रसुवा बाढी : चितवनमा पहिचान हुन नसकेका शवको डिएनए नमुना राखेर जमिनमुनि व्यवस्थापन गरिने
काठमाडौं : चितवन जिल्ला प्रशासन कार्यालयले रसुवामा आएको विनाशकारी बाढीपछि जिल्लाका विभिन्न स्थानबाट संकलन गरिएका पहिचान हुन नसकेका शवहरूलाई जमिनमुनि व्यवस्थापन गर्ने निर्णय गरेको छ।
शनिबार सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले हालसम्म संकलन गरिएका २३३ शवमध्ये ४ वटाको मात्रै पहिचान खुलेको र बाँकी २२९ वटा शव होल्डिङ सेन्टर तथा विभिन्न स्वास्थ्य संस्थामा रहेको जनाएको छ।
होल्डिङ सेन्टर, स्वास्थ्य संस्था तथा नदी किनारबाट संकलन गरिएका शव तथा शवका अवशेषहरू सड्दै गएर पहिचान गर्न नसकिने अवस्थामा पुगेको प्रशासनको भनाइ छ।
ती शव तत्काल व्यवस्थापन नगर्दा संक्रमण तथा महामारी फैलिन सक्ने स्वास्थ्य क्षेत्रका विज्ञहरूको राय तथा विश्लेषण रहेको सूचनामा उल्लेख छ।
प्रशासनले पहिचान नभएका र बेवारिसे शवलाई सम्मानजनक, सुरक्षित तथा कानुनी रूपमा व्यवस्थापन गरिने जनाएको छ। प्रशासनद्वारा आज जारी सूचनामा भनिएको छ, “सम्भावित सङ्क्रमणको जोखिमबाट बच्न बाध्यात्मक विकल्पका रूपमा जिल्ला सुरक्षा समिति चितवनको आजको निर्णयअनुसार ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम ती शवको जमिनमा व्यवस्थापन गर्ने निर्णय गरेको छ।”
निर्णयअनुसार सबै शवको डिएनए नमुना सङ्कलन गरी सङ्केत नम्बरका आधारमा अभिलेख राखिनेछ । त्यसपछि आजदेखि भरतपुर महानगरपालिका-१ देवघाटस्थित खुला स्थानमा शव व्यवस्थापन गरिने प्रशासनले जनाएको छ।
भदौ १३, २०८३ शनिबार १०:४८:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।