९७ वर्षीया गुणमायाको उद्धारपछि आफन्त भन्छन्- ‘युद्ध जितेर फर्केकी योद्धा जस्तै देखिइन्’

९७ वर्षीया गुणमायाको उद्धारपछि आफन्त भन्छन्- ‘युद्ध जितेर फर्केकी योद्धा जस्तै देखिइन्’

काठमाडौं : बुधबार भोटेकोशी नदीमा आएको बाढीको भग्नावशेषबाट ९७ वर्षीया एक वृद्धाको जीवितै उद्धार गरियो। उनलाई उद्धार गरेर डोजरमा राखिएको भिडियो सामाजिक सञ्जालमा समेत भाइरल बन्यो।

 बाढीले बगाएर ल्याएको गेग्रान र भत्किएको घरमा पुरिएकी ९७ वर्षीया गुणमाया बोहराको सकुशल उद्धार गरिएको हो। हाल अस्पतालमा उपचाररत उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको चिकित्सकहरूले जानकारी दिएका छन्।

गुणमायालाई भग्नावशेषबाट बाहिर निकाल्न उद्धार टोलीलाई करिब ४ घण्टा लामो समय लागेको थियो।

आफ्नी हजुरआमा नाता पर्ने गुणमायाको उद्धारमा सघाउन काठमाडौंबाट घटनास्थल पुगेका उनका नाति दीपक बोहराले यो उद्धारलाई कुनै अद्भूत घटनाको संज्ञा दिएका छन्।

दीपकले बीबीसी नेपालीसँग कुरा गर्दै भनेका छन्, ‘भग्नावशेषबाट बाहिर निकालिँदा उहाँ ठ्याक्कै कुनै भीषण युद्ध जितेर फर्केकी योद्धाजस्तै देखिनुहुन्थ्यो।’

९७ वर्षको उमेरमा पनि मृत्युलाई जितेर सकुशल निस्किएकी गुणमायाको आत्मविश्वास र बाँच्ने जिजीविषाले उद्धारमा खटिएका सबैलाई भावुक बनाएको थियो।

बाढीका कारण बेपत्ता भएका पाँच सयभन्दा बढीको शव अहिलेसम्म फेला परिसकेको छ भने खर्बौंका भौतिक संचरना ध्वस्त भएका छन्।

भदौ १३, २०८३ शनिबार १४:०८:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।