बाढी प्रभावित क्षेत्रमा १८ हजार सुरक्षाकर्मी र १६ हेलिकप्टर परिचालन: साढे ७ हजारभन्दा बढीको उद्धार
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा पुनः स्थापनाका कार्यहरू नतिजा नआएसम्म निरन्तर जारी रहने बताएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत उनले विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका तटीय क्षेत्रमा निकै ठूलो जनधन र भौतिक क्षति पुर्याएकोप्रति नेपाल सरकार अत्यन्तै गम्भीर र संवेदनशील रहेको बताए।
बाढी आए लगत्तै सरकारले प्रभावित क्षेत्रमा उद्धार, खोजी र राहत कार्यलाई कुनै पनि कसर बाँकी नराखी अहोरात्र तीव्र पारिरहेको उनले बताए।
“सङ्घ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरूसँगको निरन्तर समन्वय, सहकार्य र सहजीकरणमा यो कार्यलाई पूर्ण क्षमताका साथ निरन्तरता दिइएको छ। राज्यका सबै किसिमका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवन रक्षा नै सरकारको पहिलो प्राथमिकता बनेको कुरा दोहोर्याउन चाहन्छौं”, उनले भने।
शाहका अनुसार प्रतिकूल मौसम र विकट भौगोलिक परिस्थितिका बाबजुद पनि प्रभावित क्षेत्रबाट शनिबार साढे ५ बजेसम्म सात हजार ५१४ जना मानिसलाई हवाई र स्थलमार्गमार्फत सफलतापूर्वक उद्धार गरी सुरक्षित स्थानमा पुर्याइएको छ। जसमध्ये विभिन्न जलविद्युत् आयोजना क्षेत्रमा फसेका २७९ जना मानिसको उद्धार भइसकेको छ भने बाँकी क्षेत्रमा नेपाली सेनाले उद्धारको प्रयास जारी राखेको छ।
उद्धारमा भारतीय र चिनियाँ विज्ञहरू नेपाली सेनासँगको समन्वयमा खटिएका छन्। प्रभावित क्षेत्रमा उद्धार कार्यका लागि नेपाली सेना र निजी क्षेत्रका गरी १६ वटा हेलिकप्टर प्रयोग गरेर हालसम्म २३६ वटा उडान भरिसकेको अवस्था छ। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी १८ हजार ७०८ जना सुरक्षाकर्मी खटिएका छन्।
साथै सरकार प्रभावित क्षेत्रबाट उद्धार गरिएका जटिल घाइतेहरूलाई काठमाडौंका विभिन्न अस्पतालहरूमा ल्याएर उपचार गरिरहेको उनको भनाइ छ। साथै, घाइते र उनीहरूका परिवारका सदस्यहरूलाई मनोपरामर्श सेवासमेत प्रदान गरिरहेको उनको भनाइ छ।
भदौ १३, २०८३ शनिबार २१:०८:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।