स्वास्थ्य भ्रष्टाचारको फाइल हेर्ने अख्तियारका बोयोमेडिकल इन्जिनियर रिजाल स्वास्थ्यमन्त्री मेहताको प्राविधिक सल्लाहकार !

स्वास्थ्य भ्रष्टाचारको फाइल हेर्ने अख्तियारका बोयोमेडिकल इन्जिनियर रिजाल स्वास्थ्यमन्त्री मेहताको प्राविधिक सल्लाहकार !
कभर तस्बिर स्रोत :भास्कर रिजालको फेसबुक।

काठमाडौँ : स्वास्थ्य उपकरण तथा सामग्रीको शंकास्पद खरिदको अनुसन्धानमा संलग्न हुनेगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा विज्ञका रूपमा रहेका बायोमेडिकल इन्जिनियर भास्कर रिजाल स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताका सल्लाहकार रहेको खुलेको छ। उनी जुन मन्त्रालय मातहत लगायतबाट हुने खरिदको छानबिनमा संलग्न हुनेगरी नियुक्त भएका हुन् त्यही मन्त्रालयमा मन्त्रीको प्राविधिक सल्लाहकारका रूपमा सक्रिय रहेको खुलेको हो।

उकेराले रिजाल अख्तियार र स्वास्थ्य मन्त्रालय दुबैतिर संलग्न रहेको सूचनाको आधारमा करिब एक महिना लगाएर खोजी गरेको थियो। उकेराको खोजमा उनी अख्तियारमा बायोमेडिकलको रूपमा विज्ञको रूपमा सक्रिय रहेकै समयमा मन्त्रालयमा आयोजना हुने विभिन्न बैठकमा मन्त्रीको प्राविधिक सल्लाहकारको हैसियतमा सहभागी हुने र केही बैठकमा मन्त्रीले उनलाई आफ्नो सल्लाहकारको रूपमा परिचित गराउने गरेको खुल्यो।

त्यसपछि उकेराले यसबारे उनै रिजाललाई सोध्यो। सोमबार उकेराकर्मीले अख्तियार र स्वास्थ्य मन्त्रालयमा उनको संलग्नता र भूमिकाबारे प्रश्न गर्दा सहजै आफू अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पूर्णकालीन विज्ञ भएको र स्वास्थ्य मन्त्री मेहताको अवैतनिक सल्लाहकार समेत भएको स्वीकार गरे।

यति मात्रै हैन, उनले आफू प्रधानमन्त्रीको कार्यालयमा समेत काम गर्ने गरेको बताए। उकेरासँगको कुराकानीमा रिजालले आफू अख्तियार, प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालय गरी तीनतिर काम गरेको खुलाएपछि उकेराले प्रधानमन्त्री कार्यालयमा उनको भूमिकाबारे सोधखोज गरेको थियो। त्यसमा उनी प्रधानमन्त्रीको सचिवालयमा समेत संलग्न रहेकोसम्म खुल्यो। तर उनको भूमिका खुल्न सकेन। 

“उहाँ (स्वास्थ्य मन्त्री मेहता)ले मलाई टेक्निकल एक्सपर्टिज चाहियो भनेर राख्नु भएको थियो, म त्यहाँ (स्वास्थ्य मन्त्रीको सचिवालयमा) अवैतनिक हो,”रिजालले भने,“उहाँले टेक्निकल समस्या परेका बेला उहाँले बोलाउनुहुन्छ। त्यहीबेला गएर गाइड  गरिदिने त्यतिमात्रै हो मेरो काम त्यहाँ।”  रिजालले उकेरासँगको कुराकानीमा स्वास्थ्य मन्त्रालयमा आफू ‘प्राविधिक सल्लाहकार’का रूपमा रहेको खुलाए।

“तपाईँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि विज्ञ सल्लाहकार हुनुहुँदो रहेछ हैन?” भन्ने उकेराकर्मीको अर्को जिज्ञासामा रिजालले भने, “हो। खास यता (अख्तियारमा) चाहिँ मेरो मेन हो। (खास म अख्तियारमा) हो। त्यता (स्वास्थ्य मन्त्रालयमा) त म चाहिएको बेला मात्रै आउँछु। मन्त्रालयमा फुल टाइम हुँदिन नि त म।”

अझै बोली चिप्लिएर पो उनले आफू अख्तियारको पूर्णकालीन विज्ञ भनेका हुन् की भनेर पुनः पुष्टिका लागि प्रश्न गर्दा आफू अख्तियारको पूर्णकालीन विज्ञ नै भएको रिजालले दोहोर्याए। तपाईँ अख्तियारमा ‘फुल टाइमर’ हो र? भन्ने उकेराकर्मीको जिज्ञासामा रिजालले भने,“हो हो। कन्सल्टेन्ट हो।”

अख्तियारले बायोमेडिकल तहकालाई विज्ञ राख्नुको अर्थ स्वास्थ्य उपकरण तथा सामग्रीको खरिद सम्बन्धी अनुसन्धानका लागि हो। मेसिन, उपकरणदेखि लिएर खरिद मापदण्डसम्मको अध्ययन गरेर कुनै कैफियत वा बदमासी भएको हो या हैन भनेर प्रतिवेदन बनाउने मुख्य जिम्मेवारी उनकै हुने अख्तियारका एक अधिकारीले जानकारी दिए।

जुन मन्त्रालय मातहतका स्वास्थ्य संस्थाहरूबाट हुने खरिदमा बदमासी भएको छ या छैन भनेर छानबिन गर्ने हो त्यही मन्त्रालयमा समेत सल्लाहकारको रूपमा सक्रिय रहेको र अझ थप प्रधानमन्त्रीको कार्यालयमा समेत उनको संलग्नताले अख्तियारको अनुसन्धानको निष्पक्ष नै शंकास्पद देखियो।

प्रधानमन्त्री सचिवालयका सदस्यहरू यस अगाडि अख्तियारको प्रमुख आयुक्तदेखि आयुक्तहरूसम्मलाई कार्यालयमा बोलाएर पासपोर्ट सम्बन्धित ठेक्कामा मुद्दा चलाउन दबाब दिएको सार्वजनिक भइसकेको छ। यस्तो अवस्थामा सरकारको कुनै निकायमा सल्लाहकारको भूमिकामा रहेकै व्यक्ति अख्तियारको भ्रष्टाचार छानबिनको संयन्त्रमा समेत रहेको खुल्दा अख्तियारको छानबिनको निष्पक्षतामाथि नै गम्भीर प्रश्न उठ्नु स्वाभाविकै हो।

हामीले यहीबारे रिजाललाई पून सोध्यौ। उकेराकर्मीले ‘तपाईँ अख्तियार र स्वास्थ्य मन्त्रालय दुवैतर्फ रहँदा स्वार्थ (कन्फ्लिट अफ इन्ट्रेस्ट)को द्वन्द्व हुँदैन? भनेर सोध्दा उनले भने “मैले त ऐनमा मात्रै काम गरिरहेको हो। मन्त्रालय त यो ३-४ वटा ऐन भइसकेपछि खास त्यहाँ (स्वास्थ्य मन्त्रालय) छोडिदिने हो। मेरो पाइपलाइनमा (स्वास्थ्यका) चार वटा ऐन छन्...।”

बायोमेडिकल इन्जिनियर रिजालले कुराकानीका क्रममा प्रधानमन्त्री कार्यालयले मेडिकल उपकरण नियमन लगायतका स्वास्थ्यका ४-५ वटा ऐन बनाउने काम गरिदिनु भनेकाले त्यस्ता  ऐन बनाउने विषयमा काम गरिरहेको तर मन्त्रालय भने कम नै जाने गरेको बताए।

