्धार गरेर काठमाडौं ल्याइएको पनि उनले अस्पतालमै थाहा पाए।
तर, मृत्युको मुखबाट फर्किंदाको त्यो भयानक स्मृति उनको मस्तिस्कमा गाढा बनेर बसेको छ।
ध्वस्त आयोजना र बगेको बस्ती
सिजल रसुवाको उत्तरगया गाउँपालिका-४, पहिरेवेशी गाउँका स्थानीय हुन्। सामान्य किसान परिवारमा जन्मिएका उनले १० कक्षासम्म पढेपछि गुजाराकै लागि मजदुरी रोजेका थिए।
उनी पछिल्लो १५ महिनादेखि जलविद्युत आयोजना अन्तर्गत त्रिशूली-३ ‘बी’ हबको २२० केभी सबस्टेसनको सुरुङमार्गमा काम गर्दै आएका थिए।

निर्माण कार्य अन्तिम चरणमा पुगिसकेको उक्त आयोजनामा गाउँका र बाहिरका गरी करिब पाँच सय मजदुर कार्यरत थिए। आयोजनास्थल नजिकै सिजलको घर थियो।
तर, बुधबार बिहानको बाढीले न त अर्बौंको जलविद्युत आयोजना बाँकी राख्यो, न त उनको सिंगो गाउँ नै। बाढीको उर्लंदो छालले बस्ती र आयोजनालाई एकै चिहान बनाएको भिडियो अहिले उनका आफन्तहरूले देखाइरहेका छन्।
सपनाजस्तो त्यो प्रलय
आयोजनामा १५-१५ दिनको आलोपालोमा काम हुन्थ्यो। सिजलको यसपटक रातिको ड्युटी थियो। भदौ ९ गते रातिको सिफ्ट सकेर उनी बिहान २ बजेतिर घर फर्केका थिए।
दिनभरिको थकानले ओछ्यानमा पल्टिनासाथ उनी मस्त निदाए। तर, बिहान त्यस्तो महाप्रलय होला भन्ने उनले कल्पनासमेत गरेका थिएनन्।
निद्रामै रहेका बेला घरभित्र पसेको बाढीले उनलाई ओछ्यानसहित बगाइसकेको थियो। बिउँझिँदा उनी पानी र माटोको लेदोको भयानक भेलमा तैरिरहेका थिए।
घटना सम्झिँदै उनले भने, ‘मलाई त सपनाजस्तै लाग्यो, सपनामै बगाएको जस्तो! खेतको कान्लामा घाँस समात्न खोजेँ, तर सकिनँ। बगाएको बगायै गर्दा झन्-झन् तलतल पुगेजस्तो भयो। हिकहिक भएर सास फेर्नै गाह्रो भइसकेको थियो। अम्ममा! त्यति ठूलो समुद्रजस्तो खोलो देखेर आत्तिएँ। कान्लामा हात जाँदै गएको थिएन। हत्तनपत्त माथि आउन खोज्यो कि स्वाट्ट तल तानिहाल्ने खोलो थियो।’
गाउँकै खोलामा पौडी खेलेको अनुभवका कारण उनले बाढीसँग जुध्न सकेजति हातगोडा चलाए। तर, त्यो उर्लंदो छालका अगाडि उनको केही सीप चलेन। बाँच्ने संघर्ष गर्दागर्दै उनी पानीमै बेहोस भए।
‘होस खुल्दा त हाम्रो घरभन्दा माथि खोलाले नभेट्ने पहिरोको डिलमा पुगेछु। मलाई कसले त्यहाँ पुर्यायो, के भयो, केही थाहै छैन’, उनले उकेरासँग भने।

गोसाइँकुण्ड मेला गएका कारण उनका बुबा भने बाढीबाट जोगिएका थिए। होसमा आउनासाथ अगाडि बुबालाई देख्दा उनलाई नयाँ जीवन पाएको महसुस भयो। सुरुमा उनलाई स्थानीय स्वास्थ्यचौकी लगियो।
त्यहाँ उपचार सम्भव नभएपछि बिहीबार नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो। घाइतेलाई मात्र ल्याउने भनिएकाले उनका बुबा धुन्चेमै रोकिए। तर, उनकी आमा भने बाढी आएदेखि नै बेपत्ता छिन्।
‘ममी तरकारी किन्न जानुभएको थियो रे, त्यसपछि अहिलेसम्म केही खबर छैन। अब त गाउँ नै छैन, ममी कहाँ पो पुग्नुभयो होला!’ सिजलको स्वर भासियो, ‘ड्याडीसँग फोनमा कुरा त भइरहेको छ, तर ममीको केही पत्तो छैन।’
घाउ, बालुवाको वान्ता र अन्योल भविष्य
बाढीको भेलसँगै सिजलको मुख र कानभित्र बालुवा र लेदो पसेको थियो।
‘मैले त मरेँ नै भन्ठानेको थिएँ, धन्न बाँचेछु! घरमा ममी, दुईजना ९-१० वर्षका साना भाइहरू र ठूलोबा हुनुहुन्थ्यो, सबै बगे। सबै सम्पर्कविहीन छन्’, गहभरि आँसु पार्दै उनले भने।
बाढीले गर्दा उनको हातखुट्टा अझै सुन्निएका छन्। अस्पताल ल्याइएको दिन उनले दिनभरि बालुवा मात्र वान्ता गरेका थिए। अझै पनि थुक्दा र खोक्दा बालुवा मिसिएर आउँछ।
खुट्टामा ढुङ्गा र बालुवाले गहिरो चोट लागेका कारण अस्पताल ल्याउनासाथ राति नै शल्यक्रिया गरिएको थियो। शरीरभरि आलो घाउ भए पनि अहिले उनलाई दुखाइको त्यति महसुस छैन, तर पछि बल्झिन सक्ने चिकित्सकहरूले बताएका छन्।
प्रधानमन्त्री तथा मन्त्रीहरू बाढी प्रभावित क्षेत्रको अनुगमनमा निस्किएको खबर उनले पनि सुनेका रहेछन्। तर, सरकार नुवाकोटसम्म मात्र पुगेर फर्किएको र आफ्नो गाउँसम्म नपुगेको थाहा पाउँदा उनमा आक्रोश र निराशा दुवै छ।
‘गाउँ नै नभएको ठाउँमा त सरकार पुगेकै छैन रे! हामीजस्ताको अवस्था हेर्न सरकार कहाँ आउँथ्यो र?’ ओठको कुनाबाट थोरै व्यङ्ग्य मिसाउँदै उनले भने, ‘उनीहरूलाई घुम्नै फुर्सद छैन, हामीलाई भेट्छन्?’

अहिले उनी विस्तारै बोल्न सक्ने भएका छन्। काठमाडौंमा रहेका आफन्त र साथीभाइ भेट्न आउँदा उनी केही सम्हालिन्छन्। तर, जब आमा र साना भाइहरूको सम्झना आउँछ, उनी फेरि टोलाउँछन्।
शारीरिक रूपमा उनी अझै अरूको सहाराबिना ओछ्यानबाट उठ्न सक्दैनन्। अस्पतालले कहिले डिस्चार्ज गर्छ, अझै निश्चित छैन।
तर, त्योभन्दा ठूलो प्रश्न सिजलको अगाडि छ- ओत लाग्ने घर र टेक्ने गाउँ नै बाढीले बगाइदिएपछि अस्पतालबाट डिस्चार्ज भएर पनि कहाँ जाने?
भदौ १३, २०८३ शनिबार ११:०८:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।