२२९ शवको डीएनए संकलन गरी देवघाटमा गाडिने चितवन सुरक्षा समितिको निर्णय
चितवन : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट बगेर चितवन आइपुगेका २२९ वटा पहिचान नखुलेका शवलाई डीएनए नमुना सुरक्षित राखेर जमिनमुनि व्यवस्थापन गरिने भएको छ।
महामारीको जोखिम रोक्न र शवहरूको सम्मानजनक व्यवस्थापन गर्न यस्तो बाध्यकारी निर्णय लिइएको जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारि गणेश अर्यालको दाबी छ।
बाढीपछि चितवनका नदी तटीय क्षेत्रबाट हालसम्म कुल २३३ वटा शव तथा मानव अवशेष संकलन गरिएको थियो।
तीमध्ये अहिलेसम्म जम्मा ४ वटा शवको मात्र सनाखत हुन सकेको छ भने बाँकी २२९ वटा शव विभिन्न होल्डिङ सेन्टर तथा स्वास्थ्य संस्थाहरूमा राखिएको थियो।
नदीबाट निकालिएका शव तथा अवशेषहरू सडेगलेको र क्षतविक्षत अवस्थामा रहेकाले अब सामान्य अवस्थामा पहिचान खुल्न नसक्ने अवस्थामा पुगेको अर्यालको भनाइ छ।
तत्कालका लागि व्यवस्थित गरिएका होल्डिङ सेन्टरहरूमा शवहरू अत्यधिक दुर्गन्धित बन्दै गएपछि संक्रमण र महामारी फैलिन सक्ने स्वास्थ्य क्षेत्रका विज्ञहरूले चेतावनी दिएका थिए।
विज्ञहरूको राय र कानुनी प्रावधानलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समिति चितवनको बैठकले ‘पहचान नभएका तथा वेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम शवहरूलाई जमिनमुनि गाड्ने निर्णय गरेको हो।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार भविष्यमा आफन्तले दाबी गर्न आएमा पहिचान गर्न सहज होस् भन्नका खातिर प्रत्येक शवको अनिवार्य डीएनए नमुना संकलन गरिनेछ।
संकेत नम्बर (कोड) का आधारमा पूर्ण अभिलेख सुरक्षित राखेर ती शवहरूलाई शनिबारदेखि नै भरतपुर महानगरपालिका वडा नं. १ स्थित देवघाटको खुला स्थानमा सुरक्षित रूपमा जमिनमुनि व्यवस्थापन गरिनेछ।

भदौ १३, २०८३ शनिबार १२:५४:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।