कांग्रेसमा फेरि महाधिवेशनको टकराब, छुट्टै कार्यतालिका ल्याउँदै संस्थापन इतर पक्ष
काठमाडौं : नेपाली कांग्रेसले १५औँ महाधिवेशनको गृहकार्य सुरु गरेपछि संस्थापन पक्ष इतर पक्षले पनि छुट्टै कार्यतालिका ल्याउने भएको छ। शनिबार प्रेस विज्ञप्ति जारी गरेर संस्थापन इतर पक्षका नेता डा. शशांक कोइरालाले चौधौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति नै वैधानिक भएकोले सोही कार्यसमितिले यथाशीघ्र कार्यतालिका सार्वजनिक गरेर महाधिवेशनको प्रक्रिया प्रारम्भ गर्ने बताए।
विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा बनेको कार्यसमितिले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेर अधिवेशनका गतिविधि अघि बढाएको थियो। उक्त महाधिवेशन रोक्न माग गर्दै पार्टीका पूर्व सभापति शेरबहादुर देउवा र पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का सर्वोच्च अदालत पुगेका थिए।
अदालतबाट रोक्ने आदेश नआएपछि इतर पक्षले पनि महाधिवेशनको पक्रिया सुरु गर्ने जनायो। नेता कोइरालाले चौधौँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै वैधानिक भएकोले महाधिवेशन गराउने जिम्मेवारी आफू पक्षको भएको दाबी गरे। पार्टीको केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवाद अदालतमा विचाराधीन रहे पनि पार्टीको वैधानिक दायित्वअनुसार महाधिवेशनको प्रक्रिया अघि बढाउनुपर्ने उनको भनाइ छ।
उनले भने, "चौधौं महाधिवेशनबाट निर्वाचित हाम्रो वैधानिक केन्द्रीय कार्यसमितिले पन्ध्रौं महाधिवेशन गर्नुपर्ने वैधानिक दायित्व भएको बोध गर्दै पन्ध्रौं अधिवेशन तथा महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गरी पुनः प्रक्रिया प्रारम्भ गरिनेछ।"
कोइरालाका अनुसार पन्ध्रौं महाधिवेशनका लागि पूर्वनिर्धारित कार्यतालिकाअनुसार क्रियाशील सदस्यता व्यवस्थापन समिति, क्रियाशील सदस्यता छानबिन समिति र निर्वाचन समिति गठनलगायतका काम अघि बढाइनेछ। त्यसपछि पार्टीका सबै तहमा अधिवेशन गरिने र अधिवेशन तथा महाधिवेशनको विस्तृत कार्यतालिका सार्वजनिक गरिने उनले बताए।
"यसका लागि पूर्वनिर्धारित कार्यतालिकाबमोजिमका क्रियाशील सदस्यता व्यवस्थापन समिति, क्रियाशील सदस्यता छानबिन समिति, निर्वाचन समिति गठनलगायतका कार्यहरू गरी सबै तहका अधिवेशन गरिनेछ," उनले भने।
विशेष महाधिवेशनबाट बनेको भनिएको स्वघोषित कार्यसमितिले गर्ने गतिविधिमा सहभागी नहुन पनि कोइरालाले आग्रह गरे। उनले चौधौं महाधिवेशनबाट निर्वाचित वैधानिक कार्यसमितिले गर्ने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न सबै तहका पदाधिकारी, सदस्य, प्रतिनिधि, समर्थक तथा शुभेच्छुकलाई आग्रह गरे।
उनले भने, "तथाकथित विशेष महाधिवेशनबाट स्वघोषित कार्यसमितिले गर्ने गराउने अधिवेशन तथा महाधिवेशनसम्बन्धी गतिविधिमा सामेल नभई चौधौं महाधिवेशनबाट निर्वाचित वैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न सबै तहका इमानदार, स्वाभिमानी एवं जिम्मेवार पदाधिकारी, सदस्य, प्रतिनिधि, समर्थक तथा शुभेच्छुक साथीहरूमा हार्दिक अनुरोध गर्दछु।"
कोइरालाले कांग्रेसको केन्द्रीय कार्यसमितिको आधिकारिकताको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको र पार्टीको विधानअनुसार पदावधि यही मंसिर मसान्तमा तथा नेपालको संविधानअनुसार थप छ महिनामा समाप्त हुने अवस्था रहेको उल्लेख गरे। स्थानीय तहको निर्वाचन २०८४ वैशाखमा र प्रदेशसभा निर्वाचन करिब एक वर्षमा हुने भएकाले पार्टीलाई समयमै अधिवेशनमार्फत व्यवस्थित र सुदृढ बनाउनुपर्ने उनले बताए।
"नेपाली कांग्रेसको आधिकारिताको विवाद सम्मानित सर्वोच्च अदालतले आफ्नो कार्यविधि भित्रै रहेर विगतका प्रतिपादित सिद्धान्त र अभ्यासकै आधारमा यथाशीघ्र टुङ्याउँने र हामीले न्याय पाउने छौं भन्ने गहिरो विश्वास पनि रहेको छ," उनले भने।
भदौ १३, २०८३ शनिबार १८:१२:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।