सहकारी ठगीमा पूर्व सांसद इच्छाराजसहित १७ जना दोषी ठहर
काठमाडौं : काठमाडौं जिल्ला अदालतले सहकारी ठगीको आरोप लागेका पूर्व सांसद एवं व्यवसायी इच्छाराज तामाङसहित १७ जनालाई दोषी ठहर गरेको छ।
न्यायाधीश कृतबहादुर बोहराको इजलासले बिहीबार ठगी तथा संगठित अपराध मुद्दामा फैसला सुनाउँदै उनीहरूलाई ठगीतर्फ दोषी ठहर गर्यो।
ठगीतर्फ तामाङसहित १७ जनालाई दोषी ठहर गरे पनि संगठित अपराधको अभियोगमा भने १५ जनालाई सफाइ दिएको छ।
फैसला अनुसार इच्छाराज तामाङ, दुर्गा प्रसाद संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविण प्रसाद प्रधान, केशव लाल श्रेष्ठ, रामकृष्ण पौडेल, सुमन नन्दन वैद्य, हरिहर प्रसाद लामिछाने, मुकुन्द प्रसाद न्यौपाने, दानहिरा तुलाधर (कंसाकार), नगेन्द्र विमली, रामराज मास्के, हरि प्रसाद रिसाल र सिर्जना शाक्य (तामाङ) ले संगठित अपराधको अभियोगबाट सफाइ पाए।
तर, ठगीको कसुरमा भने माथि उल्लेखित १५ जनाका साथै लालकाजी गुरुङ र मिना गुरुङ गरी कुल १७ जनालाई अदालतले दोषी ठहर गरेको छ। उनीहरूलाई तत्काल प्रचलित मुलुकी ऐन ठगीको महलको १ नं. र हाल प्रचलित मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा (१) र (२) बमोजिमको कसुरमा दोषी ठहर गरिएको फैसलामा उल्लेख छ।
फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ८ र ९ बमोजिम दोषी ठहर भएका व्यक्तिहरूलाई हुने सजाय निर्धारणका लागि भदौ २५ गतेका लागि पेशी तोकिएको छ। सोही दिन दोषीहरूलाई हुने कैद र जरिवानाको अन्तिम फैसला हुनेछ।
भदौ ११, २०८३ बिहीबार २१:५५:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।