नुवाकोट ब्यारेकबाट बाढीपीडितको गुहार : ‘बिस्कुट र पानी भए पनि केही सहज हुन्थ्यो’

नुवाकोट ब्यारेकबाट बाढीपीडितको गुहार : ‘बिस्कुट र पानी भए पनि केही सहज हुन्थ्यो’

काठमाडौं : रसुवाका विभिन्न स्थानबाट उद्धार गरी नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकमा ल्याइएका बाढीपीडितहरूको लागि आवश्यक खानपान र उचित बसोबासको व्यवस्थापन नहुँदा उनीहरूले कठिनाइ भोग्न परेको छ। 

उद्धार गरिएको चार दिन बितिसक्दा पनि बसोबास र खाद्यान्नको सहज प्रबन्ध हुन नसक्दा पीडितहरूलाई समस्या भइरहेको छ। बाढी प्रभावित क्षेत्रबाट ल्याइएका उनीहरू हाल ब्यारेक परिसरमा बसिरहेका छन्। 

ब्यारेक आसपासका होटेलहरूमा खाना महँगो भएको र पर्याप्त खाद्यान्न उपलब्ध नहुँदा बालबालिका तथा वृद्धवृद्धा बढी अप्ठेरो अवस्थामा छन्। ब्यारेकमा बसिरहेका राजेश केसीले होटेलहरूमा अत्यधिक महँगी रहेको र पर्याप्त खानेकुरा उपलब्ध हुन नसकेको बताए।

“म विगत चार दिनदेखि यहाँ बसिरहेको छु। यहाँ बस्नेहरूलाई मैले देखिरहेको समस्या भनेको होटेलहरूमा एकदमै महँगी छ। खानेकुरा पनि पर्याप्त मात्रामा पुगिरहेको छैन,” उनले भने, “यहाँ बसिरहेकालाई बिस्कुट, चाउचाउ, पानीलगायतका खाद्य सामग्री उपलब्ध भए केही सहज हुने थियो। जतिसक्दो चाँडो सम्बन्धित निकायसम्म आवाज पुगोस् र यहाँ बस्नेहरूलाई आफ्नो परिवारसँग भेट गराइदिनुहुन अनुरोध गर्दछु।”

ब्यारेकमा बाढी पीडितका साथै उनीहरूलाई भेट्न र सम्पर्कविहीन आफन्तबारे जानकारी लिन पुग्ने परिवारजनको संख्या ठूलो रहेकाले भिडभाड बढेको छ। यसै क्रममा, आफ्ना सदस्यको खोजीमा पुगेका परिवारजन र सुरक्षाकर्मीबिच केही समय भनाभन र तनावको स्थिति समेत सिर्जना भएको थियो। 

सूचना आदानप्रदानमा स्पष्टता नहुँदा पीडित परिवार थप आक्रोशित छन्। प्रभावितहरूले तत्काल राहत सामग्री उपलब्ध गराउन, बसाइको उचित प्रबन्ध गर्न र सम्पर्कविहीन रहेका आफन्तहरूको अवस्थाबारे आधिकारिक जानकारी दिन तथा सुरक्षित रूपमा भेट गराउने व्यवस्था मिलाउन उनीहरूले माग गरेका छन्।

भदौ १३, २०८३ शनिबार १६:३७:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।