खोटाङमा मेला भरेर फर्किएको ट्याक्टर दुर्घटना : ३४ घाइते, ५ को अवस्था गम्भीर

खोटाङमा मेला भरेर फर्किएको ट्याक्टर दुर्घटना : ३४ घाइते, ५ को अवस्था गम्भीर

खोटाङ : धार्मिक मेला भरेर घर फर्कँदै गरेको अवस्थामा खोटाङमा ट्याक्टर दुर्घटना हुँदा ३४ जना भक्तजन घाइते भएका छन्।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ नेर्पास्थित भुलभुले दूधकुण्डमा लागेको धार्मिक मेला भरेर घर फर्कँदै गरेका भक्तजन चढेको ना५त ४५५५ नम्बरको ट्याक्टर सोही नगरपालिकाको वडा नं २ सोल्मास्थित छेपेखोलामा दुर्घटना भयो। 

गुडिरहेको ट्याक्टरको पछाडिको भाग बीच सडकमा घोप्टिएर भएको दुर्घटनामा पाँच जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी निराजन बस्नेतले जानकारी दिए। 

“दुर्घटनाका सबै घाइतेलाई उद्धार गरेर जिल्ला अस्पताल दिक्तेल ल्याएका छौं। अहिलेसम्म कसैको पनि पहिचान खुलेको छैन”, उनले भने, “पाँच जनाको अवस्था गम्भीर छ। जिल्लामा उपचार सम्भव नभएपछि अस्पतालले २० जनालाई थप उपचारका लागि काठमाडौं ‘रेफर’ गरिसकेको छ। घाइते १४ जनाको यही उपचार भइरहेको छ।”

अस्पतालले रेफर गरेका घाइतेलाई एम्बुलेन्स तथा सुमो जिप रिजर्भ गरेर उपचारमा पठाइएको दिक्तेल रुपाकोट मझुवागढीका उपप्रमुख विशन राईले जानकारी दिए। 

“दिउँसोदेखि जिल्लामा भीषण वर्षा भइरहेको छ। निरन्तरको वर्षाले उद्धारमा समेत समस्या भयो”, उनले भने, “निरन्तरको वर्षाका बाबजुद नगरपालिकाको एम्बुलेन्स तथा सुमो रिर्जभ गरेर घाइतेलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।”

घाइतेको टाउको, हातखुट्टा तथा शरीरका विभिन्न भागमा गहिरो चोट लागेको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताए। भक्तजन चढेको ट्याक्टर दुर्घटना दिउँसो २ बजेको समयमा भएको प्रत्यक्षदर्शीले बताए।

ट्याक्टर दुर्घटना लगत्तै चालक ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका-७ का २३ वर्षीय रिनिमा शेर्पालाई प्रहरीले नियन्त्रणमा लिइसक्यो। मध्यपहाडी लोकमार्गअन्तर्गत चखेवाभञ्ज्याङतर्फबाट दिक्तेल आउँदै गरेको खाली ट्याक्टर रोकेर भक्तजन चढेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।

भदौ १२, २०८३ शुक्रबार १९:१०:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।