बिहीबारसम्म नुवाकोटभर बिजुली पुर्‍याउने प्राधिकरणको दाबी ‘गफ’ मात्रै, अझै १० प्रतिशत क्षेत्रमा छैन बत्ती

बिहीबारसम्म नुवाकोटभर बिजुली पुर्‍याउने प्राधिकरणको दाबी ‘गफ’ मात्रै, अझै १० प्रतिशत क्षेत्रमा छैन बत्ती

काठमाडौं : भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि अवरुद्ध भएको विद्युत् सेवा सुचारु गर्ने विषयमा नेपाल विद्युत् प्राधिकरणले गरेको दाबी हावादारी सावित भएको छ।

बिहीबार दिउँसो ३ बजेभित्रै नुवाकोट जिल्लाभरि बिजुली बालिसक्ने घोषणा गरेको प्राधिकरणले शनिबारसम्म पनि जिल्लाभर पूर्ण रूपमा बिजुली पुर्याउन सकेको छैन।

प्राधिकरणका सञ्चालक समिति सदस्य अंशु किरण शाहीले बिहीबार बालाजु-त्रिशूली ६६ केभी लाइनबाट ११ केभी लाइन तानेर सोही दिन दिउँसो ३ बजेसम्म नुवाकोटभर विद्युत् पुर्याउने गरी तीव्र गतिमा काम भइरहेको दाबी गरेका थिए।

तर, सो दाबीको दुई दिन बितिसक्दा पनि शनिबारसम्म नुवाकोट पूर्ण रूपमा उज्यालो हुन सकेको छैन।

जिल्लाको एक मात्र सरकारी अस्पताल नै अन्धकारमा
बाढीका घाइतेहरूको उपचार र शव व्यवस्थापन भइरहेको जिल्लाको एक मात्र सरकारी अस्पताल ‘त्रिशूली अस्पताल’मा शुक्रबार बेलुकी मात्र बत्ती बल्यो।

आपत्कालीन अवस्थामा जेनेरेटरको भरमा अस्पताल सञ्चालन गर्नुपर्दा स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर परेको थियो।

यता, ऊर्जा मन्त्रीको सचिवालयले समेत शनिबारसम्म नुवाकोटको करिब ९० प्रतिशत क्षेत्रमा मात्रै विद्युत् पुगेको स्वीकार गरेको छ।

बिहीबारको भाका फेल खाएपछि अब प्राधिकरणले फेरि नयाँ समयसीमा सारेको छ।

नेपाल विद्युत् प्राधिकरण नुवाकोट वितरण केन्द्रका प्रमुख राजकुमार रमणले प्राविधिक कठिनाइहरूका कारण केही ढिलाइ भएको बताउँदै आइतबारसम्म जिल्लाभरि नै विद्युत् आपूर्ति नियमित गरिने दाबी गरेका छन्।

उनले आफूहरू सकेसम्म छिट्टै रसुवामा पनि बत्ती पुर्याउने प्रयासमै रहेको बताए।

भदौ १३, २०८३ शनिबार १३:३३:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।