धुन्चेमा अलपत्र बाढीप्रभावितलाई वैकल्पिक मार्गबाट काठमाडौँ ल्याइँदै, प्रदेश सरकारद्वारा ४५ बस र नि:शुल्क खानाको व्यवस्था

धुन्चेमा अलपत्र बाढीप्रभावितलाई वैकल्पिक मार्गबाट काठमाडौँ ल्याइँदै, प्रदेश सरकारद्वारा ४५ बस र नि:शुल्क खानाको व्यवस्था

काठमाडौं : उद्धारको प्रतीक्षामा रसुवाको सदरमुकाम धुन्चेमा रोकिएका बाढी प्रभावितलाई बागमती प्रदेश सरकारले वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौं ल्याउने व्यवस्था मिलाएको छ।

हवाइमार्गबाट तत्काल उद्धार सम्भव नभएपछि प्रदेश सरकारले सडक तथा पैदलमार्गको विकल्प प्रयोग गरी अलपत्र नागरिकलाई सुरक्षितरूपमा काठमाडौं ल्याउन थालेको हो।

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाका अनुसार धुन्चेमा रोकिएका नागरिकका लागि प्रदेश सरकारले त्यहीँ खाना खुवाउने व्यवस्था गरेको छ। खाना खुवाएपछि उनीहरूलाई गाडीमार्फत महावीरसम्म पुर्याइनेछ । महावीरबाट करिब एक घण्टा पैदल हिँडेपछि चौगटी पुगिने र त्यहाँबाट काठमाडौं ल्याइने व्यवस्था मिलाइएको उनले जानकारी दिए।

यसका लागि प्रदेश सरकारले निःशुल्क ४५ वटा बसको व्यवस्था गरेको छ। धुन्चेसँगै चौगटीमा समेत सर्वसाधारणका लागि खानाको व्यवस्था प्रदेश सरकारले नै मिलाएको छ। उद्धारको प्रतीक्षामा रहेका नागरिकलाई बाटोमा खानपानलगायतका आधारभूत समस्या नहोस् भन्ने उद्देश्यले आवश्यक व्यवस्थापन गरिएको जनाइएको छ।

प्रदेश सरकारले त्रिशूली पारिको क्षेत्रमा अवरुद्ध मध्यपहाडी लोकमार्ग सफा गरी यातायात सञ्चालनमा ल्याउने प्रयाससमेत अघि बढाएको जनाएको छ।

भदौ १३, २०८३ शनिबार १२:१२:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।