मन्त्रालयमा कानुन हेर्न सोही विषयका जानकार हुन्छन्। तर बायोमेडिकल इन्जिनियर रहेका रिजालले बारम्बार आफूले कानुन हेर्ने अर्को गजबको दाबी गरे।

“त्यहाँ (स्वास्थ्य मन्त्रालयमा) त म कानुन मात्रै हेर्छु। ४-५ वटा ऐनमा काम गरिरहेको छु ”बायोमेडिकल इन्जिनियर रिजालले भने,“प्रधानमन्त्री कार्यालयबाट मलाई यो पाँच वटा ऐन चाहिँ टुङ्ग्याइदे भन्नु भएको छ। कानुनको टिम दिनुभएको छ। उहाँहरूसँग कम्युनिकेसनमा बसेर काम गर्छु।” 

उनले स्वास्थ्यमा उपकरण सम्बन्धी भएका समस्याको समाधानका लागि समेत सहयोग गरेको दाबी गरे।  त्यसो भए तपाईँ प्रधानमन्त्री कार्यालयमा समेत औपचारिक रूपमा हुनुहुन्छ? भन्ने उकेराकर्मीको जिज्ञासामा रिजालले भने “हैन हैन, फर्मल त स्वास्थ्य मन्त्रालयमा नै भयो। मेरो जागिर अन्तै छ नि त,”

बायोमेडिकल रिजालको भनाइबाट उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा विज्ञ सल्लाहकार, स्वास्थ्य मन्त्री मेहताको अवैतनिक सल्लाहकार र प्रधानमन्त्री कार्यालयमा समेत बाक्लै हिमचिम रहेको प्रस्ट भयो। 

उकेराले बायोमेडिकल इन्जिनियर रिजालसँग सम्पर्क गर्नु अगाडि अख्तियारमा कुन भूमिकामा रहेको हो भनेर खोजबिन गरेको थियो। खोजबिनमा उनी अख्तियारमा रहेको पुष्टि भयो। 

यता स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका उच्च तहका केही कर्मचारीलाई रिजालको भूमिकाको विषयमा जिज्ञासा राख्दा केहीले थाहा नपाएको जस्तो गरे भने केहीले स्वास्थ्य मन्त्री मेहताको प्राविधिक सल्लाहकारको भूमिकामा रहेको बताए।

स्वास्थ्य मन्त्रालयका उच्च तहका एक कर्मचारीले बायोमेडिकल इन्जिनियर रिजाल मन्त्रालयमा आउने गरेको भए पनि मन्त्रालयमा उनी के भूमिकामा छन् थाहा नभएको बताए। 

स्वास्थ्य मन्त्री मेहताको सचिवालयका एक कर्मचारीले भने रिजालले मन्त्रीको प्राविधिक सल्लाहकारका रूपमा काम गरिरहेको बताए। 

“भास्कर दाइ त उता प्रधानमन्त्री कार्यालयबाट मिटिङहरूमा आउनुहुन्छ,”स्वास्थ्य मन्त्रीको सचिवालयका एक कर्मचारीले भने। मन्त्रीको सचिवालयका ती कर्मचारीले बायोमेडिकल इन्जिनियरका रूपमा स्वास्थ्य मन्त्रीको सल्लाहकारका रूपमा अनौपचारिक रूपमा रिजालले काम गरिरहेको खुलाए।

“उहाँ प्रधानमन्त्री कार्यालयबाट आउनुहुन्छ? भन्ने अर्को भन्ने जिज्ञासामा स्वास्थ्य मन्त्री मेहताका सचिवालयका ती कर्मचारीले भने, “हो, तर ठ्याक्कै पीएम कार्यालयबाटै भन्न त मिलेन। उहाँहरू पहिल्यैदेखि पीएम कार्यालयतिर सबैजना साथीहरू हुनुभयो।”

भदौ ८, २०८३ सोमबार २१:५३:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।